८ वैशाख २०८१ शनिबार
अर्थ

अर्जेन्टिनाबाट धनिया र ब्राजिलको चिनी अायात

काठमाडौं - यति बेला रसियामा जारी विश्वकप फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ।  फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्चाल यसैले भरिएका छन्।

युवाहरू कोही ब्राजिलको जर्सी लगाएर हिँडेका छन् त कोही अर्जेन्टिनाको। जर्मनी, स्पेन, पोर्चुगलका राष्ट्रिय फुटबल टिमको जर्सीमा युवाहरू ठाँटिएका छन्। हामी उनीहरूको जर्सी लगाएर फुटबल मात्र हेर्दैनौं, ती देशबाट आएको धनियादेखि बुलडोरसम्म प्रयोग गरिरहेका छौं । तिनै देशबाट आएको खाद्यान्न हाम्रो भान्सामा पाकिरहेको हुन्छ।

सरकारी तथ्यांक अनुसार फुटबलमा विख्यात अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगल लगायत देशबाट अर्बौंको खाद्यान्न आइरहेको छ। भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा उल्लेख भए अनुसार अर्जेन्टिनाबाट ७४ हजार दुई सय ९० केजी धनियाको बीउ आएको छ । यसको मूल्य ३८ लाख ६३ हजार रुपैयाँ छ। यस्तै, विश्वकप चलिरहेको रसियाबाट १२ करोड ४० लाख ५५ हजार रुपैयाँको २४ लाख ७९ हजार दुई सय ६२ केजी धनियाको बीउ आएको छ । त्यस्तै, सोही बीउ आउने देशहरूमा युक्रेन, मोल्डोभा र भारत पनि छन्।

अर्जेन्टिनाबाट हाम्रो भान्सामा दैनिक प्रयोग हुने सुकेको सिमी, केराउ, मकै र क्रुड सोयाबिनको तेल आयात हुन्छ। १० महिनाको अवधिमा अर्जेन्टिनाबाट तीन करोड २१ लाख ४९ हजार रुपैयाँ मूल्यको सुकेको केराउ आएको छ। यसको परिमाण आठ लाख ६ हजार आठ सय ८० किलो छ । त्यस्तै  आठ करोड १४ लाख ६ हजार रुपैयाँ मूल्यको सुकेको सिमी आयात भएको छ। यसको परिमाण १० लाख १९ हजार चार सय ६० किलो छ। मकैको बीउ चार करोड ३१ लाख पाँच हजार रुपैयाँ मूल्यको आयात भएको छ । यसमो परिमाण सात लाख १२ हजार ३० किलो भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, हाम्रो भान्सामा परिकार पाक्ने क्रुड सोयबिन तेल आठ करोड ३५ लाख ८५ हजार आठ सय केजी आयात भएको छ। सात अर्ब  ६२ करोड ५० लाख ५३ हजार रुपैयाँको उक्त तेल आयातबाट सरकारले एक अर्ब २० करोड ६६ लाख ८३ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ।  

सुकेको किड्नी सिमी दुई लाख १९ हजार एक सय ७० किलो ब्राजिलबाट आयात भएको छ। यसका लागि व्यवसायीले १ करोड १७ लाख ७८ हजार मूल्य तिरेका छन्। त्यस्तै, ब्राजिलबाट चिनी, सुकेको सिमी, बोडी, मकैको बीउ, क्रुड सोयबिन तेल, बुलडोजर, मेकअपका सामान लगायत आयात भएको अभिलेख छ।

ब्राजिलबाट सबैभन्दा धेरै क्रुड सोयाबिन तेल आएको छ। अर्जेटिनाबाट पनि ठूलो मात्रामा आएको यो तेल ब्राजिलबाट तीन अर्ब ३२ करोड ५३ लाख ६४ हजार मूल्यको तीन करोड ५६ लाख १४ हजार २६ केजी आएको छ । यही देशबाट बोडी र कागज पनि आएको छ।

