coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

काठमाडौं– उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ।

सरकारको बजेट भाषणपछि बजारमा मूल्यवृद्धि गरी उपभोक्ता ठगेको आरोपमा वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार र बिहीबार नौ पसलमा सिल गरी सञ्चालकलाई पक्राउ गरेको हो।

अधिकांश पसलले मिति गुज्रिएका र उपभोग्य मिति नभएका खाद्यान्न बिक्री गरेको विभागले जनाएको छ। अनुगमनका क्रममा नियमविपरित सामान बिक्री गरेको भेटिएपछि पक्राउ गरेर कारबाही गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले माताहतका निकायलाई निर्देशन दिएका थिए । विगतमा तारिखमा राखेर अनुसन्धान गर्ने गरेको विभागले मन्त्रीको निर्देशनपछि प्रहरी हिरासतमा राखेको हो ।

बजार अनुगमनका क्रममा कानुनविपरित काम गरेको भेटिएपछि पसल सिल गरी सञ्चालकलाई पक्राउ गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । ‘कृत्रिम मूल्यवृद्धि गरी कानुनविपरित उपभोक्ता ठगिएको गुनासो आएपछि अनुगमनलाई तीव्र बनाएका छौं,’ गौचनले भने, ‘कैफियत देखिएका सात पसलमा सिल गरेर पक्राउ गरेका छौं ।’
शिवज्योती ट्रेडिङ कालीमाटी, सुरज स्टोर्स जोरपाटी, रोशी सुपरमार्ट गोंगबु, पञ्चस्टोर्स बालकुमारी, तिमिल्सिना किराना स्टोर्स, बंगालामुखी स्टोर्स बालकुमारी सिल गरेको थियो । विभागको नेतृत्वमा मन्त्रालय, उपभोक्ता अधिकारकर्मी, पत्रकारको रोहबहरमा अनुगमन गरिएको थियो ।

विभागको निर्देशनपछि शिवज्योती ट्रेडिङ कालीमाटीका धुव्रप्रसाद गुप्ता, सुरज स्टोर्स जोरपाटीका सुरज श्रेष्ठ, रोशी सुपरमार्ट गोंगबुका नगेन्द्र पनेरु, पञ्चस्टोर्स बालकुमारीका सागर मानन्धर, तिमिल्सिना किराना स्टोर्सका महेश तिमिल्सिना, बंगालामुखी स्टोर्स बालकुमारीका नरोत्तम फैजुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै बानेश्वरस्थित फुड एन्ड इलाइट स्टोरका सञ्चालक सुवास मैनाली र कलंकीस्थित माँ माया टे«डर्सका सञ्चालक अभिशेक जयसवाललाई पनि पक्राउ गरेको छ । भाटभटेनी सुपर मार्केट कलंकीबाट अखाद्य वस्तु नियन्त्रणमा लिएर त्यहाँ कार्यरत कर्मचारी राजाराम तिवारीलाई नियन्त्रणमा लिएको छ।

कालीमाटी, कुलेश्वर, कलंकी, पुरानो बानेश्वर, मैतीदेवी, बालकुमारी, सातदोबाटो, बालाजु, गोंगबु, वनस्थली लगायत क्षेत्रमा गरिएको सघन अनुगमनमा नौवटा पसलले कैफियत गरेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।

भाटभटेनी सुपरमार्केटबाट भने म्याद गुज्रेका केही सामान बरामद गरेको विभागले जनाएको छ । सरकारको बजेट भाषणपछि विभिन्न बहाना बनाएर व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेको भन्दै विभागले आक्रामक अनुमगन अघि बढाएको छ । अनुगमनका क्रममा अधिकांश मूल्यसूची नराखेको, लेबल, उत्पादन मिति नभएका, म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएकाले कारबाही अघि बढाएको जनाएको छ । मूल्यसूची राख्न दिएको निर्देशन पनि व्यापारीले अटेर गरेका छन्।

मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजारबाट दैनिक उपभोग्य वस्तुको मूल्य ल्याएर विश्लेषणको काम पनि भइरहेको महानिर्देशक गौचनले बताए । ‘अर्थ मन्त्रालयको सहयोगमा मूल्य विश्लेषण पनि गरिरहेका छौं,’ गौचनले भने, ‘मूल्यमा आएको फरकको आधारमा थप अनुगमन अघि बढाउछौं ।’

विभागले विगतमा गरेका अनुगमन औपचारिकतामा मात्र सीमित भएको गुनासो आएपछि पछिल्लो पटक मन्त्री यादवले कडाइका साथ अघि बढ्न निर्देशन दिएका छन् । यसैबीच बिना कारण पक्राउ गरेको भन्दै व्यवसायीले विरोध जनाएका छन् । सुरज स्टोर्स जोरपाटीकी सञ्चालिका उषा श्रेष्ठले आफ्नो पतिलाई बिना कारण पक्राउ गरेको बताइन् । ‘कोठामा राखेको बिल लिन जाँदाजाँदै कर्मचारीले जबर्जस्ती झुटा आरोप लगाइयो,’ उनले भनिन्, ‘बिल देखाउँदा पनि बिना कारण प्रहरी नियन्त्रणमा लिने काम भयो ।’ गल्ती नगर्दा पनि दुःख दिने काम गरेको उनले बताइन् ।

प्रकाशित: ८ असार २०७५ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App