coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

प्रेमातंक

नाम प्रिय हुन प्रेमी नै हुनुपर्छ भन्ने छैन । किशोर मलाई अत्यन्तै मनपर्ने नाम हो, जुन ऊसँग प्रेम हुनुभन्दा पहिल्यै मैले मन पराएकी थिएँ ।

त्यसो त हामी बीचमा आर्थिक स्तर नमिले तापनि अन्य तालमेल मिलेका कुरा धेरै थिए। जात, धर्म, संस्कृति, रहनसहन धेरै कुरा मिल्दा नै थिए । विशेष कुरा हाम्रो मन मिल्न थालेको थियो । त्यसैले त हामी प्रिय बनेका थियौं।

एकदिन दुवैले आपसमा प्रेम गर्न लागेका छौँ भन्ने अनुभूत गर्यौं । केही लाज लाग्यो अनि सङ्कोच पनि । तर, जे थियो त्यो वास्तविकता नै थियो । जुन माया सागरजस्तै गहिरो र आकाशझैँ  विशाल थियो ।एउटा प्रेमरूपी आगो हामी दुवैमा विस्तारै सल्कँदै गइरहेको थियो, जसरी डँढेलो लागेको वन सल्कँदै जान्छ । त्यसै अनुरूप हामी मौका मिल्नासाथ परिवारका आँखा छलेर अनलाइनमा बसी हाल्थ्यौं ।

हाम्रो कुरामा यति सम्मोहन हुन्थ्यो कि हामी सपेराको धुनमा सर्प लठ्ठिएझैँ हुन्थ्यौं । हाम्रो लागि आधुनिक प्रविधि वरदान बनेको थियो । हाम्रो त्यो प्रविधियुक्त प्रेमको खेल त्यसरी नै चलिरह्यो जसरी मैदानमा उत्रिएको खेलाडी मग्नमस्त भएर खेल्छ ।उत्तेजित रगतले सनसनाएको सुखद् अनुभूतिले कहिलेकाहीँ हामीलाई हावामा उडाउँथ्यो । कहिले भने शान्त सामुद्रिक गहिराइमा पु-याउँथ्यो । जेहोस् हरेक आरोह–अवरोहमा आनन्दित हुँदै गयौँ । त्यो आनन्दले मलाई पढ्दापढ्दै थाकेको मानसिक थकानलाई केही हदसम्म भए पनि राहत दिन्थ्यो।

लामो समयको प्राविधिक कुराकानीपछि मात्र विद्यालयको एउटा विशेष कार्यक्रममा उसको र मेरो भेट भयो । हामी पढ्ने विद्यालय फरक भएकाले पनि हाम्रो भेट त्यति सहज थिएन । आज भेट हुन्छ भनेर म बिहानैदेखि उत्सुक र उमंगित थिएँ । सायद उसलाई त्यसो भयो वा भएन !  देखेर भन्दा लेखेर भावना प्रकट गर्न सजिलो हुँदो रहेछ । च्याटमा हामी जति नजिक थियौँ भेटमा त्यस्तो हुनै सकेनौँ । केही संकोच, केही त्रास अनि केही सामाजिक अवरोधका कारण हाम्रो सम्बन्ध सोचेजस्तो भएन।

साँच्चै किशोर मप्रति कति आशक्त भएछ, एक किसिमले भित्रैदेखि आनन्द पनि लागेर आयो । हामी तिर्खाले छटपटाएको प्यासीझैँ बन्यौँ भेटका लागि । त्यसरी नै मेरा सारा उत्साह र उमंग पनि छटपटाइरहे । हाम्रो भेटको आधार भन्नु नै म्यासेन्जर र भाइबर बन्यो । कुनै दिन यो पनि ब्लक भयो भने हाम्रो के हालत होला !

