८ वैशाख २०८१ शनिबार
अर्थ

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

भियतनामको हनोइ सहरमा पोखरा र त्यहाँका पर्यटन व्यवसायीबीचको छलफल । तस्बिरः सन्तोष/नागरिक

कम्बोडिया - पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन्।

सहकार्यमार्फत पर्यटन प्रवर्द्धन गरे त्यसबाट लाभ हुने व्यवसायीले बताएका छन्।पर्याप्त पर्यटकीय सम्भावना बोकेका भियतनाम र कम्बोडियाका व्यवसायीसँग छलफल गर्दै एकअर्का मुलुकमा पर्यटकको आउजाउ बढाउने गरी प्रवद्र्धन गर्न व्यवसायी सहमत भएका हुन् । नियमित रुपमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गरेमा पाहुनाको आउजाउ बढाउन सकिने उनीहरुको भनाइ छ ।

प्रवद्र्धनात्मक अभियान लिएर गएका पोखरेली व्यवसायीले भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । छलफलमा सहभागी नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका निवर्तमान अध्यक्ष दिलप्रसाद गौतमले पर्यटन प्रवर्द्धनमा सहकार्य जरुरी रहेको बताए । उनले प्रवर्द्धनमा व्यवसायी मिलेर अघि बढ्ने बताए।

‘नेपालसम्मको प्याकेज हामी दिन्छौं, तपाईंहरु पर्यटकलाई नेपाल पठाउनुस्,’ भियतनाममा व्यवसायीसँगको छलफलमा गौतमले भने, ‘नेपालमा पर्यटक पठाउँदा त्यसको लाभ व्यवसायीले नै पाउने हो ।’ पाहुना आउजाउ बढाउन सके त्यसबाट लाभ मिल्ने उनले बताए ।

प्राकृतिक हिसाबले उत्कृष्ट गन्तव्यको रुपमा नेपाल रहेकाले पाहुना पठाउन भियतनामी र कम्बोडियाका व्यवसायीसँग गौतमले आग्रह गरे । ‘भियतनाम र कम्बोडियाबाट निकै कम संख्यामा पाहुना नेपाल घुम्न जाने गरेका छन् । आगामी दिनमा यो संख्या बढाउँदा त्यसको लाभ एकअर्का मुलुकले लिन सक्छन्,’ उनले भने, ‘पर्यटकीय गतिविधिमार्फत नेपाल–भियतनाम र कम्बोडिया जोड्न सकिन्छ । यो आवश्यक पनि छ ।’

अर्का पोखरेली व्यवसायी झविलाल अधिकारीले नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक लगायत दृष्टिकोणले पर्यटनमा अब्बल रहेकाले नेपालसम्म पाहुना पठाउन भियतनाम र कम्बोडियाका व्यवसायीसँग आग्रह गरे । ‘अहिलेसम्म धेरै पर्यटक भारतसम्म पुगेका छन् । अब ती पर्यटकलाई नेपालसम्म घुम्न पठाउनुस्,’ भियतनामी र कम्बोडियाली व्यवसायीसँग अधिकारीले भने, ‘कुनैपनि बेला नेपाल आउजाउ गर्न सकिन्छ । नेपाल घुम्नका लागि बाह्रैमास उपयुक्त छ।’

पोखरेली व्यवसायीसँगको छलफलमा भियतनामी र कम्बोडियाली पर्यटन व्यवसायीले नेपालसम्मको पहुँच, नेपालको आन्तरिक यातायात सञ्जाल, मुख्य पर्यटकीय गन्तव्य, होटल लगायत पूर्वाधारको अवस्थाबारे निकै चाँसो दिएका थिए । उनीहरुले भियतनाम र कम्बोडियाली पर्यटकका लागि नेपाल नौलो गन्तव्य हुनसक्ने बताए । छलफलमा भियतनामको हनोइ प्रमोसन एजेन्सीका कार्यकारी प्रमुख गुयेन हु भियटले नेपालबारे धेरैले थाहा नपाएको अवस्थामा व्यवसायीबीचको सहकार्यले पर्यटकीय गतिविधि बढाउन सघाउने बताए ।

‘हामीले पनि नेपालबारे उत्तिसारो ध्यान दिएका थिएनौं । नेपालबारे सुन्दा पर्यटक पठाउन सकिने सम्भावना देखेका छौं,’ पोखरेली व्यवसायीसँगको छलफलमा भियटले भने, ‘नेपाली व्यवसायीसँगको यो सहकार्य अब निरन्तर हुनुपर्छ।

