८ वैशाख २०८१ शनिबार
अर्थ

कुखुरापालनबाट जीवन बदल्दै खजुराका किसान

बाँके - बाँकेको खजुरामा कुखुरापालन गर्दै आएका किसान गेहेन्द्रप्रसाद शर्मा अचेल निकै खुसी छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बस्दासमेत खासै आम्दानी गर्न नसकेका शर्मा यतिखेर हर्षित हुनुको कारण हो– कुखुरापालनबाट सोचेभन्दा बडी आम्दानी गर्न सफल हुनु।

‘विदेशबाट ल्याएको रकमबाट कुखुरापालन गर्न थालेको हुँ,’ उनले भने, ‘यतिखेर सोचेभन्दा बढी कमाउन सफल भएको छु ।’ उनले कुखुरापालनबाट मासिक करिब चार लाख रुपैयाँ कमाइरहेको बताए । उनी कुखुरा र अण्डा बिक्री गर्छन् ।

पाँच लाख लगानीमा खोर बनाएको शर्माको भनाइ छ । सुरुमा एक लाखको दुई हजार कुखुरा चितवनबाट ल्याएर राखेको उनले बताए । दानामा मासिक दुई लाख र कामदारको तलबलगायत अन्य खर्च गरेर तीन लाख खर्च भएपनि एक लाख आम्दानी हुने गरेको शर्माको भनाइ छ।

‘विदेशमा बसेर १२ घन्टासम्म काम गर्न सक्छौं, सुत्ने र खानेको ठेगान हुन्न,’ उनले थपे, नेपालमा काम गर्न लाज मान्ने गर्छन्, काम गर्नेलाई नेपालमै पैसा कमाउन सकिन्छ ।’ ओमानमा बस्दा मासिक ५० हजार कमाउँथे तर अहिलै धरमै बसेर दोब्बर आम्दानी हुने गरेको उनले बताए । शर्माले दुईजना स्थानीयलाई रोजगारी पनि दिएका छन् । विदेश गएर दुःख पाउनुभन्दा स्वदेशमा नै केही काम गर्न युवालाई उनी सुझाव दिन्छन् ।

शर्मासँगै उनका छिमेकी राजेन्द्र श्रेष्ठले पनि कुखुरापालन सुरु गरेका थिए । कुखुराबाट आफ्नो घर खर्च चल्ने र केही बचत हुने कृषक श्रेष्ठले बताए । ुअहिले गाउँमा अरु दुईजनाले समेत कुखुरापालन गर्न लागेका छन्,’ श्रेष्ठले भने, ुअरुको अधिनमा बस्नुभन्दा आफैंले मिहेनत गरेर मासिक एक लाख कमाउन सकिन्छ ।’ मिहेनत गरेर काम गरे जुनसुकै काममा पनि सफल हुने उनको बुझाइ छ।

त्यस्तै गुलरियामा कुखुरापालन गरिरहेका जय बहादुर सिंहले पनि मासिक ५० हजारदेखि एक लाख आम्दानी गर्ने बताउँछन् । ुबोइलर पालन गरेको छु,’ उनले भने, तीन महिनापछि दैनिक पाँचदेखि सात हजारसम्मको कुखुरा बेच्छु ।’ दानापानी र हेरचाह गर्ने कामदारका लागि बाहेक ५० हजारभन्दा बढी आम्दानी हुने उनले बताए ।

कुखुरासँग सम्बन्धित चल्ला, मासु, अण्डा र दाना उत्पादनमा देश लगभग आत्मनिर्भर हुँदै गएको उनको भनाइ छ ।नेपालमा कुखुराका लागि दाना उत्पादन गर्न भारतकै भर पर्नुपने बाध्यता रहेको कुखुरापालनमा संलग्न किसान बताउँछन् । ‘सबै कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ,’ सिंह भन्छन्, ‘कुखराको दाना उद्योगलाई आवश्यकमध्ये ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ ।’ यसले गर्दा कुखुराको आहारकै लागि धेरै लगानी गर्नुपर्ने उनले सुनाए । ‘कच्चा पदार्थका लागि मकै र भटमास खेतीमा किसानलाई प्रोत्साहन गर्ने नीति बन्न आवश्यक छ,’ उनी भन्छन् ।

मासु, अण्डा र दूध उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सरकारी नीति भएकाले पोल्ट्री क्षेत्रको समस्या निराकरणमा सरकारले विशेष ध्यान दिनुपर्ने यवसायी बताउँछन् । पोल्ट्री क्षेत्रमा ठूलो लगानी आउन थाले पनि सरकारले ब्याजदरमा सहुलियत दिन कन्जुस्याइँ गरेको व्यवसायीको गुनासो छ ।नेपालमा ५६ वर्षअघि आधुनिक कुखुरापालन व्यवसाय सुरु भएको भनिए पनि उच्च गतिमा विकास भएको धेरै भएको छैन । ०५० सालपछि नै व्यावसायिक कुखुरापालन क्षेत्रले द्रूत रूपमा प्रगति गरेको व्यवसायी बताउँछन् ।

नेपालमा २०१७ पुस १७ गते आधुनिक कुखुरापालन व्यवसाय सुरुवात भएको हो । सो दिन बारा परवानीपुरमा सेन्ट्रल ह्याचरी उद्घाटन भएको थियो । त्यसैलाई आधार मानेर ०७० पुस १७ देखि सरकारले राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालेको हो ।

प्रकाशित: ७ असार २०७५ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App