१० महिनाको अवधिमा नेपालमा धेरै आउने सामानमध्ये चिनी पनि परेको छ। ब्राजिलबाट चिनी १३ लाख ५० हजार किलो आएको छ । यसलाई सात करोड चार लाख रुपैयाँ तिरिएको छ। त्यहाँबाट एक लाख किलो मकैको बीउ ६० लाख रुपैयाँ खर्चेर आयात गरिएको छ।

विकास, निर्माणमा प्रयोग हुने चारवटा बुलडोजर चार करोड ८६ लाख ४७ हजार रुपैयाँ ल्याइएको छ। महिलाले प्रयोग गर्ने मेकअप सामान समेत ब्राजिलबाट आएको छ।

साबिक विजेता र यसपालिको पनि दाबेदार मानिएको जर्मनीबाट खाद्यान्नदेखि मेकअपका सामान, लत्ताकपडा र स्याम्पु समेत आयात भएको छ। जर्मनीबाट गहुँको पिठो आएको छ। एक करोड ७९ लाख ६६ हजार मूल्यको माल्ट रोस्टेड जर्मनीबाट तीन लाख ११ हजार एक सय ८० किलोग्राम आयात भएको छ। त्यहाँबाट जौको बियर र सयौं केजी चिज आएको छ।

जर्मनीबाट आउने मुख्य गरी मेकअपका सामान धेरै आएका छन्। जर्मनीबाट झन्डै दुई करोड रुपैयाँको लिप मेकअप एक लाख ४२ हजार सात सय २४ पिस आएको छ। त्यस्तै, आई मेकअप ८७ हजार ८७ पिस आएको छ, जसको मूल्य एक करोड ३७ लाख रुपैयाँ परेको छ।

जर्मनीबाट आउने अन्य सामानमा बोरा, पेट बोतल, स्याम्फु, टुथ ब्रस, दूध क्रिम, महिला पुरुषका ट्राउजर, भ्याकुप पम्प लगायत छन्।

नेपाली फुटबल दर्शकले मन पराउने अर्को टिम स्पेन हो। स्पेनबाट हामीले प्रयोग गर्ने ‘दूध क्रिम’ शीर्षकमा ३१ हजार ५० किलो आएको छ जसको मूल्य ७४  लाख ४७ हजार रुपैयाँ परेको छ। स्पेनबाट झन्डै तीन करोडको जैतुन तेल आएको छ। त्यहाँबाट टुथ ब्रस पनि आएको तथ्यांकमा उल्लेख छ।

बेल्जियम पनि फिफा -यांकिङमा माथि नै रहेको देश हो। यहाँबाट १२ करोड ७१ लख ८८ हजार रुपैयाँ मूल्यको दूध पाउडर आएको छ। यसबाट सरकारले ४ करोड ५३ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

फ्रान्स, बेलायत अस्ट्रेलिया लगायत देशबाट नेपालमा पिउने पानी आएको छ। १० महिनाको अवधिमा फ्रान्सबाट ४९ हजार सात सय तीन लिटर मिनरल वाटर आएको छ। यसको मूल्य ५४ लाख ३६ हजार रुपैयाँ छ। त्यस्तै, बेलायतबाट १६ लाख ८८ हजार मूल्यमा ३३ हजार ६ सय लिटर आएको छ । यसबाहेक पानी आयात हुने अन्य देशमा भारत, फिलिपिन्स, अस्ट्रिया, अस्ट्रेलिया छन्।

सन् २०१८ को विश्वकप आयोजना गरेको रुसबाट २८ करोड ४० लाख ८० हजार रुपैयाँ मूल्यको सुकेको केराउ ८३ लाख ९७ हजार एक सय ७६ किलोग्राम आएको छ। यसबाहेक त्यहाँबाट चना पाँच लाख ५५ हजार किलो आयात भएको छ । यसको मूल्य एक करोड ७५ लाख रुपैयाँ परेको छ। रसियाबाट क्रुड सनफ्लावर तेल ८० करोडभन्दा बढीको आयात भएको छ।

एसियाको देशबाट विश्वकप खेलिरहेको जापानबाट ‘सेफ्टी पिन’ हजार किलो आयात भएको छ। यसलाई आठ लाख ८८ हजार रुपैयाँ परेको छ।

प्रकाशित: १० असार २०७५ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App