८ वैशाख २०८१ शनिबार
राजनीति

बजेटमाथि सत्तापक्षबाटै आलोचना

सुर्खेत– कर्णाली प्रदेश सरकारले ल्याएकोे बजेटमाथि सत्ता पक्षबाट नै आलोचना भएको छ। प्रदेशसभाको विहीबारको बैठकमा सत्तापक्षका सांसद्हरुले बजेटमाथि आलोचना गरेका छन्।

उनीहरुले बजेटलाई ‘सम्झौतापत्र’को संज्ञा दिए। नेकपाका सांसद करवीर शाहीले बजेट भाषणको धेरै ठाउँमा सम्भाव्यता अध्ययन लेखिएको बताउँदै भने, ‘संभाव्यता कहिले सकिने हो, डिपिआर कहिले बन्ने हो र कार्यान्वयन कहिले हुने हो?’ उनले बजेटले स्पष्ट रोडम्याप दिन नसकेको बताए। ‘यो बजेटमा सम्भावनै सम्भावनाका कुरा छन्, कार्यान्वयन पक्ष पिलतो देखिन्छ’ उनले भने, ‘मलाई यो बजेट संझौतापत्र जस्तो लाग्यो।’ 

नेकपाकै सांसद गोपाल शर्माले बजेट वितरणमुखी भएको आरोप लगाए। ‘बजेट कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा वितरणमुखी हुने गरी आएको छ’ उनले भने, ‘यसलाई सुधार्न आवश्यक छ।’ सांसद शर्माले बजेटलाई आफूले साइकलमा चढेर उच्च गतिमा गुडिरहेको कार जस्तै दगुर्न खोजेको रुपमा लिएको बताए। ‘साइकलको टायर कुनैपनि बेला फुट्न सक्छ’, सांसद शर्माले भने, ‘चालकले होस् गरेर चलाउनुहोला।’ 

सांसद चन्द्रबहादुर शाहीले संसद गफ गर्ने थलो नभएको बताए। ‘हामीले जनताका आवाज बोल्ने गरेका छौं’, उनले भने, ‘संसदले उठाएका हरेक आवाजलाई सरकारले गम्भीरताका साथ लिई कार्यान्वयन गर्न लागोस्, संसदले गफ गरेको नठानोस्।’ सांसद शाहीले कर्णाली प्रदेश यहीँका नेताहरुका कारण पछि परेको बताउँदै अब कर्णालीको विकास गर्न यहीँ क्षेत्रका नेताहरुले भुल गर्न नहुने बताए। उनले सरकारले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता राख्नुपर्ने बताए। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेका सांसद झोवा कामीले प्रदेश सरकारले दुर्गम क्षेत्रलाई हेला गरी बजेट नल्याउन सरकारलाई चेतावनी दिइन्। ‘केन्द्रमा मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट पारेका छन्’, उनले भनिन, ‘कम्तिमा कर्णाली प्रदेशका त्यस्तो नगरियोस्।’ सांसद कामीले मन्त्रीहरुले आफ्नो क्षेत्रमा बजेट हाल्ने र अन्य क्षेत्रमा बजेट विनियोजन नगरेको बताउँदै ‘ढुंगा हान्नसमेत पछि नपर्ने’ चेतावनी दिइन्। 

सांसद अमृता शाहीले गत चार महिनाको बजेट कार्यान्वयन हुन नसकेको बताउँदै सरकारले संसदमा पेश गरेको बजेट कार्यान्वयन गर्न चुनौती रहेको बताइन्। उनले सुर्खेतका बाढीपीडितलाई तत्काल छानोमुनि ल्याउन सरकारसँग माग गरिन्। विहीबारको बैठकमा सीता नेपाली, रातो कामीलगायतले आफ्नो धारणा राखेका थिए। बजेटमाथि संसदहरुले बोल्नेक्रम सकिएको छ। संसदमा सांसदहरुले बजेटमाथिको सैद्धान्तिक छलफलमा उठाएका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुक्रबार जवाफ दिनेछन्। 

प्रकाशित: ७ असार २०७५ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App