coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा अवैध मेडिकल सञ्चालक पक्राउ

जलजलेस्थित मेडिकलमा अनुगमन गर्दै टोली । तस्विर : नागरिक

उदयपुर– उदयपुरका दुई अवैध मेडिकल सञ्चालक बुधबार पक्राउ परेका छन्। मिति जुग्रेको औषधि बेच्ने एउटा मेडिकलका सबै औषधि जफत गरी बन्द गरिएको छ। अधिकतर मेडिकल पसलहरु अवैध रहेको जनगुनासोका आधारमा बुधबार गरिएको छड्के अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका अवैद्य मेडिकल सञ्चालकलाई पक्राउ गरिएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका चिकित्सक, प्रशासन, प्रहरी, सशस्त्र र नगरपालिकाका प्रतिनिधिहरुको सहभागितामा भएको छड्के अनुगमनको क्रममा बिना दर्ता मेडिकल चलाउने दाजुभाई पक्राउ परेको प्रहरीले जनाएको छ। त्रियुगा नगरपालिका ६ जलजलेस्थित चौधरी ब्रदर्स मेडिकल सञ्चालकद्वय मनोज चौधरी र प्रेमकुमार चौधरीलाई पसलबाटै पक्राउ गरिएको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए। 

उनका अनुसार वर्षौंअघि म्याद सिद्धिएका औषधि बिक्री वितरण गर्ने गरेको जलजलेकै देवानन्द चौधरीको मेडिकल पसलका सबै औषधि जफत गरेर तालाबन्दी गरिएको छ। चौधरीको मेडिकलबाट ३ बोरा म्याद गुज्रेका औषधि जफत गरि तालाबन्दी गरिएको खड्काले बताए। चौधरीले मेडिकल सञ्चालनको नाममा लागूऔषध बिक्री बितरण गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको अधिकृत खड्काले बताए। तर, छापा मार्ने क्रममा मेडिकल सञ्चालक भने पसलमा नभेटिएको बताइएको छ। सञ्चालक नभेटिए पनि औषधि चाही सन् २०११ मै म्याद सकिएका बेच्न राखेको अवस्थामा पाइएपछि सबै जफत गरिएको हो। 

बुधबार ‘लागू औषध दूव्र्यसनविरुद्धको दिवस’ को अवसर पारेर अनुगमन समितिले अस्पताल परिसरमै रहेका मेडिकलहरुबाट अनुगमन थालेको थियो। दिवसको अवसर पारेर आफ्नै ठाउँबाट सुर गरौं भनेर अस्पताल परिसरबाटै अनुगमन थालेको निमित्त जनस्वास्थ्य अधिकृत दुनियालाल यादवले बताए। उनका अनुसार अस्पताल परिसरका ३ वटा मेडिकलको अनुगमनपछि एकैचोटी ७ किलोमिटर पश्चिम जलजलेमा गएर टोलीले अनुगमन गरेको थियो। अनुगमन अकस्मात गरिएको टोलीले जनाएको छ। सामान्य सुईको मात्र पाए भने सबै भाग्ने वा औषधि लुकाउने हुनाले एक्कासी अनुगमन गर्नेगरी टोली परिचालन गरिएको यादवले बताए। बुधबार अनुगमन गरिएका ८ पसलमध्ये आधा मात्र वैधानिक रहेको आधा अवैधानिक रहेको पाइएको छ। 

यादवले अघिल्लो दिन जिल्लाको पश्चिमी बजार कटारी नगरपालिकामा सञ्चालित मेडिकलहरुको पनि छड्के अनुगमन गरिएको बताए। कटारीमा अनुगमन टोली पुग्दा जहिल्यै मेडिकल सञ्चालकहरु पसल थुनेर भाग्ने गरेको पाइएकाले इलाका प्रशासन कार्यालय र नगरपालिकाको आग्रहमा छड्के अनुगमन गरेको उनले बताए। कटारीमा अनुगमनको क्रममा ८० प्रतिशत मेडिकलहरु अवबैध भेटिएको उनले बताएका छन्। विना दर्ता सञ्चालनमा रहेका मेडिकल र हस्पिटलहरुलाई सातादिनभित्र कागजात दुरुस्त गर्न चेतावनी दिएर छाडिएको उनले बताएका छन्। 

अनुगमन टोलीले कटारीको उज्वल मेडिकोमा आवश्यक कुनै कागजात नभेटेको जनाएको छ। त्यसैले असार १० गतेभित्र आवश्यक दर्ता प्रमाणपत्रहरु उपलब्ध गराउन भन्दै नगराए मेडिकल बन्द गर्ने चेतावनी दिएको छ। अर्को गुप्ता साझा पोलिक्लिनिकमा फार्मेसी सञ्चालन गर्ने व्यक्ति नभेटिएको, काठमाडौं अप्टिकलमा टेक्निसियन नभेटिएको तथा आस्था फार्मेसी र सगरमाथा हस्पिटल एण्ड रिसर्च सेन्टरले लिएको सञ्चालन स्वीकृतिको म्याद सकिएको पाइएको यादवले बताए। उनीहरुलाई यथाशिघ्र कागजात चुस्त दुरुस्त राख्न निर्देशन दिइएको उनले बताए।

कटारीकै साह मेडिकलले स्वीकृति नलिई एक्सरे सेवा सञ्चालन गरेको पाएर तत्काल कागजात व्यवस्था गर्न निर्देशन दिइएको छ भने त्रिवेणी डेन्टल हाउसको कागजात फेला नपरेले तालाबन्दी गरिएको छ। अर्को हिमाल होमियो फार्मेसीले म्याद गुजे्रका औषधिहरु बेच्ने गरेको पाइएको छ। कटारीकै सम्राट औषधालय दर्ता नगरेको, विशाल पोलिक्लिनिकले दर्ता प्रक्रिया पुरा नगरेको पाइएपछि जनस्वास्थ्य कार्यालयले कडा चेतावनी दिएर छाडेको जनाएको छ। इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेल, इलाका प्रहरी कार्यालय कटारी र कटारी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको संलग्नतामा मेडिकलहरुमा गरिएको अनुगमनको सुईको पाएपछि २ वटा मेडिकल सञ्चालक पसल बन्द गरेर भागेको स्थानीयले बताएका छन्।

प्रकाशित: ६ असार २०७५ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App