७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालगन्ज–दिल्ली उडान गर्न बुद्धको निवेदन

काठमाडौं - निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।

बुद्धले बुझाएको निवेदनमा ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका जहाजबाट यो रुटमा दैनिक तीन उडान गर्ने उल्लेख छ । जसमा बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागिएको छ । पर्यटन मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका तुरुन्तै प्रक्रिया थाल्ने बुद्धले जानकारी दिएको छ।

‘नेपालगन्जबाट दिल्ली उडान गर्ने बुद्धको घोषणाप्रति हामी निकै सकारात्मक छौं,’ बुद्धका अधिकारीहरूसँगको भेटमा मन्त्री अधिकारीले भने, ‘यो रुटको उडान सफल बनाउन त्यसैअनुसार नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  घोषणादेखि त्यहाँ आवश्यक अध्यागमन, भन्सार, अन्तर्राष्ट्रिय टर्मिनलजस्ता पूर्वाधार निर्माण ६ महिनाभित्र पूरा गर्ने विश्वास दिलाउन चाहन्छु।’

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाई मार्ग (एल६२६) लाई दुईतर्फी रुटको रूपमा स्थापित गरेको छ। यस सहमतिले टर्बोप्रप एटिआर जहाजबाट नेपालगन्जदेखि भारतको केन्द्रीय राजधानी दिल्लीको हवाई उडान करिब १ घन्टा १० मिनेटमा पूरा गर्न सकिन्छ।

नेपालगन्जबाट सिधा दिल्ली उडान सञ्चालनमा आउँदा मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक समृद्धिमा कायापलट हुने बुद्धको भनाइ छ । यो रुट सञ्चालनमा आउन सके यसबाट नेपालको मध्यपश्चिम र सुदुरपश्चिममा बसोबास गर्नेलाई नेपालगन्जमार्फत सिधै दिल्लीसँग जोड्ने छ।

बुद्धका अनुसार प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेका पर्यटन गन्तव्य, उद्योग एवं त्यस क्षेत्रको व्यापार व्यवसायको पनि यो उडानबाट प्रवद्र्धन हुने छ । यसले आर्थिक सम्मृद्धि र रोजगारी सिर्जनामा विकेन्द्रीकरणको भूमिका खेल्ने छ। त्यसैगरी धार्मिक तथा पर्यटकीय यात्रु आवागमनले प्रदेश ५, ६ र ७ को आर्थिक गतिविधि स्वतः बढ्ने छ। यसबाट बर्दिया तथा शुक्लाफाँटा आरक्ष, रारा ताल, स्वर्गद्वारी तथा खप्तडलगायत क्षेत्रको प्रवद्र्धन हुने छ। योसँगै प्रदेश ६ को सिमिकोटलाई चीनको कैलाश मानसरोवर यात्राका लागि केन्द्र बनाउन सकिने छ।

नेपालगन्ज–दिल्ली–नेपालगञ्ज अन्तरसिमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध रहेको भन्दै बुद्धले यो उडान सञ्चालनमा आएलगत्तै नेपालगन्ज–पोखरा रुटमा सिज दैनिक उडान गर्ने जनाएको छ। नेपालगन्जबाट दिल्ली उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजना बुद्धको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाज सञ्चालनमा ल्याउन कठिन हुने टिकाटिप्पणीबारे बुद्धले यसका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरबस र अमेरिकी जहाज निर्माता कम्पनी बोइङ, यस क्षेत्रका विज्ञलगायतसँग निरन्तर  सम्पर्कमा रहेको जनाएको छ।

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका पाँचथान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन्।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ। त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ। त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ। त्यसबाहेक अन्तर्राष्ट्रियतर्फ भारतको बनारस उडान गरिरहेको छ।

प्रकाशित: १० असार २०७५ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App