भेट हुनेबित्तिकै उसको अँगालोमा बाँधिन्छु– यो मेरो कल्पना मात्र थियो ।‘हाइ किशोर !’ भनें मैले ।‘अहो शुष्मा के छ तिम्रो खबर ?’, उसले सोध्यो ।पूरै औपचारिक भयो हाम्रो साक्षात्कार । दिनभर उल्लासमय वातावरणमा रम्यौँ हामी । साँझ औपचारिक रूपमै बिदाइ भयौं । भेटघाटले मात्र पनि मन केही तृप्त भएझैँ भयो । त्यसपछि कहिलेकाहीँ मात्र भेट हुन्थ्यो हाम्रो ।‘शुष्मा आइ लभ यु।’

उसले एकदिन स्टिकरसहितको म्यासेज पठायो । हतारमै पढेर हतारमै डिलिट गरिदिएँ मैले । एकछिन खुट्टा थरर काँपे । मुटु सिरिंग भयो । जवाफमा केही लेखिनँ । वाइफाइ अफ गरेर बसेँ । फस्ट टाइम फस्ट लभ मलाई बोझिलो पनि भयो कता कता ।हरेक कुरा कलिलोमै सुन्दर हुँदोरहेछ । नवोदित सूर्य, पल्लवित पालुवा, मुस्कुराउँदै गरेको कोपिला, टुकुटुकु पाइला चाल्दै हिँड्ने बालक आदि । त्यस्तै सुन्दर र प्रिय थियो हाम्रो प्रस्फुटित हुँदै गरेको प्रेम पनि । एउटा अबोध निश्छल, निष्कपट, पवित्र प्रेमको जालोमा फन्फन्ती बेरिएकी थिएँ म।

म भर्खर १६ वर्षमा प्रवेश गर्दै थिएँ । किशोर मभन्दा एक वर्ष जेठो । त्यो साल मलाई धुमधामसँग बर्थ डे मनाउन मन लाग्यो यद्यपि हाम्रो परिवारको आर्थिक अवस्था त्यति मजबुत थिएन तथापि मेरो रहरका अगाडि बाबाआमाको अवस्थाको हिसाब राखिनँ । बस्, मनाउने भनेपछि एकोहोरो जिद्दी सुरु भयो ।  साथीहरू सीमा, अन्जु, दुर्गा, महेश, सरिता आदिलाई निम्तो गरेँ । तिनै साथीहरूका बीचमा निकै सुन्दर बनेर आएको थियो मेरो राजा । उसले भेट्नेबित्तिकै ‘ह्याप्पी वर्थ डे टु यु’ भन्दै हग गर्यो ।

उसकै अँगालोमा बाँधिरहन चाहे पनि खासमा आज मलाई किन–किन ऊप्रति भन्दा पनि उसले ल्याएको उपहारप्रति चासो बढेको थियो ।किशोर धनी बाबुको एक्लो छोरो । भनेको कुरा भुइँमा नखस्दै पूरा गरिदिन्थे उसका बाबुले । तर ऊभित्र आफू धनी बाबुको छोरा हुँ भन्ने घमण्ड थिएन । मेरो र उसको आर्थिकस्तर आकाश जमिनको फरक थियो ।  बेलुकी सबै गएपछि सबैभन्दा पहिले उसैले ल्याएको उपहार खोलेँ । रातो, निलो, पहेँलो सबै रङ मिसिएको बुकी रहेछ । हत्त न पत्त सुत्ने बिस्तारामाथि सजाएँ । एउटा छुट्टै आनन्द आयो।

एसएलसी पास गरेपछि किशोरका परिवारले उसलाई उच्च शिक्षा अध्ययन गराउन सहर लगे । मलाई आफ्नै मुटु चुँडिएर गएजस्तो भयो । काठमाडौं पुगेपछि पनि उसको र मेरो दिनमा एक पटक अनलाइन गफ हुन्थ्यो । त्यो समय प्रायः रातमा सबै मस्त निद्रामा परेपछि सुरु हुन्थ्यो कुराकानी । म भन्थेँ, ‘किशोर कतै तिम्रो पढाइमा डिस्टर्ब त भएन हाम्रो गफले ?’ जवाफमा ऊ भन्थ्यो, ‘उहुँ शुष्मा तिमीसँग कुरा भएन भने त मैले पढेको केही पनि सम्झन्नँ, मात्र ध्यानजति तिमीतिरै जान्छ प्लिज अब त्यसो नभन ल ।’साँच्चै किशोर मप्रति कति आशक्त भएछ, एक किसिमले भित्रैदेखि आनन्द पनि लागेर आयो । हामी तिर्खाले छटपटाएको प्यासीझैँ बन्यौँ भेटका लागि । त्यसरी नै मेरा सारा उत्साह र उमंग पनि छटपटाइरहे । हाम्रो भेटको आधार भन्नु नै म्यासेन्जर र भाइबर बन्यो ।

