coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

पाटन–पञ्चेश्वर सडकखण्ड शिवनाथ मन्दिर नजिकको भिरालो सडकमा जिप तान्दै यात्रु। तस्बिरः बिरा गडाल

बैतडी-मापदण्ड नपुगेका बैतडीका ग्रामीण सडकमा चल्ने सवारी साधनमा जाँदा ज्यान हत्केलामा राखेर जानुपर्ने बाध्यता छ । कच्ची र भिरालो सडकमा यहाँका सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बर्खा सुरु भएँंगै जिल्लाका एक दर्जन कच्ची सडकमा यात्रा गर्न समस्या हुने गरेको छ । सिंगल लेनको कच्ची सडकमा सडक पास नभइ यातायातका साधन गुडने गरेका छन् । गाउँमा सडक पुगेपछि कच्ची सडकमा जोखिम मोलेरै भए पनि व्यवसायीले गाडी चलाउने र यात्रुले पनि जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् ।
    जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाण्डौं–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाल लगायतका सडक जोखिमपूर्ण छन् । मापदण्ड पूरा नगरेका अधिकांश त्यस्ता सडक एक वर्षयता मात्रै डोजरले खनिएका हुन् ।
    अधिकांश सडकमा रोड परमिट बिना जिप तथा ट्याक्टर चल्ने गरेका छन् । कच्ची सडक ट्याक्टरले झन खाल्डाखुल्डी बनाएपछि यात्रुलाई मात्र होइन गाडी चालकलाई पनि समस्या हुने गरेको जिप व्यवसायी बताउँछन् । वर्षातको समयमा धेरैजसो सडक अवरुद्ध समेत हुने गरेका छन् । बर्खामा हिल्याम्य र अन्य समयमा धुल्याम्य हुने यस्ता सडकमा यात्रा गर्नु जोखिम भएको पञ्चेश्वर गाउँपालिका–२, महाकालीका मोहनबहादुर चन्दले बताए । सीमित सवारी साधन चल्ने कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटनाको जोखिम समेत बढदै गएको छ ।     ग्रामीण  क्षेत्रका कच्ची सडकमा सीमित सवारी साधन चल्ने भएकाले यात्रु पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् ।  यातायात व्यवसायीले पनि चर्को भाडा लिने गरेका छन् । बढी यात्रु खोच्नु मनपरी भाडा लिनु र गन्त्यव्यमा नपुगाइ बीचबाटोमै यात्रुलाई छाडनु प्रवृति व्यवसायीले छोडन सकेका छैनन ।
    जिल्लामा निर्मित कच्ची सडक ग्राभेल तथा मर्मतसम्भार नहुँदा सवारी सञ्चालन गर्न कठिनाइ छ । अधिकांश सडकमा सवारी दोहोरो क्रस हुँदैनन् । कतिपय मोडमा त कटिंग समेत नपुग्ने गरेको जिप चालक दिपक मडैले बताए । ‘ब्याक गरेर अघि बढनुपर्छ,’ उनले भने, ‘केही सडक त यति भिराला छन्, जहाँ यातायातका साधन गुडाउनै समस्या हुन्छ ।’
    प्राविधिक बिना काटिएका सडक जोखिमपूर्ण बनेको सडक डिभिजन कार्यालयले जनाएको छ । स्थानीयतहले काटेका अधिकांश सडक प्राविधिक इष्टमेट बिना डोजर चालकले आफ्नै हिसाबले काटदा जोखिम बढेको स्थानीय बताउँछन् । कच्ची सडकमा समयसमयमा दुर्घटना हुने गरेका छन् । केही वर्ष अघि देहीमाण्डौं–गिरेगाडा सडकखण्डमा दुर्घटनाको क्रम बढेपछि केही महिना यातायात बन्द गरिए पनि पुनः सञ्चालन गरिएको थियो ।



 

प्रकाशित: ६ असार २०७५ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App