यहाँ (भियतनाम)का व्यवसायी नेपाल जाने र नेपालबाट नियमित रुपमा प्रवर्द्धनात्मक अभियान लिएर आउँदा पर्यटकीय गतिविधि बढ्नेमा आशंका गर्नै पर्दैन ।’ यातायातमा पहुँच विस्तार गर्न सक्ने हो भने नेपाल र भियतनाम तथा कम्बोडियाका पर्यटक आउजाउमा सहज हुने उनले बताए ।त्यस्तै व्यवसायीबीच कम्बोडियामा भएको छलफलमा पनि कम्बोडिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (साटा) की अध्यक्ष छेय सिभलिनले नेपाल र कम्बोडियासँगको सहकार्य झनै निकट हुनसक्ने बताइन् । बुद्ध धर्मावलम्बी पर्यटकलाई नेपालसम्मको गन्तव्य उपयुक्त हुने उनले बताइन् ।

‘अहिलेसम्म हामीले भारतमा मात्र बढीजसो पर्यटकलाई पठाइरहेका थियौं । तर, अब नेपाल हाम्रो लागि नयाँ गन्तव्य हुनेछ,’ उनले भनिन्, ‘पर्यटकका लागि नेपाल पनि नौलो र आकर्षक गन्तव्य भन्ने थाहा नपाँउदा कम प्राथमिकतामा परेको रहेछ । अब नेपालसँग हाम्रो व्यापारिक सहकार्य बढ्नेछ ।’ बौद्ध धर्मावलम्बी पर्यटकका लागि नेपाल महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनले बताइन् । ‘त्यसमा नेपाली व्यवसायीको पनि साथ चाहिन्छ,’ उनले भनिन्, ‘हामी पाहुना पठाउन तयार छौं ।’

स्थानीय व्यवसायीका अनुसार भियतनाममा वर्षमा झन्डै एक करोड ३० लाख र कम्बोडियामा ५० लाख विदेशी पाहुना आउने गरेका छन् । चीन, जापान, कोरिया, भारत लगायत मुलुकका पर्यटक अहिले ती मुलुकमा जाने गरेका छन् ।त्यसबाहेक भियतनाम र कम्बोडियाका नागरिक पनि भारत घुम्न आउने गरेका छन् । भियतनामले पछिल्लो समय भारतलाई पर्यटनमा मुख्य बजारको रुपमा प्राथमिकतामा राखेको व्यवसायीको भनाइ छ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलिया कम्बोडिया र भियतनामबाट नेपालमा उत्तिसारो पर्यटक नआए पनि यो अभियानमार्फत पर्यटक आगमन बढाउन सकिने पर्याप्त सम्भावना रहेको बताउँछन् । त्यहाँका पर्यटन व्यवसायीसँग हुने छलफल र भेटघाटले भियतनाम र कम्बोडियाका पर्यटक अझै बढी नेपाल भिœयाउन सकिने उनले बताए । उनका अनुसार अहिले वर्षमा करिब चार हजार भियतनामी पर्यटक नेपाल भित्रिन्छन् । त्यस्तै एक हजार संख्यामा कम्बोडियाका पर्यटक नेपाल आउने गरेको उनले बताए ।

‘आगमनको हिसाबले यो संख्या निकै कम हो । तर, आगामि दिनमा बढाउन सकिन्छ, त्यसका लागि व्यवसायीसँग ‘फेस टु फेस’ भेटघाट जरुरी छ,’ उनले भने, ‘व्यवसायीबीचको भेटघाटले सम्बन्ध स्थापित हुने र त्यसको सकारात्मक प्रभाव पर्यटक आगमनमा पर्छ ।’ उनका अनुसार छिमेकी मुलुक भारतमा ती मुलुक (कम्बोडिया, भियतनाम) बाट बर्सेनि लाखौंको संख्यामा पर्यटक आउँछन् । तर, नेपालमा निकै कम संख्यामा पर्यटक आगमन हुने भएकाले प्रवद्र्धन जरुरी रहेको छ।

‘पर्यटन प्रवर्द्धनमा जतिसुकै ‘डिजिटलाइज्ड कन्टेन्ट’को प्रयोग गरेपनि अहिलेसम्म प्रत्यक्ष भेटघाट नै भरपर्दाे मानिएकाले पोखरेली व्यवसायीले ती मुलुकका पर्यटन व्यवसायीसँग सहकार्य गर्न जरुरी छ,’ थपलियाले भने, ‘व्यवसायीबीचको प्रत्यक्ष भेटघाले सामिप्यता बढ्ने हुँदा त्यसको सकारात्मक प्रभाव देखिन्छ ।’ उनका अनुसार अहिले गरेको प्रवद्र्धन अभियानले तत्काल भन्दा पनि दीर्घकालीन रुपमा नेपालमा आउने विदेशी पर्यटकको संख्या बढाउन बल पुग्छ । ‘अहिले नै भियतनाम र कम्बोडियाबाट पर्याप्त पाहुना आउने होइनन् तर, आगामी सिजनमै यसको प्रभाव देखिन सक्छ,’ उनले भने ।

 

प्रकाशित: ८ असार २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App