७ वैशाख २०८१ शुक्रबार
अर्थ

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित

जिल्लाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाद्वारा कृषक समुहलाई ट्याक्टर वितरण गर्दै।

रसुवा – रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। परम्परागत कृषि प्रणालीका कारण उत्पादन कम हुने र पढ्नेले खेती गर्न हुँदैन भन्ने मान्यता हटाउन आधुनिक प्रविधि प्रयोगतर्फ कृषक आकर्षित भएका हुन्। 

जिल्लाको नौकुण्ड गाउँपालिकामा खेत जोत्नेदेखि मकै छोडाउनेसम्मको प्रविधिको प्रयोग बढ्दै गएको छ । नयाँ प्रविधिका कारण समय बचत भएको र उत्पादन समेत बढेको कृषक बताउँछन् । गाउँमा खेतीपाती गर्ने कृषक घट्दै गएको अवस्थामा नयाँ प्रविधि आउँदा खेतीपाती गर्ने कृषक समेत थपिन थालेका नौकुण्ड गाउँपालिका–५ का कृषक खिलनाथ पौडेलले बताए। 

‘अहिले गाउँमा हाते ट्याक्टर आएपछि गोरु पाल्न छोडेका छन्, उनले भने, खेतबारी जोत्नका लागि गोरुको प्रयोग गर्दा निकै समस्या हुन्थ्यो ।’ ट्याक्टरको प्रयोगले रोपाइमा पालो पर्खनुपर्ने समस्या हटेको छ। 

गाउँमा थोरै मात्रै कृषकले गोरु पाल्ने भएकाले गोरु नपाउने समस्या हुने गरेकोमा त्यो समस्या अहिले घटेको लोकिलका कृषक पासाङ तामाङले बताए । ‘रोपाई गर्ने समयमा गोरु जोत्नका लागि पालो पर्खनुपथ्र्याे, कृषक लामाले भने, अहिले टयाक्टरले दुई हलको मेलो दुई घण्टामा जोत्छ।’

आधुनिक प्रविधिको प्रयोगले जागिर खाएका व्यक्तिलाई समेत सहयोग पुगेको कृषक लवाङ नुर्वु तामाङले बताए। ‘जागिर खाएकाले पनि ट्याक्टरको प्रयोग गर्ने गरेका छन्, उनले भने, गोरु जोत्नका लागि जागिर खाएकाले मन गर्दैन थिए।’

ट्याक्टरको प्रयोग गर्दा प्रतिघण्टा ६ सय रुपयाँ पर्ने गरेको छ । समयको बचत हुने, जनशक्ति कम लाग्ने र गोरु पाल्ने झन्झट नहुँदा कृषकलाई सहज भएको छ। 

कृषक समुहलाई हाते ट्याक्टर वितरण  
जिल्लाको नौकुण्ड गाउँपालिकाका कृषक समुहलाई हाते टयाक्टर वितरण गरिएको छ । गाउँपालिकाको खाल्चेत, लोकिल र पाटीखर्कमा यसभन्दा केही वर्ष पहिलेदेखि हाते ट्याक्टरको प्रयोग हुँदै आएको भएपनि बाँकी क्षेत्रका लागि सहयोग तथा प्रयोग भइरहेका क्षेत्रमा थप सहयोग पुर्याउन ट्याक्टर वितरण गरिएको हो। 

परम्परागत शैलीमा खेती गर्दा समय बढी लाग्ने र खर्च पनि बढि हुने भएकाले हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकामा व्यवसायिक रुपमा खेती गर्ने कृषकका लागि आधुनिक मेसिन तथा औजार वितरण गर्ने वार्षिक लक्ष्य अनुसार सामग्री वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ। 

स्थानीय तह आउनुपूर्व कृषिका कार्यक्रम नपुग्ने क्षेत्रमा अहिले सामग्री वितरण गरिएसँगै कृषक खुशी भएका छन् । शाखाले गाउँपालिकाको ८ वटा कृषि समुहलाई ७५ प्रतिशतमा ट्याक्टर वितरण गरेको कृषि शाखा प्रमुख शम्भुप्रसाद राइले बताए ।  बजारमा प्रतिट्याकटर ८० हजार पर्ने भएपनि अनुदानमा प्रतिट्याक्टर २० हजारमा वितरण गरिएको शाखाले जनाएको छ।  

 

प्रकाशित: ९ असार २०७५ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App