८ वैशाख २०८१ शनिबार
अर्थ

हुलाकी राजमार्गसँग जोडिएको मधेसको समृद्धि

तस्बिर : नागरिक

सिरहा - संसदीय र स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुको आकर्षक नारा थियो– हुलाकी राजमार्ग निर्माण । उक्त राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा खुबै बिक्यो।

हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल उम्मेदवार सांसद, मेयर, अध्यक्ष बने । उनीहरुको जीवनशैली फेरियो तर, मधेसी जनताको जीवनशैली फेरिएन ।हुलाकी राजमार्गसँग जीवन जोडिएका दूरदराजका जनताको जीवनशैली भने उस्तै छ– भरोसा र आक्रोश मिश्रित।

हुलाकी सडकको अवस्था पहिलाको भन्दा उदेकलाग्दो बनेको छ । ग्राभेल सडक चौडा गर्न दुवैतिर चिप्लो माटोले पुरिएको छ । माटो भरेको यो मार्ग सुक्खा मौसममा धुँवालो र वर्षामा हिलोले यस भेगका जनतालाई सास्ती थपिरहेको छ।

औरही गाउँपालिका–१ हरकट्टीका परमेश्वर साह भन्छन्, ‘खेतको माटो सडकमा खन्याएर झन बेहाल बनायो ।’ पहिला ग्राभेल यो मार्गमा पानी पर्दा पनि जसोतसो आउजाउ गर्न सकिन्थ्यो । उनले भने, ‘माटो खन्याएदेखि पानी प¥यो कि आउजाउ बन्द हुन्छ ।’ सुक्खामा धुलो उडेर हैरान, वर्षामा हिलोबाट हैरानी खप्दै आएका बिरेन्द्र शर्माले भने, ‘कमसेकम वर्षाअघि ग्राभेल हालिदिए सास्ती कम हुन्थ्यो।’

कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वछन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का पाएको छ । ११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको छ । एक अर्ब २० करोड २० लाख रुपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि ३६ महिने समयसीमा तोकिएको साइट इन्जिनियर मनोज मण्डलले बताए ।

हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने यस भेगका जनताको सपना दशक बढी समयदेखिको हो । हुलाकी सडक राजमार्गको रुपमा विकास हुने चर्चा राणाकालीन समयदेखिकै हो । जबजब हुलाकी राजमार्ग बन्ने चर्चा चुलिन्छ यस भेगका जनतामा भरोसाको पालुवा पलाउँछ ।

जब चर्चा सेलाउँछ जनतामा फक्रिएको भरोसाको पालुवा पनि सेलाउँछ । हुलाकी राजमार्ग बन्ने चर्चा पलाउने र सेलाउने क्रम ६ दशकदेखि चलिरहेको छ ।चैत ६ गते नेकपाका अध्यक्ष (तत्कालीन माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डमा शिलान्यास गर्दै अब यो राजमार्ग बनेरै छाड्ने विश्वास बाँड्दा यस भेगका जनता उत्साहितसँगै शंकित बनेका थिए ।

कारण– हुलाकी राजमार्ग राणाकालदेखि पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको छ । बि.सं. १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी जुद्धशम्शेर, पदम शम्शेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास भए । शिलान्यास हुने, निर्माणको थालनी हुने तर बीचमै निर्माण रोकिने विगतले यस भेगका जनता झस्किरहेका छन् ।

‘तराई–मधेसको विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी राजमार्गको शिलान्यासले दूरदराजका जनतामा उत्साह जगायो, बरियारपट्टीका जेष्ठ नागरिक लक्ष्मी यादव (८०)ले भने, ‘यो राजमार्ग निर्माणले पूर्वी बलानदेखि कमला खण्डसम्म शिलान्यास भएको हुलाकी राजमार्गले सर्वसाधारणमा आर्थिक समृद्धिको आशा पलाएको छ।

‘बुवाहरुले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउँथे,’ स्थानीय गंगाप्रासाद यादव भन्छन्, ‘हामीले सुरुमा देखेको हुलाकी सडक अहिलेको भन्दा धेरै चौडा थियो ।’ पहिला सडक छेउछाउ बस्ती थिएन, अहिले बस्तीले सडक ढाकेको छ । ‘हामीले थाहा पाउन्जेल सडकको ठाउँठाउँमा खाल्डो भइसकेको थियो,’ उनले भने, ‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो ।’ सडकमा परेका खाल्डाले हिँडाउनै कठिन हुन्थ्यो।

‘यहाँबाट भारतीय सहर दरभंगा, मधुवनीलगायत सहरमा धान बिक्री गर्न लैजान्थ्यौं,’ स्थानीय बिल्टु यादवले विगत सम्झे, ‘उताबाट नुन, तेल, लत्ताकपडा लिएर आउथ्यौं ।’ यो सडक चल्तीको सडक थियो । योभन्दा माथि १८ किमि उत्तरबाट राजमार्ग बन्न थालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो, बिस्तारै जीर्ण बन्न थाल्यो । राजमार्ग चल्तीमा आएपछि यो सडक ओझेलमा प¥यो । पछि बयलगाडा हिँडाउनसमेत असहज भयो।

यो सडकको दुर्दशा पूर्व–पश्चिम राजमार्ग बनेपछि सुरु भएको हुलाकी सडक आसपासका स्थानीय बताउँछन् । राजमार्ग बनेपछि यो सडक राज्यको नजरमा पछि पर्यो,’ स्थानीय यादव भन्छन्, ‘सडकसँगै जोडिएको यो क्षेत्र नै पछि पर्यो ।’ ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ।

यो सडक जीर्ण हुँदै चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्व–पश्चिम राजमार्ग) छेउमा विस्तार हुन थाल्यो । दक्षिण (हुलाकी छेउ)का बासिन्दा उत्तर सरेपछि व्यापार–व्यवसाय समेत उत्तरतिरै तानिँदै गयो । बिस्तारै राजमार्ग छेउछाउ गुलजार हुँदै गयो र हुलाकी छेउका बजार गाउँ उराठलाग्दो बन्यो।

तर भारतीय सीमासँग नजिक रहेकोले यो क्षेत्रको रौनक फेरि फर्किनेमा यस भेगका स्थानीय आशावादी छन् । ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्र गुलजार हुन्छ,’ स्थानीय राजेन्द्र यादवले भने, ‘सीमासँग जोडिएको यो क्षेत्रमा समृद्धिको सुरुवात हुन्छ ।’ यस क्षेत्रमा उत्पादित अन्न विभिन्न बजारसम्म सहजै पु¥याउन सकिन्छ।

हुलाकी सडकको सुरुवात
पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरु हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग नाम दिइएको हो । तराई मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ ।

यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने आठ सय १७ किमिको ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ एक हजार सात सय ९२ किमि पुगेको छ ।
 

प्रकाशित: ५ असार २०७५ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App