१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सियोमा पनि विदेशकै भर

काठमाडौं - मुलुकमा चर्चित भनाइ छ– सियो पनि बनाउन नसक्ने देश । हुन पनि हो, नेपालको आयात सूची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ।

आयात भइरहेका सियो, टुथ पिक, ट्वाइलेट पेपर, चक, टुथ ब्रस, स्यानेटरी प्याड, धनियाँ, जौ, पानीजस्ता सामान्य सामानको नाम लेख्दै जाने हो भने लामै सूची हुन्छ । भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयात–निर्यातको विवरण हेर्ने हो भने करोडौं रुपैयाँका अति सामान्य वस्तुहरू आयात भइरहेको देखिन्छ ।

चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार मुलुकमा ५९ हजार पाँच सय ४४ केजी सियो आयात भएको छ । जसलाई ८० लाख रुपैयाँ बुझाउनुपरेको छ । विश्वका विभिन्न आठ देशबाट कपडा सिलाउन, बुन्न र मेसिनमा प्रयोग हुने फलाम र स्टिलको सियो आयात भएको भन्सार विभागको विवरणमा उल्लेख छ।

मुलुकले भारत, चीन, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, जर्मनी, नेदरल्यान्ड, टर्की र अमेरिकाबाट सियो आयात गर्छ । दस महिनामा भारतबाट सबैभन्दा धेरै १० हजार ६ सय पाँच केजी सियो आयात भएको छ । जसको मूल्य ४३ लाख १५ हजार छ । भारतभन्दा झन्डै आधा पाँच हजार एक सय ९७ केजी सियो ११ लाख ३३ हजार मूल्य तिरेर चीनबाट ल्याइएको छ । त्यस्तै ‘स्विङ मेसिन निडल’ शीर्षकमा २२ लाख ५० हजार मूल्यको चार हजार नौ सय ८१ केजी सियो आयात भएको छ।

१० महिनामा ५९ हजार केजी सियो, २ लाख ५७ हजार केजी ट्वाइलेट पेपर र ७ हजार केजी टुथ पिक विभिन्न देशबाट आयात भएको छ ।

अर्को चाख लाग्दो विषय छ– मुलुकमा लाखौं रुपैयाको दाँत कोट्याउने ‘टुथ पिक’ आयात हुन्छ । यो थाइल्यान्डबाट समेत ल्याइन्छ । दस महिनामा सात लाख १६ हजार मूल्यको ७ हजार केजी काठको टुथ पिक आयात भएको छ । ‘उड टुथ पिक्स’ शीर्षकमा ५२ लाख ४८ हजार मूल्य तिरेर चीनबाट ५४ हजार केजी आएको छ । सोही शीर्षकमा भारतबाट एक सय ५५ केजी र थाइल्यान्डबाट एक सय २५ केजी ल्याइएको छ । जसको मूल्य क्रमशः १७ हजार र ११ हजार रहेको तथ्यांकमा उल्लेख छ।

खाना खाएपछि दाँत कोट्याएर मात्र भएन, शौच पनि अनिवार्य हुन्छ । त्यही शौचका बेला प्रयोग हुने कागज (ट्वाइलेट पेपर) का लागि पनि विश्वका ६ वटा देशको भर पर्नुपरेको छ । मुलुकमा ‘ट्वाइलेट पेपर’ चीन, भारत, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र युएईबाट आयात भइरहेको छ ।

दस महिनामा दुई लाख ५७ हजार ८१ केजी ट्वाइलेट पेपर आयात भएको छ, जसको मूल्य चार करोड ३७ लाख नौ हजार रुपैयाँ तिर्नुपरेको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट एक करोड ५२ लाख ९३ हजार रुपैयाँमा एक लाख दुई हजार सात सय ८५ केजी खरिद गरेर ल्याइएको छ । मलेसियाबाट ७७ हजार केजी, इन्डोनेसियाबाट ४३ हजार केजी र भारतबाट ३० हजार केजी आयात भएको छ ।

ग्रामीण स्कुलमा प्रयोग हुने चक ६ लाख ७३ हजार केजी आयात गरिएको छ । जसको मूल्य झन्डै ७० लाख रुपैयाँ तिरिएको छ । त्यस्तै १० महिनामा ५४ हजार केजी सेफ्टी पिन र २२ करोड ६ लाखवटा टुथ ब्रस आयात भएको छ । दाँत माझ्ने ब्रसका लागि २७ करोड ७५ लाख रुपैयाँ तिर्नुपरेको छ ।पूर्वअर्थसचिव रामेश्वर खनालले उत्पादन लागत धेरै र बजार कम हुँदा यस्ता सानासाना वस्तु विदेशबाट आयात गर्नुपरेको बताए ।

‘यस्ता सामान प्रयोग गर्ने हाम्रो बजार सानो भएकाले उत्पादन गर्दा लागत बढी पर्छ,’ खनालले नागरिकसँग भने, ‘यस्तो अवस्थामा विदेशबाट आएका सामानसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने हुन्छ ।’ सियो, टुथ पिक, ट्वाइलेट पेपरजस्ता सामान भारत, चीन, थाइल्यान्ड, इन्डोनेसियालगायत देशले ठूलो मात्रामा उत्पादन गरी निर्यात गर्ने भएकाले ती वस्तु नेपालमा पनि सस्तो हुन गएका हुन् ।

उनले आफू अर्थसचिव हुँदाको एक उदाहरण दिए । महिलाले प्रयोग गर्ने स्यानेटरी प्याडलाई नेपालमै उत्पादन गर्ने भनेर धेरै प्रयत्न गरे पनि लागत, बजारलगायत कारणले सफल हुन नसकेको उनले स्मरण गरे । ‘अहिले बल्ल स्यानेटरी प्याड केही उत्पादन हुन थालेको छ,’ खनालले भने, ‘जुन सामानको बजार मुलुकभर बढ्दै जान्छ त्यो मुलुकमै उत्पादन गर्न सकिने अवस्था हुन्छ ।’

प्रकाशित: १४ असार २०७५ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App