८ वैशाख २०८१ शनिबार
अर्थ

श्री एयरले ल्यायो चौथो जहाज

काठमाडौं - निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले चौथो जहाज काठमाडौं ल्याएको छ।

मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनीसमेत रहेको श्रीले क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ७० सिट क्षमतायुक्त ‘क्यानडियन रिजनल जेट’ (सिआरजे–७००) सिरिजको जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो । पहिलेका तीन जहाजमा जस्तै यसमा पनि जेट इन्जिन जडित छ ।

‘चौथो जहाज आइपुगेको छ,’ श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने, ‘यो जहाजबाट चाँडै नै नियमित व्यावसायिक उडान सुरु गर्ने छौं ।’ श्रीको चौथो जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एएमओ’ कलसाइन दिएको छ।

कम्पनीका अनुसार नयाँ जहाजबाट विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज, धनगढी गन्तव्यमा उडानका साथै ‘माउन्टेन फ्लाइट’ पनि सञ्चालन गरिने छ । चौथो जहाज आएपछि श्रीसँग अब ५० सिट क्षमतायुक्त ‘सिआरजे–२००’ सिरिजका दुईथान र सिआरजे–७०० सिरिजका जहाज दुईथान गरी चारवटा भएका छन् ।

हाल श्रीले साना र ठूला गरी ८ वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ । कम्पनीले हेलिकोप्टरको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) मा जहाज थपको अनुमति पाएपछि जहाज ल्याउन थालेको थियो ।कम्पनीले हाल काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी र राजविराज सेक्टरमा नियमित व्यावसायिक उडान गरिरहेको छ । श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवलाई जहाज उडानमा प्रयोग गर्न लागेको हो । जहाज उडान सँगसँगै हेलिकोप्टर सेवालाई पनि श्रीले निरन्तरता दिइरहेको छ ।

प्रकाशित: ७ असार २०७५ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App