७ वैशाख २०८१ शुक्रबार
समाज

मनाइयो सिथिनखः

भक्तपुर – टोलटोलका पानीका परम्परागत स्रोतको सरसफाई गरी मंगलबार भक्तपुरमा सिथिनखः मनाइएको छ। प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन इनार, ढुंगेधारा, कुवालगायतका पानीका परम्परागत स्रोतको सरसफाई गरी यो पर्व मनाउने चलन छ।

सबै टोलबासी मिलेर इनार, ढुंगेधारा, कुवाको सरसफाई गरिएको गोल्मढीका स्थानीय माधव किसीले बताए। ‘अन्य पर्वभन्दा बेग्लै सिथिनखःमा हामी सबै सरसफाईको काममा केन्द्रित हुन्छौं,’ उनले भने।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा पकाई खाने प्रचलन छ। त्यसैगरी नयाँ भित्र्याइएको गहुँको म्हुछ्यामारी (मुठ्ठी पारी बनाइने रोटी) पनि खाने प्रचलन छ। साथै चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका परिकार खाने चलन छ। यस दिन बारालगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न भई वर्षायाममा धानखेती गर्न बल पुग्ने जनविश्वास छ। सिथिनखःसँगै वर्षा सुरु हुने र किसानहरुका लागि महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाईं) सुरु हुने विश्वास छ।

सिथिनखः का दिन माटोलाई चोट पुयाउन नहुने विश्वासले किसानहरु खेतबारीमा काम गदैनन्। पर्वको दिनमा शुद्ध भई कुमार, नवदुर्गा भवानी र शिक्तिपीठहरुको पुजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ बाली राम्रो हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेकोे छ।

संस्कृतिविद् प्रा. डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार नेवार समुदायले आफूलाई चाहिने पानीका परम्परागत स्रोतहरुको सरसफाई गरी संरक्षण एवं सम्वद्र्धन गर्ने भएकाले यो पर्वको विशेष महत्व छ। सिथिनखःले परापूर्वदेखि पानीका मुहान सफा राख्नु पर्दछ भन्ने सन्देश समेत दिने गरेको उनी सुनाउँछन्। वर्षाको बेला पानीका मूहान दूषित हुने भएकाले यसलाई सफा गर्नुपर्छ भन्ने सन्देश समेत यो पर्वले दिने गरेको उनी सुनाउँछन्।

प्रकाशित: ६ असार २०७५ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App