coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रत्येक दिन दुर्घटनामा ७ को मृत्यु

फाइल तस्बिर

काठमाडाैं- चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो। जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिने सम्मेलन’मा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले कानूनको पालना र अनुशासनका साथ यात्रा गरे सवारी दुर्घटनामा कमी आउने बताए। “प्रतिस्पर्धाका कारण सवारी चलाउँदा दुर्घटनामा वृद्धि भएको छ”, उनले भने। 

  • ११ महिनामा २३१८ को सवारी दुर्घटनामा ज्यान गयो
  • प्रतिष्पर्धामा सवारी चलाउँदा दुर्घटना
  • चालककै लापरवाहीबाट ज्यादा दुर्घटना
  • कूल दुर्घटनाको अाधा स‌ंख्या काठमाडौंमा
  • सवारी साधनको कूल स‌ंख्या:३०५२३९७
  • काठमाडाैं उपत्यकामा मात्र: ११ लाख


ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती, आकाशे पुल निर्माण, बसस्टपको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उनको भनाइ छ। काठमाडाैंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने बताए। 

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले चालककै कारण धेरैै दुर्घटना हुने भएकाले यसलाई रोक्न सकेमात्र पनि सवारी दुर्घटना कम हुने बताए। 

नागरिक अगुवा कनकमणि दीक्षित, हाँस्य कलाकार किरण केसीलगायतले धेरै सवारी साधन र साँघुरो बाटोका कारण सवारी दुर्घटना बढेको भन्दै सार्वजनिक सवारी साधनको विकास गरी साना सवारी साधनलाई विस्थापित गर्ने बाटोमा सरकार लाग्नुपर्नेमा जोड दिए। 

महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सार्वजनिक सवारी साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले विशेष योजना बनाएर लागू गर्न लागेको बताए। 

मुलुकमा हुने कूल दुर्घटनाको आधा दुर्घटना काठमाडौँमा हुने गरेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तभित्र उपत्यकामा पाँच हजार ७८१ दुर्घटनामा परी १६८ जनाको मृत्यु र चार हजार ९९ जना घाइते भएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए। “कूल दुर्घटनाको ८० प्रतिशत दुर्घटना मानवीय कारणबाट हुने गरेको छ”, उनले भने। 

सवारी दुर्घटनाबाट मुलुकभर प्रत्येक दिन औसतमा सात जनाको मृत्यु हुने गरेको छ। हाल नेपालभर ३० लाख ५२ हजार ३९७ र काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन रहेका छन्। रासस

प्रकाशित: ७ असार २०७५ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App