coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कार्यक्षेत्र मिच्दै बौद्ध विश्वविद्यालय

काठमाडौं - बौद्ध धर्म, संस्कृति र दर्शनलगायत प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो कार्यक्षेत्रबाहिर गएर सम्बन्धन दिएको छ। विश्वविद्यालयले इन्जिनियरिङ विषयका लागि दुई वर्षअघि एक निजी कलेजलाई सम्बन्धन दिएको खुलेको हो। विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन संस्थानसमेत छैन।

विश्वविद्यालयले दुई वर्षअघि ललितपुरको सातदोबाटोस्थित लुम्बिनी कलेज अफ इन्जिनियरिङलाई डिजास्टर स्टडीमा इन्जिनियरिङ विषय पठनपाठन गराउने सम्बन्धन दिएको छ । कलेजमा अहिले चारवर्षे बिई सञ्चालन भइरहेको छ। इन्जिनियरिङ अध्ययन संस्थान नै नभएको बौद्ध विश्वविद्यालयले सोही विषय पठनपाठनका लागि सम्बन्धन दिनु विश्वविद्यालयकै नियम र उद्देश्यविपरीत भएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव बैकुन्ठ अर्यालले लुम्बिनी विश्वविद्यालय ऐनमा बौद्ध धर्म, संस्कृति र दर्शनलगायत विषयमा अध्ययन तथा अनुसन्धान गरी विश्वस्तरमा बौद्ध धर्मको प्रवद्र्धन गर्ने उद्देश्य उल्लेख भए पनि विश्वविद्यालयका पदाधिकारीले कार्यक्षेत्र र नियमको हेक्का नराखी सम्बन्धन बाँडेको गुनासा मन्त्रालयमा दिनहुँ आइरहेको बताए । उनले यस्ता विश्वविद्यालयले उद्देश्यविपरीत कार्य गर्दा पठनपाठन स्तरीय नहुने, विज्ञ र संकाय नभएकाले सम्बन्धनप्राप्त कलेजको अनुगमन, परीक्षा सञ्चालन तथा व्यवस्थापन र मूल्यांकनसमेतमा नकारात्मक असर पर्ने प्रस्ट्याए।

‘लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ पठनपाठनका लागि सम्बन्धन दिन पाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पटकपटक कुरा राखेको छ। तर, विश्वविद्यालयमा संकाय र विज्ञ नै छैनन्,’ अर्यालले नागरिकसँग भने। उनले ऐनअनुसार नचल्ने विश्वविद्यालयको अनुगमन गरी कानुनको दायराभित्र ल्याउने काम मन्त्रालयले गर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख फणिन्द्रकुमार न्यौपानेले विश्वविद्यालयले बुद्धिज्म प्रवद्र्धन गर्न अन्य विषयको पनि पठनपाठन गराउने आवश्यकता महसुस गरी इन्जिनियरिङ र मेडिसिन शिक्षा सुरु गरेको बताए। उनले इन्जिनियरिङ र मेडिसिन अध्यापन गराउँदा गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादित हुने विश्वविद्यालयको विश्वास रहेको बताए। ‘विश्वविद्यालयले १२ विभागबारे प्राज्ञिक गुरुयोजना नै बनाएर अघि बढिरहेको छ,’ न्यौपानेले नागरिकसँग भने, ‘बौद्ध धर्म, दर्शन तथा संस्कृतिबारे अध्ययन तथा अनुसन्धान गर्न स्थापना गरिएको विश्वविद्यालय थोरै उद्देश्यबाहिर गएको सत्य हो । अब विश्वविद्यालयले सम्बन्धनप्राप्त कलेजको नियमन र इन्जिनियरिङ विषयका लागि विज्ञसहितको संकाय खोलेर अघि बढ्नुपर्छ।’

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहमा बुद्ध अध्ययनसँग सम्बन्धित विषय पठनपाठन गराइने गरेको उनले बताए । स्नातकोत्तर तहमा थेरवेदा बुद्धिज्म, माहायान बुद्धिज्म, व्यवहारिक बुद्धिज्म अध्यापन हुन्छ भने कला संकायतर्फ स्नातक तह पठनपाठन हुन्छ। विश्वविद्यालयका आंगिक कार्यक्रमअन्तर्गत बुद्धिज्म एन्ड म्युजियोलोजी, बुद्धज्म एन्ड आर्कियोलोजी, ब्याचलर इन बुद्धिज्म ट्रेडिसन एन्ड टुरिज्म पढाइन्छ । विश्वविद्यालयमा हाल ७ विभागमात्र छन्। तिनमा थेरवाद बुद्धिज्म, माहायान बुद्धिज्म, बुद्धिस्ट आर्ट एन्ड आर्किटेक्चर, बुद्धिज्म एन्ड हिमालय अध्ययन, ट्रेडिसनल बुद्धिस्ट एन्ड अदर हेल्थ, आर्कियोलोजी एन्ड म्युजियोलोजी र एप्लाइड बुद्धिज्म विभाग छन्। विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सातवटा कलेज सञ्चालित छन् । ती जम्मै काठमाडौं उपत्यकामा छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा नरेशमान बज्राचार्यले विश्वविद्यालयले गुरुयोजना बनाएर विश्वविद्यालय सभाबाट पास गराएर इन्जिनियरिङ विषयको पठनपाठन गराउन समबन्धनप्राप्त कलेजलाई अनुमति दिएको बताए। विश्वविद्यालय कोर बुद्धिज्म, न्यु बुद्धिस्ट सबजेक्ट र जनरल सबजेक्ट गरी तीन मान्यताबाट सञ्चालनमा रहेको जनाउँदै उनले भने, ‘जनरल विषयअन्तर्गत इन्जिनियरिङको पठनपाठन भइरहेको छ।’ उनले विश्वविद्यालयमा इन्जिनियर संकाय नभए पनि प्रश्नपत्र तयारी, परीक्षा सञ्चालन तथा व्यवस्थापन, नतिजा प्रकाशनलगायत सम्पूर्ण कार्य त्रिभुवन विश्वविद्यालयको पुल्चोकस्थित इन्जिनियरिङ कलेजका विज्ञबाट गराउँदै आएको जनाए। ‘सम्बन्धनप्राप्त इन्जिनियरिङ कलेजको अनुगमनसमेत विश्वविद्यालयले पुल्चोककै विज्ञबाट गराउने गरेको छ,’ उनले भने।

प्रकाशित: १० असार २०७५ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App