कुनै दिन यो पनि ब्लक भयो भने हाम्रो के हालत होला ! कल्पनाले नै आकुल बनाउँथ्यो मलाई । उफ् ! किन यस्तो भयो पत्तो भएन, एउटा नजानिँदो उच्छवास निस्क्यो भित्रैदेखि ।जानेबेला किशोरले मलाई ‘म तिम्रै लागि पढ्न जाँदै छु शुष्मा पर्खेर बस है मलाई’ भनेर हत्केलामा चुप्प म्वाइँ खाँदै आश्वासन दिएको थियो । तैपनि यो शास्वत प्रेम कतै डगमगाउँछ कि भनेर म घरिघरि त्रसित् हुन्थें । मलाई अधुरो बनाएर कतै उसले अर्कै बाटो तय गर्यो भने...! यति धेरै मायालाई पनि झिनो शंकाले पखाल्ने धत् ! के भएकी म ? आफैँसँग पनि रिस उठ्थ्यो कहिलेकाहीँ।  

यसैबीच एकदिन उसले यसरी खुसीको कुरा सुनायो, ‘शुष्मा मैले सरकारी कोटामा डाक्टर पढ्न बंगलादेश जाने अवसर पाएँ नि, सबैभन्दा पहिला तिमीलाई यो खुसी सेयर गर्दै छु । यो सबै तिम्रो मायाको प्रतिफल हो सानु ।’ यो सुनेर हर्षको आँसु बरर झ¥यो, हत्तपत्त पुछेँ । तर, बाँध रोकिएन । तैपनि शुभकामनाका शब्दगुच्छा चढाएँ।

मेरो माया अनन्त आकाशमा उडेर गयो । मैले केही गरी पनि किशोरलाई बिर्सनै सकिनँ । विछोडको घाउ पुरानो हुँदै गए पनि पीडा भने कम हुँदो रहेनछ ।

विछोडको पीडाले त्यति नै पिरोल्दै गयो मलाई । मन भुलाउने कुनै उपाय भेटिनँ । अचानक एक दिन दुख्द समाचार सुनेँ । बंगलादेशबाट आएको जहाज अवतरण हुने क्रममा क्रयास् भएर बंगलादेशबाट डाक्टर पढेर आएका थुप्रैले मृत्युवरण गरे भन्ने । हृदयविदारक लासहरूको चाङ मिडियामा छरपस्ट भएका थिए । मन विक्षिप्त भयो । हे प्रभु ! संसारलाई बचाउने सपना साँचेर स्वदेश फर्किएका तमाम डाक्टरहरू आफैँ मृतावस्थामा लडिरहेका थिए । मन अत्तालियो।

फेसबुक खोलेँ, अनि एकएक गरेर तस्बिर सहितको नाम पढेँ । थ्याङ्क्स गड किशोरको नाम रहेनछ । एक प्रकारको निश्वास निस्क्यो ।किशोर मसँग भेट नभएको पनि करिब १० वर्ष भइसकेको थियो तर पनि मभित्रको विश्वासको खाँबो भने ढलेको थिएन । खै किन हो किन किशोरले मलाई कुनै हालतले पनि छोड्दैन भन्ने मात्र लाग्थ्यो । भ्रम नै सही तर मन एकोरिसकेको थियो । उमेर छिप्पिँदै गएकाले विवाहको प्रस्ताव भने चारैतिरबाट आइरहेको थियो।

‘परदेशीएका केटाको के भर हुन्छ र ? तँ सधैँ यसरी नै बैँस ढल्काएर बस्ने हो । अब बिहेको निधो गर्नुपर्यो,’ यसरी बारम्बार परिवारको दबाब आउन थाल्यो । म भने किशोरको यादले निथु्रक्क भिजेकी थिएँ । पार्वतीले शिवजी पति पाऊँ भनी तपस्या गरेझैँ उही किशोरको अर्चनामा तल्लिन थिएँ भित्रैदेखि । मेरो जिन्दगी मलाई भन्दा परिवारलाई बढी चिन्ताको विषय बनेको थियो । किशोरसँगको प्रेमले मलाई बेस्सरी आतंकित बनाएको थियो।

