६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौंको मृत्यु

अदिस अबाबा- नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्। 

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित -यालीमा दशौँ हजार समर्थक तथा शुभेच्छुक सहभागी भएका थिए। जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइएको थियो। 

“राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बिचैमा राकेर घटनास्थलबाट बाहिरिएका थिए भने विष्फोटबाट आत्तिएका कार्यक्रमका सहभागी मञ्चतर्फ बढेका थिए,” प्रत्यक्षदर्शीसमेत रहेका एएफपीका सम्वाददाताले बताए। 

जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ। 

विष्फोटमा परी घाइते सबै जनाले माया र शान्तिका लागि पीडा सहनु परेको छ, अवियलाई उद्धृत गर्दै फानाले जनाएको छ। विष्फोटको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन। सभास्थल मास्केल स्क्वाएरलाई खुला बनाउने क्रममा प्रहरीले अश्रुग्यास हानेको छ। 

प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए। मानवअधिकार उल्लंघन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए।

पछिल्लो घटनालाई अहमदले ‘इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन्।

गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै थिए। यद्यपि उनले प्रान्तीय सभाहरूमा भने सहभागी भइरहेका थिए।

बितेका तीन महिनामा नयाँ प्रधानमन्त्रीका रूपमा उनले सुरक्षा सेवा, पूर्व सरकारद्वारा कैदमा लिएका राजनैतिक वन्दी, अर्थतन्त्रको उदारीकरण र दुई दशकदेखि इथियोपियासँग द्वन्द्वरत इरिट्रियासँगको विवाद समाधान लगायतका बिषयमा व्यापक परिवर्तन ल्याएको बताइँदै आएको छ। 

प्रकाशित: ९ असार २०७५ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App