४ वैशाख २०८१ मंगलबार
अर्थ

शितल पहिरनको फेरिँदो ट्रेन्ड

काठमाडौं - मंगलबार दिउँसो सुन्धाराको आफ्नै पसलमा लत्ताकपडा मिलाउँदै थिए, प्रमोद गौतम । पसलमा ग्राहक आउने–जाने क्रम जारी छ । कपडा हेर्छन्, यताउता पल्टाउँछन् र निस्कन्छन् । गर्मीमा लगाउने कपडा खोज्ने धेरै आउँछन्।

‘साहुजी, पोर्चुगलको जर्सी छ,’ कानमा एयरफोन लगाएका एक युवा फुत्त पसलमा छिर्दै भने । गौतमले पोर्चुगलको जर्सी देखाए ।‘रोनाल्डो भएको छैन ?’ ग्राहकले भने ।‘त्यो त अहिले सकिएको छ,’ गौतमले जवाफ फर्काए ।गर्मीका कपडाको सिजन भए पनि यसपालिको माग अलि फरक छ । रसियामा चलेको विश्वकपले स्थानीय बजारमा जर्सीको माग ह्वात्तै बढाएको छ । मनपरेको आफ्नो टिमको जर्सी खोज्दै आउने धेरै छन् । ब्राजिल, अर्जेन्टिना, जर्मनी, पोर्चुगल, स्पेन लगायत टिमका जर्सीको माग धेरै छ।

तर, अचम्म कस्तो भने रसियामा हुने हारजितले गौतमको व्यापारलाई असर गर्छ । जर्मनीले म्याक्सिकोसँग हा¥यो । गौतमको व्यापार घट्यो । ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए । गौतमको नाफा–घाटा बराबर भयो ।
‘जर्मनीका हारले जर्सी बिक्न कम भइसक्यो,’ गौतमले भने हालको व्यापारको अवस्थाबारे भने, ‘ठूला टिमहरू हार्छन् । हाम्रो व्यापार घट्छ।’   

विराटनगरका प्रमोद गौतमले काठमाडौंमा लत्ताकपडाको पसल गर्न लागेको दुई दशकभन्दा धेरै भइसक्यो । यसबीचमा काठमाडौंको स्वरुप नै परिवर्तन भयो, जसरी मान्छेहरूका सोच र सोखहरू फेरिए, लत्ताकपडाका डिजाइन फेरिए, मान्छेहरू फेसनेबल बने र सहर रंगीचंगी बन्यो ।उनी काठमाडौं छिर्दा बजारमा खासै भिडभाड थिएन । लत्ताकपडा पनि सस्ता थिए । कपडा लगाउने चलन साधारण किसिमको थियो । ‘पहिला कपडाको मूल्य धेरै सस्तो थियो,’ गौतमले भने, ‘अहिले मूल्यसँग धेरै कुरा परिवर्तन भइसकेको छ । काठमाडौं नै फेरिएको छ।’

त्यही फेरिएको काठमाडौंको प्रतिस्पर्धी बजारमा गौतम उभिएका छन् । पहिलेभन्दा धेरै प्रतिस्पर्धा छ, बजारमा । उनको पसलमा मुख्य त सर्ट, टिसर्ट, गन्जी, हाफ पाइन्ट, पेन्टी, मोजा लगायत कपडा पाइन्छन् । ‘मेरो पसल सामान्य वर्गका ग्राहकको लागि हो,’ गौतमले भने, ‘बजारमा धेरै महँगा पनि पाइएलान् तर गर्मीमा लगाउन मिल्ने दुई–चार सय रुपैयाँ मूल्यका कपडा मेरो पसलमा छन्।’

ग्राहकको ‘च्वाइस’ फरक फरक छ । अलि महँगो र गुणस्तरीय सामान खोज्नेहरू गौतमको पसलकै छेवैमा रहेको सिभिल मल छिर्छन् । सिभिल मलमा हरेक किसिमका सामान बच्चादेखि पाका उमेरसम्मका लागि पाइन्छन् ।
ग्राहकको चहलपहल राम्रै छ । ग्राहकहरू पसलभित्र फाट्टफुट्ट आउने–जाने चरिहेको छ । लत्ताकपडा, जुत्ता–चप्पल, घडी, चस्मा, कस्मेटिक पसलमा ‘समर कलेक्सन’हरू सजाइएका छन् । हरेक सिजनमा कपडाको माग भइरहने भए पनि गर्मी महिनामा अझ धेरै बिक्री हुने व्यवसायी बताउँछन्।