किशोरको पर्खाइमा दिनरात त्यसै बितिरहेका थिए । यता मेरो विवाह गर्ने उमेर पनि छिप्पिँदै गएको थियो । विवाहका लागि चारैतिरबाट प्रस्तावको भारी वर्षात् भइरहेको थियो । भर्खर स्नातक तह उत्तीर्ण गरेर बसेकी थिएँ म । यस्तैमा म कतै जाँदै रहेछु अचानक पछाडिबाट कसैले मेरो आँखा झ्याप्प छोप्यो, एकछिन अत्तालिएँ म अनि पछि फर्केर हेर्दा त्यहाँ किशोर मन्द मुस्कान छरेर ठिंग उभिइरहेको थियो । म दंग परेँ।

झटपट उसले पकेटबाट एउटा बट्टा झिकेर मेरो सिउँदोमा धूलो छक्र्यो । म च्याँठिएँ । कस्तो अशुभ सपना देख्न पुगेछु । मन विचलित भयो । फेसबुक खोलेँ कतै देख्छु कि भन्ने आशले ।  ‘शुष्मा के हो तेरो ताल, सधैँ यसरी बिहे नगरी बसेर हुन्छ ?’, कहिल्यै नरिसाउने आमा पनि रिसाउनुभयो त्यो दिन । म भने अनेक बहाना पार्दै टारिरहेकी थिएँ । यतिञ्जेलसम्म पढाई एउटा दह्रो बहाना थियो । तर, अब स्नातक तह पनि पार गरिसकेकी थिएँ।

एक दिन बाटोमा किशोरकी बहिनी भेट भई उसैलाई भेटेजस्तो अनुभूति भयो । हत्तपत्त सोधेँ किशोरका बारेमा । उसले यत्ति भनी, ‘अब १५ दिनपछि आउनुहुन्छ उहाँ ।’ मन केही ढुक्क भए पनि कसरी आउँछ किशोर भन्ने उत्सुकताले मन भरिएको थियो । कतै ऊ परिवारसहित आयो भने वा अरू नै केटीसँग बिहेको तय गरेको रहेछ भने मेरो हालत के होला ! कल्पनाले नै मलाई भित्रभित्रै सिध्याइदिन्थ्यो ।जे होस् म त्यो दिनको व्यग्र प्रतीक्षामा थिएँ।

प्रतीक्षाको घडी पार लगाउन पनि निकै गाह्रो पर्ने रहेछ । भित्तामा टाँगिएको पात्रोमा रेजा लगाउँदै दिन काटिरहेकी थिएँ । टोलमा गाइँगुइँ हल्ला सुनेँ, किशोर हिजो राति नै घर आइपुगेको छ भन्ने । उसलाई भेट्ने तीव्र चाहना जागेर आयो । भोलिपल्ट बिहानै उसको घर लागेँ । अचानक मलाई देखेर ऊ केही हतासियो ।‘अहो ! शुष्मा तिमी अझै एक्लै छौ ? म त शुष्माले बिहे गरी होला, सके एक÷दुई बच्चाको आमा पनि बनी कि भन्ने सोचमा थिएँ तर तिमी भने...।’

किशोरका प्रश्नले म एकाएक असिना पग्लेझैँ पानी पानी भएँ । मेरा सबै कल्पना हावामा उडेर विलिन भए । आफू उभिएको जमिन भासिएजस्तो भयो । निःशब्द भएँ ।उसले फेरि थप्यो, ‘शुष्मा म डाक्टर बनेर आएँ । फेरि मेरो इन्गेजमेन्ट पनि डाक्टर पढेकी केटीसँगै भएको छ अबका पाँच दिनमा हाम्रो बिहे हुँदै छ बरू तिमीलाई पनि हार्दिक निमन्त्रणा छ मेरो । जसरी नि आउनु है ।’ कति सहजै बिर्सिएको रहेछ उसले आफूले खाएका बाचाकसम सबै।

कति सजिलै भन्यो किशोरले आफ्नो यथार्थ । एकपटक पनि उसले मेरो मनोभावना बुझ्ने प्रयास गरेन । म केका लागि यतिका वर्ष कुमारी नै रहेँ त्यो भन्न पनि पाइनँ । म फरक्क फर्के त्यहाँबाट । उसको प्रेमले मेरो जीवनमा यति आतंक मच्चायो कि मैले आफूलाई समाल्नै गाह्रो भयो । आत्मग्लानी भएर आयो । तर, मसँग सहनुबाहेक अर्को विकल्प थिएन । सहिरहेँ, बस् सहिरहेँ धर्तीजस्तै बनेर ।

प्रकाशित: ९ असार २०७५ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App