coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जहाँ सुत्केरीलाई गोठमा राखिन्छ

जंगल बीचको गोठमै सुत्केरी भइ बसेकी हरिकलालाई चेकजाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

दैलेख– दैलेखको ठाटिकाँध गाउँपालिका –२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् । तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे ।

तर, उनी घरमा भेटिइनन् । कहाँ छिन् भनेर खोज्दै जाँदा उनी घरबाट हिँडेर तीन घण्टा लाग्ने जंगलमा रहेको गोठमा सुत्केरी भएर बसेको स्वास्थ्यकर्मीले भेटे । सानो गोठमा धूवाँ तथा फोहोरमा सुत्केरी महिला बच्चा च्यापेर बसेकी थिइन् ।‘गर्भवती खोज्दा गोठमै सुत्केरी भेटाइम्,’ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी मञ्जु शाहीले भनिन् ‘हामीले बच्चा र आमाको स्वास्थ्य चेकजाँच गोठमै गरेर फर्किम् ।’ एक हप्तादेखि हरिकला गोठमै छिन्।

सामाजिक संस्कारअनुसार आफूलाई गोठमा बसालिएको सुत्केरी हरिकलाले बताइन् । अहिले उनलाई त्यही गोठमै सुत्केरी उत्तार्ने परिवारले तयारी गरेको छ ।अझै पनि यहाँ धार्मिक परम्परा भन्दै घरदेखि टाढा गोठमा सुत्केरी गराउने तथा राख्ने चलन छ । ११ दिनसम्म सुत्केरीलाई घरभित्र पस्न नदिने चलन रहेको स्थानीय जिवलाल रेग्मीले बताए । सुत्केरी बस्ने एकान्त ठाउँमा सर्प तथा बाघभालुको डर उस्तै हुने गर्छ ।

स्वास्थ्यकर्मीका अनुसार सुत्केरीका बेला घरको सफा ठाउँमा बस्ने, आराम गर्ने तथा पोषिलो खाने कुरा खानुपर्ने हुन्छ । ज्ञानको अभावले पुरानो मान्यता भन्दै सुत्केरीलाई गोठमा राखिने गरेको सिनियर अनमी शाहीले बताइन् । उनले भनिन्, ‘अब यस्ता कुसंस्कारहरू हटाउन अभियान चलाउन जरूरी छ ।’ गाउँपालिकाले अब स्वास्थ्य संस्थामै प्रसूतिका लागि अभियान चलाउनुपर्ने स्थानीय अगुवा रक्षबहादुर शाही बताउँछन् ।


 

प्रकाशित: ७ असार २०७५ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App