coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

रानीझरनामा क्यानोनिङ

थाक्रे गाउँका सरोज कार्कीले गाउँकै रानी झरनामा क्यानोनिङ गरेका छन्। अचेल काठमाडौँ बस्दै आएका उनले केही दिनपहिले जन्मथलो फर्केर क्यानोनिङ गरेका हुन्।

‘क्यानोनिङ साहसिक र रोमाञ्चक खेल रहेछ,’ उनले अनुभव सुनाए। उनी जस्तै युवा अचेल रानीझरनामा रमाउन थालेका छन्। डोरीको भरमा छाँगाबाट झरेर मज्जा लिन सकिने झरना थाक्रे गाउँपालिका– ६, धादिङमा पर्छ।   

रानीझरनाको पर्यटकीय संभावना धेरै छ। गाउँपालिकाको वडा नं. ४ र ६ को सिमानामा तीन छाँगा छन्। पहिलो झरना २५ मिटर लामो छ। त्यसको फेदमा सुन्दर दह छ। करिव ४० मिटर लम्बाई, १० मिटर चौडाई र ३ मिटर गहिराईको दह।  

दोस्रो, झरना ९ मिटर लामो छ, जुन जम्पिङका लागि उपयुक्त छ । बालबालिका र युवाको लागि पौडी खेल्न पर्याप्त ठाउँ छ यसमा। तेस्रो, झरना आनन्दमयी हो जहाँ, जम्पिङ, स्विमिङ, क्यानोनिङ सबै किसिमका खेल खेल्न सकिन्छ।

झरनासम्म पुग्न व्यवस्थित बाटो बनाउने र झरनालाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य बताउँछन् । पृथ्वी राजमार्गको महादेवबेसीबाट पाँच किमि दूरीमा छ झरना। नेपाल क्यानोनिङ एसोसियसन (एनसिए)ले केही दिनअघि त्यहाँ रनदेभु (महोत्सव) गरेको थियो। महोत्सवका अवसरमा एक सातासम्म त्यहाँ गाइड तालिम गराइएको थियो । तालिममा स्थानीय युवासहित २१ जना थिए।

नेपालमा क्यानोनिङ (छाँगावरोहण) भित्र्याउने श्रेय फ्रान्सेली नागरिक मोरिस दुसेनलाई जान्छ । उनकै पहलमा यहाँ सन् २००२ मा यहाँ छाँगावरोहण सुरु गरिएको थियो। सन् २०११ मा नेपालमा अन्तर्राष्ट्रिय क्यानोनिङ रन्देभू(महोत्सव) आयोजना गरिएको थियो। क्यालेन्डर बनाएर बर्सेनी रनदेभु गर्दै आएको एनसिएका अध्यक्ष राजेन्द्रबहादुर लामा बताउँछन्।    

नेपालका कुलेखानी, मस्र्याङ्दी, सुनकोशी, ककनी, पोखराजस्ता ठाउँका झरनामा क्यानोनिङ स्थापित भइसकेको छ। सामान्यतः गर्मीमा क्यानोनिङ गरिन्छ। यसमा नेपाली युवाको आकर्षण बढ्दो छ।

नेपालको पहाडी भेकमा झरनाको दुःख छैन। त्यसैले यहाँ क्यानोनिङको भविश्य उज्यालो छ। ‘पहाडी जिल्लामा ठुल्ठूला छाँगा छन्,’ एनसिएका पूर्व अध्यक्ष कर्ण लामा भन्छन्, ‘यी छाँगाहरूमा क्यानोनिङ गराउन सके थुप्रै विदेशी भित्र्याउन सकिन्छ।’

एनसिएले क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि व्यावसायिक खेल पर्यटनको अभ्यास बढेको छ। क्यानोनिङ नेपालको महत्वपूर्ण पर्यटन प्रोडक्ट बन्नेमा आशावादी हुन सकिन्छ।

प्रकाशित: ९ असार २०७५ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App