८ वैशाख २०८१ शनिबार
समाज

महानगरलाई घाँस उपहार!

उपमेयर हरिप्रभा खड्गीलाई उनकै कार्यकक्षमा रानीपोखरीको घाँस उपहारस्वरुप बुझाउँदै सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठ। तस्बिर : नागरिक

काठमाडौं - सम्पदाप्रेमीको एक समूहले कुरुप बन्दै गएको रानीपोखरी परिसर सफा गर्दै त्यहाँ उम्रिएको घाँस गोडमेल गरी काठमाडौं महानगरपालिकालाई घाँस उपहार दिएका छन्। रानीपोखरी पुनर्निर्माणमा महानगरपालिकाले देखाएको उदासीनताप्रति व्यंग्य गर्दै सम्पदाप्रेमी स्थानीयले घाँस उपाहार दिएका हुन्।

नेवार समुदायको सिठी नखः पर्व अवसर पारेर मंगलबार रानीपोखरी क्षेत्र सफा गरिएको थियो। सफा गर्ने क्रममा फोहोर व्यवस्थापन र झारपात गोडमेल गरी हटाइएको थियो। यो पर्वमा इनार, ढुंगेधारा, कुवालगायत पानीका स्रोत सरसफाइ गर्ने प्रचलन छ। सोही प्रचलनअनुरुप सम्पदाप्रेमी, स्थानी तथा नेपाल प्रहरीको संलग्नतामा मंगलबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरीको पनि सफाइ गरिएको हो। सफा गर्ने क्रममा काटिएको झारपाट र घाँसको केही अंश व्यंग्यस्वरुप महानगरपालिकालाई प्रदान गरिएको थियो। घाँस उपहारसँग उनीहरूले सम्पदा संरक्षण र पुनर्निर्माणमा विलम्ब नगर्न माग राखेर ज्ञापनपत्रसमेत बुझाएका छन्। मेयर विद्यासुन्दर शाक्य चीन भ्रमणमा गएका कारण उपमेयर हरिप्रभा खड्गीलाई उनकै कार्यकक्षमा घाँस र ज्ञापनपत्र प्रदान गरिएको थियो। मेयर शाक्य प्रधानमन्त्री केपी ओलीसँग चीन भ्रमण गएका छन्।

२०७२ सालको भूकम्पबाट कुरुप बनेको रानीपोखरी पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको महानगरपालिका यसतर्फ उदासीन देखिएको छ। पुनर्निर्माण नहुँदा रानीपोखरी क्षेत्र घाँस उम्रिएर झाडीमा परिणत भएपछि सरसफाइ गरिएको हो। ‘रानीपोखरी पुनर्निर्माणमा महानगरपालिका उदासीन देखिएको छ,’ सम्पदाप्रेमी आलोकसिद्धि तुलाधरले भने, ‘सांकेतिक विरोधस्वरुप घाँस उपहार दिएका हौं।’ रानीपोखरी पुनर्निर्माण विज्ञसमूहको सिफरिस अनुरुप अर्थात् मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न उपमेयर खड्गीसँग अनुरोध गरिएको स्थानीय गणपतिलाल श्रेष्ठले बताए। रानीपोखरी पुनर्निर्माण सुरु नभएसम्म प्रत्येक शनिबार सरसफाइलाई निरन्तरता दिइने उनको भनाइ छ।

महानगरपालिकाले यसअघि रानीपोखरी पुनर्निर्माण गर्दा पुरातात्विक मापदण्डविपरित कंक्रिटको पर्खाल हालेपछि विरोध भएको थियो। त्यसपछि बनाइएको विज्ञ समितिले मल्लाकालीन शैलीमै पुनर्निर्माण गर्न सुझाव दिइएको छ। तर, महानगरपालिकाले भने काम अघि बढाउन चासो दिएको छैन।

घाँस र ज्ञापनपत्र बुझ्दै उपमेयर खड्गीले महानगरपालिकाले जतिसक्दो छिटो रानीपोखरी पुनर्निर्माण थाल्ने प्रतिबद्धता जनाइन्। ‘रानीपोखरी पुनर्निर्माण प्रक्रिया अगाडि बढेको छ,’ उपमेयर खड्गीले भनिन्, ‘सक्दो चाँडो रानीपोखरीको पुनर्निर्माण हुनेछ।’ पुनर्निर्माण पुरातात्विक मापदण्ड र विज्ञ समितिको सुझावअनुसार गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन्।

प्रकाशित: ६ असार २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App