७ वैशाख २०८१ शुक्रबार
अर्थ

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

उदयपुर सिमेन्ट उद्योग कारखाना। तस्विरः महेश्वर

उदयपुर – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई मागेजत्ति विद्युत उपलब्ध गराउने घोषणा गरिरहँदा उदयपुरस्थित पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई भने विद्युत अनियमितताले निकै सास्ति दिएको छ। सरकारले लोडसेडिङ बिधिवत् अन्त्य भएको घोषणा गरे पनि विद्युत अनियमितताकै कारण जेठ महिनामै उसिउलिले लाखौं घाटा बेहोर्नु परेको छ।

उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले जेठ महिनामा मात्र विद्युत अनियमिताका कारण १ करोड हाराहारी उद्योगलाई घाटा भएको बताए। उनका अनुसार जेठमा आन्तरिक लाइन १८ दिन र बाह्य लाइनमा २७ दिन विद्युत अवरुद्ध भएको छ। जेठमा आन्तरिकतर्फ २७ पटक र बाह्यतर्फ ९३ पटक विद्युत अवरुद्ध हुन पुग्दा उद्योगलाई झण्डै करोडबराबरको घाटा हुन गएको जिएम पौडेलले बताए।

आन्तरिक र बाह्य गरी १ सय २० पटक जेठमा विद्युत अवरुद्ध हुँदा २६ घण्टा ५ मिनट उद्योग चल्न नसकेको उनले बताए। १ घण्टा विद्युत अवरुद्ध हुँदा ४ लाखभन्दा बढीको घाटा बेहोर्नुपर्ने पौडेलले बताए। लगातार उत्पादन भइरहँदा एक्कासी विद्युत अवरुद्ध हुँदा इन्जिनलाई पनि क्षति पुग्ने गरेको उनको गुनासो छ।

नेपाल विद्युत प्राधिकरणका नायव प्रबन्ध निर्देशक (डिएमडी) तथा एलडिसी डिपार्ट प्रमुख विष्णु श्रेष्ठले ठूला उद्योगको बर्गमा राखेर उसिउलिलाई सकेसम्म नियमित विद्युत प्रवाह गराउँदै आएको बताए। उद्योगहरुलाई आवश्यक्ता अनुसार विद्युत आपूर्ति गराउने सरकारको नीति अनुसार उदयपुर सिमेन्टलाई पनि सकेसम्म नियमित विद्युत प्रवाह गराइरहेको उनले बताए। कहिलेकाही सिस्टमबाट नै अटोमेटिक स्वीचिङ हुन पुग्ने भन्दै उनले त्यस्तो समस्या समाधान गर्न लाहान शाखा र स्थानीय कार्यालयसँग समन्वय गर्न सुझाव दिए। उद्योग प्रशासनले भने लाहान शाखामा जति अनुरोध गर्दा पनि समस्या ज्युँका त्युँ रहेको जनाएको छ।

‘हामी उद्योग राम्ररी चलाउने र उत्पादन राम्रो गर्ने प्रयासमै छौं तर, विद्युतकै अवरोधकै कारण घाटा बेहोर्न बाध्य छौं’, जेठमा भएको लामो विद्युत अवरोध लिस्ट देखाउँदै जिएम पौडेलले भने, ‘जति अनुनय विनय गर्दा पनि विद्युत प्राधिकरणले मार्का बुझिदिएन।’ केन्द्रीय प्राधिकरणले भन्दा पनि जिल्लास्थित वितरण केन्द्र र सिराहाको लाहान शाखाले उद्योगको मार्का नबुझिदिएको गुनासो उनले गरे।

राजनीतिकरणका कारण थलिएको उद्योगले विगत अढाई दशकको इतिहासमा चालु आर्थिक वर्षदेखि लक्ष्यभन्दा बढी सिमेन्ट उत्पादन गर्न थालेको छ। वर्षौंपछि व्यवस्थापकीय क्षमता देखिरहेकै बेला विद्युत प्राधिकरणबाट भएको असहयोगप्रति उद्योग परिवार दुःखी भएको छ। नायव महाप्रबन्धक नवलकिशोर साहले लामो समयपछि उद्योगले अग्रगति लिएका बेला प्राधिकरणले विद्युत प्रवाहमा अनियमितता गरेर असहयोग गरेको आरोप लगाए।

उद्योगले जेठ महिनामा २ लाख २५ हजार बोरा गैंडाछाप सिमेन्ट उत्पादन गरेको जनाएको छ। गैंडाछाप सिमेन्टको बजार मूल्य प्रतिबोरा भ्याटसहित ९ सय हो।

प्रकाशित: ५ असार २०७५ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App