७ वैशाख २०८१ शुक्रबार
समाज

जनप्रतिनिधिलाई मोटसाइकल बाँडियो

सिन्धुली – सिन्धुलीका जनप्रतिनिधिलाई स्थानीय तहले हेभी मोटसाइकल उपलब्ध गराएका छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थानीय तहले वडा अध्यक्षहरूलाई धमाधम हेभी मोटसाइकल उपलब्ध गराइरहेका छन्।  

यहाँको दुधौली नगरपालिका कार्यालयले केहि महिना अगाडिनै टिभिएस कम्पनीका एक सय ८० सीसीका १४ ओटा मोटसाइकल एकसाथ खरिद गरी वडा अध्यक्षहरूलाई उपलब्ध गराएको थियो। दुधौली नगरपालिकाले टिभिएस कम्पनीको सोरुम खुल्नेवित्तिकै १४ ओटा बाइक खरिद गरि वडा अध्यक्षहरूलाई दिएको हो, स्थानीय सञ्चारकर्मी रविन्द्र भट्टराईले भने,‘सबै वडा अध्यक्षहरूलाई हाल मोटसाइकल उपलब्ध गराइएको छ।’ 

तत्कालिन गाविस हुँदा केहि गाविस सचिवहरूले मोटसाइकल खरिद गरेका थिए। तर धेरै वडामा मोटसाइकल खरिद गरिएको थिएन हाल जनप्रतिनिधिहरुले आफ्ना लागि धमाधम मोटसाइकल खरिद गरेका छन्।  कर्मचारीहरूले सामान्य मोटसाइकल मात्रै चढ्ने गरेका भएपनि हाल जनप्रतिनिधिहरूले हेभी मोटसाइकल खरिद गरेका हुन्। 

अधिकृत तहका कर्मचारीले समेत सामान्य मोटसाइकल चढ्नुपर्ने अवस्थामा हाल गाउँपालिका तथा नगरपालिकाले हेभी मोटसाइकल खरिद गरि वितरण गरेको एक कर्मचारीले बताए। पहिले हामीले एक सय २५ सीसीको डिस्कभर मोटसाइकल खरिद गर्छौ भन्दा नमान्ने यिनै नेताज्युहरू हुन् हाल उनीहरू निर्वाचित भएपछि धमाधम हेभी मोटसाइकल खरिद गरेका छन्।

वडा अध्यक्षहरुले १ सय ५० सीसीदेखि २ सय २० सीसीको मोटसाइकल खरिद गरेका छन्। यहाँको सुनकोसी गाउँपालिकाले हालै मात्रै सातै वटा वडाहरूका लागि भन्दै १ सय ५० सीसीको पल्सर वाइक खरिद गरेको छ। सबै वडाहरूलाई मोटसाइकल खरिद गरिएको हो, गाउँपालिकाका स्थानीय सरद प्याकुरेलले भने। जिल्लाका मरिण तीनपाटन गोलञ्जोर लगायतका स्थानीय तहले धमाधम मोटसाइकल खरिद गरेका छन्।

हामीले केहि २२० सीसीको पल्सर र केहि १५० सीसीको पल्सर खरिद गरेर वडा अध्यक्षहरुलाई उपलब्ध गराएका हौ, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले भने,‘पहिलेदेखिनै २२० सीसीका पल्सर चढ्दै आएका छौ भन्ने केहि वडा अध्यक्षलाई २२० सीसीकै पल्सर खरिद गरिएको हो, अरुलाई १५० सीसीको पल्सर खरिद गरि वितरण गरेका छौ।’

जनप्रतिनिधिहरुले आफु निर्वाचित भएलगत्तै विभिन्न सुविधाको उपभोग गर्दै आएका छन्। चिटिक्क परेका कार्यकक्ष र सुविधायुक्त सवारी जनप्रतिनिधिको रोजाईमा पर्न थालेको छ। गाउँपालिका तथा नगरपालिका प्रमुखले स्कारपियो गाडी खरिद गरेका छन् भने वडा अध्यक्षहरूलाई हेभी मोटसाइकल खरिद गरिएको छ।

यहाँको तीनपाटन गाउँपालिकाले गाउँपालिका भित्रका ११ ओटा वडाका लागि ११ ओटै पल्सर मोटसाइकल खरिद गरि उपलब्ध गराएको जनाएको छ। हामीले काम गर्न सहज होस् भनेर १५० सीसीको पल्सर मोटसाइकल खरिद गरि सबै वडा अध्यक्ष र एकओटा मोटसाइकल उपप्रमुखलाई उपलब्ध गराएका छौ, गाउँपालिका अध्यक्ष कर्ण थापामगरले भने। 

मोटसाइकल सिक्दै वडा अध्यक्ष
स्थानीय तहले धमाधम नयाँ मोटसाइकल खरिद गरी वडाअध्यक्षहरुलाई दिएपछि मोटसाइकल चलाउन नजानेका धेरै वडा अध्यक्षहरू धमाधम मोटसाइकल सिक्न थालेका छन्। सरकारी सम्पत्तिको दुरुपयोग गर्दै उनीहरूले नयाँ मोटसाइकल सिक्ने अवसर पाएका हुन्। 

उमेरले ५० वर्ष नाघेका वडा अध्यक्षहरू समेत मोटसाइकल सिक्न व्यस्त छन्। लाइसेन्स नभएपनि वडा अध्यक्षहरुलाई गाउँपालिका तथा नगरपालिकाले हेभी मोटसाइकल उपलब्ध गराएपछि आफ्ना आफन्तबाट मोटसाइकल सिक्नमा जनप्रतिनिधि व्यस्त छन्। 

प्रकाशित: ६ असार २०७५ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App