७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबल : लेवान्डोवस्कीको पोल्याण्ड मानेको सेनेगलसँग पराजित

रूस – रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा साडियो मानेको सेनेगलले विजयी सुरुवात गरेको छ। स्पार्टक रंगशाला मस्कोमा मंगलबार सम्पन्न दोस्रो तथा पहिलो राउन्डको अन्तिम खेलमा सेनेगलले रोबर्ट लेवान्डोवस्कीको पोल्याण्डलाई २–१ ले पराजित गरेको हो।

सेनेगलको जितमा एम्बे नियाङले एक गोल गर्दा पोल्याण्डका थिएगो सिओनिकले एक आत्माघाति गोलको उपहार दिए। यता पोल्याण्डका लागि ग्रेजगोर्जले एक गोल फर्काए। खेलअवधिभर सेनेगललाई दबाबमा राखेपनि पोल्याण्ड सेनेगलसँग पराजित हुन पुग्यो। 

खेलको ३७ औं मिनेटमा पोल्याण्डका सिओनिकले डि बक्सभित्र आएको बललाई क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल हुन पुगेको थियो। पहिलो हाफमा १–० ले पछि परेको पोल्याण्डले दोस्रो हाफको १५ मिनेटमानै अर्को गोल खान पुगेको थियो।

डिफेन्डर अगाडि बढेको मौकामा गोलकिपरलाई बिट गर्दै नियाङले उत्कृष्ट गोल गरेपछि सेनेगलले अग्रता दोब्बर बनाएको थियो। २ गोलले पछि परेको पोल्याण्डका लागि ८६ औं मिनेटमा ग्रेजगोर्जले हेडमार्फत गोल गर्दै टोलीको अग्रता कम गरेका थिए। तर त्यसपछि कुनै गोल नभएपछि विश्वकपको पहिलो खेलमै पोल्याण्ड पराजित हुन पुग्यो।

पोल्याण्डका स्ट्राइकर तथा कप्तान रोबर्ट लेवान्डोवस्कीले गोल गर्न असमर्थ रहे। त्यस्तै सेनेगलका कप्तान साडियो मानेले पनि सोचे अनुसारको खेल देखाउन सकेनन्। योसँगै विश्कपक फुटबलमा पहिलो राउन्डका खेलहरू सकिएका छन्। आजबाट दोस्रो राउन्डका खेलहरू सुरु हुँदैछन्।

आजको दोस्रो राउन्डको पहिलो खेलमा आयोजक राष्ट्र रूस र इजिप्ट भिड्दैछन्। खेल नेपाली समयअनुसार राती ११ः४५ बाट सुरु हुनेछ। 

प्रकाशित: ५ असार २०७५ १७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App