८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय बजेट पूर्वाधार निर्माणमा केन्द्रित हुने

कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालु–लैफु सडक निर्माणमा प्रयोग गरिएको स्काभेटर। तस्बिर : नागरिक

सुर्खेत - कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरिरहेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ९३ करोडको हाराहारीमा बजेट ल्याउँदैछ । ‘सहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याउँदैछौं,’ मेयर देवकुमार सुवेदीले भने, ‘प्रदेश राजधानीलाई व्यवस्थित, हरियाली र सुन्दर बनाउने योजना समेटेका छौं।’

सुर्खेतको दोस्रो ठूलो गुर्भाकोट नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ। आगामी आर्थिक वर्षका लागि नगरपालिकाले तीन वडा सडकलाई ‘गौरवका योजना’ का रूपमा छनोट गरेको छ। ‘भेरी किनार पर्यटकीय सडक, सडक सञ्जालले नछोएको साबिकको धारापानी गाविस र छिन्चु–घारीवन–कालिमाटी सडकलाई गौरवका योजना छनोट गरेका छौं,’ मेयर हस्त पुनले भने, ‘बजेट पनि यसैमा केन्द्रित गरेर आउँछ।’ आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतसहित ४६ करोड ७९ लाख ८६ हजारको बजेट ल्याउने तयारी नगरपालिकाले गरेको छ।

सुर्खेतका नौवटै स्थानीय तहले सडक र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउँदैछन्। ‘विकास र समृद्धिका लागि पनि सडक नै पहिलो आवश्यकता हो,’ चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले भने, ‘त्यसैले सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउँदैछौं ।’ उनले पहिलो बजेटमा धेरै विषय समेट्दा उपलब्धिमूलक नदेखिएको बताए। ‘त्यसैले पनि यसपटकको बजेटमा अधिकांश रकम सडकलाई छुट्याउँदैछौं,’ उनले भने, ‘सडक पुगेपछि अरू विषयमा केन्द्रित हुन्छौं।’

दैलेखका स्थानीय तहहरूले पनि पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याउँदैछन्। सदरमुकामसमेत रहेको नारायण नगरपालिकाले ‘एक वडा, एक सडक’ अभियानञलाई पूर्णता दिने गरेर बजेट ल्याउँदैछ। ‘पुराना खनिएका सडकको स्तरोन्नतिलाई हामीले बजेटमा प्राथमिकता दिएका छौं,’ नगरप्रमुख रत्नबहादुर खड्काले भने। उनले सबै वडामा बाह्रै महिना यातायातका साधन सञ्चालन हुने किसिमले सडकको स्तरोन्नति गरिने बताए। यस्तै चक्रपथ निर्माण, पर्यटन विकासका लागि पूर्वाधार निर्माण, जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालनलाई प्राथमिकतामा राखिएको उनले बताए। नारायण नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त ३५ करोड ६५ लाखभित्र रहेर बजेट निर्माण गरिरहेको छ।

यस्तै दुल्लु नगरपालिकाले ३८ करोडभित्र रहेर बजेट बनाउँदैछ। दुल्लुले पनि भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ। नगरप्रमुख घनश्याम भण्डारीले सडक, विद्युत्, पर्यटकीय पूर्वाधार निर्माण, पञ्चकोसी चक्रपथ र खानेपानीलाई बजेटले प्राथमिकतामा राखेको बताए।

दैलेखकै भगवतीमाई गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता राखेको छ। ‘यहाँको समृद्धिको आधार कृषि हो, त्यसैले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछौं,’ अध्यक्ष दानबहादुर थापाले भने, ‘कृषिको उत्पादकत्व बढाउन र पशु व्यवसायलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रम बजेटमा समेट्दैछौं।’ गाउँपालिकाले ‘एक वडा, एक तरकारी संकलन केन्द्र’, ‘एक वडा, एक रस्ट्रिक सेन्टर’ लगायतका कार्यक्रम बजेटमा समेटेको छ। यस्तै टिमुर, ओखर र आलुलगायत उत्पादनमा बजेट केन्द्रित रहेको उनले जानकारी दिए। गाउँपालिकाले २५ करोडको बजेट ल्याउँदैछ।

ठाँटीकाँध गाउँपालिकाले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जनताको मागअनुसार खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको बताए। ‘यसका साथै सडकको स्तरोन्नति र अन्य भौतिक पूर्वाधार निर्माण पनि गाउँपालिकाका प्राथमिकता हुन्’ उनले भने, ‘बजेटलाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी काम गर्छौं।’

कालिकोटका नौवटै स्थानीय तहले सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउँदैछन्। तीन नगरपालिका र छ गाउँपालिका रहेको कालिकोटका लागि एक अर्ब ८८ करोड ३१ लाख बजेट छ। जिल्ला सदरमुकामसमेत रहेको खाडाचक्र नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा सडक पु-याउने लक्ष्यसहितको बजेट ल्याउँदैछ। ‘प्रत्येक वडाका वडा कार्यालयसम्म सडक पु-याउने लक्ष्यका साथ बजेट निर्माण गरिरहेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले भने, ‘सोहीअनुसारको बजेट विनियोजन हुन्छ।’ खाडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ३८ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

सान्नीत्रिवेणी गाउँपालिकाले पनि सडकलाई नै पहिलो प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट साढे १८ करोडको छ। ‘अधिकांश वडामा सडकको पहुँच छैन, त्यसैले आगामी आर्थिक वर्षको बजेट सडक केन्द्रित हुन्छ,’ अध्यक्ष डम्बर शाहीले भने, ‘सडकपछि अरू पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौं।’ उनले अघिल्लो आर्थिक वर्षमा बजेट अभाव र भौगोलिक कठिनाइका कारण लक्ष्य पूरा हुन नसकेकाले यस वर्ष पनि सडकलाई प्राथमिकतामा राखिएको बताए । उनले रेगिलदेखि गाउँपालिकासम्म जोड्ने सडक र मुम्रादेखि गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

नगेन्द्र उपाध्याय/सुर्खेत, गोविन्द केसी/दैलेख र पवित्र शाही/कालिकोट

प्रकाशित: १० असार २०७५ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App