८ वैशाख २०८१ शनिबार
अन्य

राजधानीका रेस्टुराँमा फुड–बल

रोनाल्डो फ्रिकिक प्राउन – ७७५ रूपैयाँ। मेसी म्याजिक पिजा – ६७५ रूपैयाँ। नेयमार हेडसट चिकेन – ६२५ रूपैयाँ । मुलर स्ट्राइकिङ ससेज – ५५० रूपैयाँ।

दरबारमार्गस्थित ओपियम रेस्टुरेन्ट एन्ड बारमा राखिएको विश्वकप स्पेसल योे नयाँ मेनुले धेरैको ध्यान खिँचेको छ।   खाना र खेलसँगै जोडेर ग्राहकलाई रमाइलो दिन बनाइएको  यो मेनुका कारण रेस्टुराँको व्यापार पनि चम्केको छ। सहभागी राष्ट्रका झण्डा, विभिन्न ध्वजापताकासँगै खेल, खेलाडी र खानाको यो सुन्दर संयोजनले यहाँ विश्वकपको बेग्लै माहोल देखिन्छ।

‘यहाँ ग्राहक खेल हेरेर रमाइलो लिन आएका हुन्,’ रेस्टुराँका फुड एन्ड वेभरेज म्यानेन्जर रेवन्तकुमार क्षेत्रीले भने, ‘हामीले सोचेजस्तै ग्राहकलाई खाना र खेल दुवैले आकर्षित गर्न  सकेका छौं।’  रोनाल्डोले हालको विश्वकमा फ्रिकिक हान्नु अगावै तयार भएको यो मेनुमा पनि उनको फ्रिकिक कलालाई नै केन्द्रित गरिएको छ। मेसीले म्याजिक देखाउन नसके पनि पिजाको बिक्रीमा कुनै कमी नआएको क्षेत्री सुनाउँछन्। ‘विश्वकपले सबैलाई छोएको छ,’ उनले हास्दै भने, ‘यसपटक हामीले खानाको नामलाई समेत विश्वकपमा जोडेका छौं।’

उनले भनेजस्तै नेपालले विश्वकपमा भाग नलिए पनि रसियामा सुरु भएको विश्वकपले सर्वसाधारणलाई छपक्कै छोएको छ। विश्वकप फुटबलको रमाइलो घरमा मात्रै सीमित छैन, होटल, रेस्टुराँ र मलमा खाना खाँदै फुटबलको मज्जा लिने तन्नेरी थुप्रै देखिन्छन्। मनपरेको फुड ‐खाना)को अनुरोध गर्दै बल हेर्नेको उत्साहले राजधानीका रेस्टुराँमा ‘फुड बल’को रौनक देखिन्छ।

‘विश्वकपलाई जोडेर बनाइएको यस्तो मेनु पहिलो पटक देख्दै छु,’ ओपिएममा भेटिएका पर्यटन व्यावसायी रोहित क्षेत्रीले भने, ‘यो हेर्दा मात्र पनि रमाइलो लाग्छ।’ ठमेल क्षेत्रमा छाया सेन्टर खोलेर खेल देखाउँदै आएका उनले दर्शकलाई खानाको व्यवस्था समेत गरेका छन्। ‘हामीले खुला ठाउँ बनाएर एकै पटक ठूलो सख्ंयामा दर्शक अटाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘दर्शकको रुचि अनुसार खाना पनि हामीले मगाउने गरेका छौं ।’ खाना खाँदै खेल हेर्नुको मज्जा बेग्लै रहने उनले सुनाए।

उनको कुरामा सहमत छन्, ललितपुर धोबीघाटका ललित खनाल। इजिप्टका खेलाडी सालाका फ्यान रहेका उनी उनकै नाम अंकित जर्सी लगाएर उनी रेस्टुराँको ठूलो पर्दामा डेनमार्क र अस्टे«लियाको खेल नियाल्दै थिए। ‘फ्यान जसको भए पनि खेलको आफ्नै महत्व छ,’ उनले भने, ‘हामी खेल हेर्न यहाँ आएका छौं।’

उनीसँगै आएका देव कुँवरको भनाइ पनि उस्तै छ। ब्राजिलका फ्यान उनी खेल भने सबैको हेर्ने गरेको सुनाउँछन्। ‘रेस्टुराँमा खाना खाँदै साथीभाइसँग फुटबल हेर्दा  निकै रमाइलो हुन्छ,’ उनले भने, ‘अझ मन परेको टिम छ भने त झनै रमाइलो।’  लिग खेलका प्रशसंक रहेका उनी आफूले मन पराएको क्लबका खेलाडीहरू खेल्ने देशहरूको समर्थन गर्न पनि नछुटाउने उनले सुनाए।

राजधानीमा रहेका विभिन्न होटल तथा रेस्टुराँहरूमा  विश्वकपमा सहभागी विभिन्न देशका झण्डाहरू सजाएर झिलिमिली बनाएका छन्। नाम चलेका टिमको खेलको समयमा धेरै ग्राहक आउने तथा अन्य टिमको खेलमा सामान्य आउने उनीहरूको अनुभव छ। विश्वकपले गति लिँदै गर्दा व्यवसायले पनि गित लिन थालेको उनीहरूले साझा बुझाई छ।  

फुटबल फ्यानहरूलाई विश्वकप रमाइलो वातावरणमा हेरुन भनेर यस्तो गरिएको उनीहरू सुनाउँछन्। हामीले १२ ठूला टिभी स्क्रिन र दुई प्रोजेक्टरको व्यवस्था गरेका छौं,’ हेडलायन्स स्पोट्र्सका इन्चार्ज प्रकाश तिवारी भन्छन्, ‘ग्राहकहरू खाना खाँदै खेलको रमाइलो लिन थाल्नुभएको छ।’ भर्खरै संचालनमा आएको रेस्टुराँको ग्रयान्ड ओपनिङ बाँकी रहे पनि विश्वकपको लागि संचालनमा ल्याएको उनले बताए। ‘विश्वकपले नै ग्रयान्ड ओपनिङ गरेको छ,’ उनले भने, ‘दर्शक आउने क्रम बढ्दो छ।’

साथीभाई मात्र होइन, स्क्रिनकै अगाडि जम्मा भएर परिवारसहित खेलको मज्जा लिनेको संख्या पनि धेरै रहेको तिवारीले बताए। ‘साँझका खेलमा धेरै जम्मा हुने गर्छन्,’ उनले भने, ‘ढिलो हुने खेलमा संख्या केही कमी हुने गरेको छ।’ समूहमा जम्मा भएर खानपिन गर्दै विश्वकप हेर्ने दर्शकले रातसमेत होटलमै बिताउने गरेका छन्। यसले गर्दा व्यावसायी  थप खुसी छन्।

खेल देखाए पनि त्यसको थप चार्ज भने लिने नगरेको उनले बताए। ‘हामीले खेलका कारण खाना महँगो लिने गरेका छैनौं,’ ओपिएमका रेवन्तकुमार हास्दै भने, ‘रोनाल्डो जति नै चम्के पनि रोनाल्डो फ्रिकिक प्राउनको मूल्य सात सय ७५ रूपैयाँबाट बढ्ने छैन।’

प्रकाशित: ९ असार २०७५ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App