८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)

बेइजिङ– चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार नेपाल र चीनबीच विभिन्न ८ सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुबै देशका सरकारी र निजी क्षेत्रका संस्थासँग विभिन्न सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताए। संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए।

सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो। 

नेपाल र चीनबीच के के सम्झौता भए? हेरौं तस्बिरसहित:

फलफूल उद्योग स्थापनाको समझदारी : फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै । 

इपिसिएफ मोडलमा निर्माण समझदारी : सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि झाङ यानफेइबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै।

कालीगण्डकी गर्ज जलविद्युत् निर्माण सम्झौता : नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि झु जीनसिबीच बुधबार बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै । 

पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर : नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षरपछि हात मिलाउँदै संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या । 

मर्स्याङ्दी जलविद्युत् निर्माण सम्झौता : बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्दै ।

त्रिशूली गल्छी परियोजना निर्माण सम्झौता : त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै । 

हुवासिन सिमेन्ट उद्योग स्थापनाको सम्झौता : हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङ । 

सिँचार्इ परियोजना प्रतिवेदनसम्बन्धी समझदारी : पूर्वी तराईको सिँचार्इ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचार्इ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै ऊर्जा, जलस्रोत तथा सिँचार्इ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआन । 

हस्ताक्षर समारोहमा प्रम ओली : देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माणसम्बन्धी समझदारी एवं सम्झौतापत्रमा बुधबार बेइजिङमा आयाजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत ।

सबै तस्बिर: हरि लामिछाने, बेइजिङ, रासस ।

प्रकाशित: ६ असार २०७५ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App