‘गर्मीका कपडा अलि बढी नै जान्छ,’ सिभिल मलमा चेन्ज द मेन्ज वेयर पसल सञ्चालन गरिरहेका निश्चल थापाले भने, ‘यो मौसममा धेरै प्रकारका आइटम उपलब्ध पनि हुन्छन् ।’ उनको पसलमा अहिले गर्मीका लागि भनेर टिसर्ट, हाफपाइन्ट, कटन पेन्ट, लिनेनको पाइन्ट, सर्ट, हाफ सर्ट, स्लिभलेस टिर्सट, आउटर लगायत गर्मीका कपडा रहेको उनले बताए । गर्मीमा शितल अनुभव हुने कटनका कपडाको धेरै माग भएको थापाले बताए । नेपालमा धेरैजसो कपडा चीनबाट आउँछ । केही सामान भारतबाट पनि आउँछन् । ‘सामानको मूल्य गुणस्तर अनुसार फरकफरक किसिमका छन्,’ थापाले भने, ‘चीनबाट आउने सामान गुणस्तरीय महँगा पनि छन् ।’
उनको पसलमा एक हजारदेखि दुई हजारसम्मका टिसर्ट उपलब्ध छन् ।

त्यस्तै, हाफ पाइन्टको मूल्य एक हजारदेखि एक हजार पाँच सयसम्म छ । कटन पेन्ट एक हजारदेखि २२ सयसम्मका छन् । त्यस्तै, सर्ट १२ सयदेखि १९ सय रुपैयाँसम्म मूल्यका भएको थापाले बताए । ‘यो सबै मूल्य गुणस्तर र कपडा अनुसार फरक पर्न सक्छ,’ थापाले भने।

पुरानो मूल्यमा भने बजेट भाषणपछि फरक परेको व्यवसायीको भनाइ छ । सरकारले कर बढाएको भन्दै सामानको मूल्य बढेर आएको कपडा पसल व्यवसायीले बताए । थापाका अनुसार बजेट भाषणपछि कपडाको मूल्य पनि कम्तीमा सय रुपैयाँसम्म बढेको छ।

बजारमा निम्न वर्गका उपभोक्तादेखि उच्च आम्दानी भएका ग्राहकसम्मलाई कपडा उपलब्ध छन् । त्यसै अनुसार आउटलेट राखिएका छन्, ब्रान्डेड सामान उपलब्ध छन् ।गुणस्तरीय र ब्रान्डेड कपडा खोज्नेको लागि जोन प्लेयर ब्रान्डमा लत्ताकपडा उपलब्ध भएको सूर्य नेपालका ब्रान्ड म्यानेजर रजत थापाले बताए । ‘हामीले ग्राहकको चाहना अनुसार गुणस्तरीय उत्पादन बजारमा पठाएका छौं,’ थापाले भने।

सूर्य नेपालले जोन प्लेयर ब्रान्डमा सर्ट, ट्राउजर, कटन टिसर्ट, जिन्स, लिनेन, हाफ पाइन्ट, सल लगायत उत्पादन छन् । जोन प्लेयर ब्रान्डमा विभिन्न रङ, डिजाइन अनुसार कपडा उपलब्ध भएको कम्पनीले बताएको छ । जोन प्लेयर्सका सामान कम्पनीको आफ्नै आउटलेट र अन्य पसल, मलहरू उपलब्ध छन् ।कम्पनीका अनुसार जोन प्लेयरका सर्टहरू दुई हजारदेखि ३५ सय रुपैयाँसम्ममा उपलब्ध छन् । टिसर्टको मूल्य १२ सयदेखि १५ सयसम्म छ । तीन हजारदेखि चार हजारसम्मका ट्राउजर छन् भने जिन्सको मूल्य तीन हजारदेखि चार हजार रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ।

फागुनदेखि नै गर्मीको लागि भनेर बजारमा सामान गइरहेको कम्पनीले बताएको छ । हरेक दिन सामानको माग बढिरहेको छ । बजारमा डुब्लिेकट सामान पनि हाबी रहेको बेला ब्रान्डेड सामान खोज्नेको लागि जोन प्लेयर राम्रो ‘अप्सन’को रुपमा छ ।
 

प्रकाशित: ६ असार २०७५ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App