८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा अाउन लागेका छन्। उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ अाउन लागेका हुन्। किमकाे याे तेस्राेपटककाे चीन भ्रमण हाे। 

चिनियाँ टेलिभिजन सिसिटिभीसहित बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार किम बुधबार मात्र राजधानी बेइजिङ पुग्नेछन्।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गरेका थिए। उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लागेकाे बताइएको छ।  

उनी मङ्गलबार चीन पुग्दा गएको मार्च महिनादेखिकाे यो तेस्रो पटकको चीन भ्रमण हुने छ। उनी जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुगेका थिए।

यसपटककाे भ्रमणमा उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम छ।

साथै उनले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने बताइएकाे छ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो। चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो। बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ। 

गत मार्च यताको किमको यो तेस्रो पटकको चीन भ्रमण हो। चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ। 

प्रकाशित: ५ असार २०७५ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App