७ वैशाख २०८१ शुक्रबार
अर्थ

अन्तर्राष्ट्रिय हाउजिङ समिट सुरु

काठमाडौं - नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेलाको चौथो दिन दुईदिने अन्तर्राष्ट्रिय हाउजिङ समिट २०१८ सुरु भएको छ । समिटको पहिलो दिन विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गरेका छन्।

कार्यपत्रले व्यवस्थित, आधुनिक र वातावरण तथा प्रविधिमैत्री सहरको परिकल्पना गरेका छन् । उक्त समिटमा मलेसिया, भारत, बंगलादेश र अमेरिकाका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेको समिट संयोजक संगीता सिंहले जानकारी दिइन।

समिटको उद्घाटन कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा धेरै घर भएको ठाउँलाई सहर मान्ने चलन रहेको तर अव्यवस्थित बसोबासलाई सहर भन्न नमिल्ने बताए । सहर हुनलाई बिजुली, पानी, सडक, स्वास्थ्य जस्ता सुविधा हुनुपर्ने भन्दै यहाँ त जग्गा व्यापारीले बाटो नै नभएको ठाउँलाई पनि घडेरीको रुपमा बेचेको उनले बताए ।रोकिएको कित्ताकाटले अनुमति लिइसकेका जग्गा प्लानिङ परियोजनाहरुलाई असर पुगेको भन्दै उनले यो समस्या चाँडै हल गरिने बताए ।

उनले नयाँ भूउपोग नीति र भूमि ऐन बन्न लागेको जानकारी गराउँदै ऐन बनिसकेपछि जग्गा विकास, आवास निर्माण जस्ता परियोजनालाई सहज हुने पनि बताए ।मेला आजसम्म चल्नेछ।
घरजग्गा मेलाका प्रदर्शकसँग गरिएको संक्षिप्त कुराकानी :
बुकिङ उत्साहजनक
अध्यक्ष, बाबुराज महर्जन

सातौं घरजग्गा मेला उत्साहजनक देखिएको छ । मेलामा क्लासिकको हाउजिङ तथा अपार्टमेन्टलाई उपभोक्ताले रुचाएका छन् । व्यवस्थित बसोबास विकासका लागि क्लासिकले व्यवस्थित परियोजना सञ्चालन गरेका कारण उपभोक्ताले अपार्टमेन्टहरु बुकिङ गरेका छन् ।   
क्लासिकका १६७ फ्ल्याटमध्ये ४० वटामात्रै बाँकी छ । अरु बुक भइसकेको छ ।

अपार्टमेन्ट बुकिङ राम्रो
भिम खरेल
प्रवक्ता, सिभिल ग्रुप

३७ लाख पर्ने घरको बुकिङ सकिइसकेको छ । अपार्टमेन्टको बुकिङ राम्रो छ । योपटक वर्षातका कारण अलि समस्या देखिए पनि अवलोकनकर्ताको उपस्थिति सन्तोषजनक नै छ । आगामी दिनमा मेला वैशाखभित्र गर्दा राम्रो हुन्छ ।

पोहोरभन्दा उत्साहजनक
सुस्मा राई
मार्केटिङ अफिसर, डाउनटाउन हाउजिङ कम्पनी

हामीले अपार्टमेन्ट र घर निर्माण गरी बिक्री गर्ने नै हो । नयाँ उत्पादन डाउनटाउन रेजिडेन्सी अफर ल्याएका थियौं । यो अफर मेलामा फलदायी रह्यो ।

हामीसँग भएको ६२ वटा घरको छतमा सोलार सिस्टम जडान गरेका छौं । यहाँबाट उत्पादन हुने विद्युत् सिधै नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने सम्झौता गरेका छौं । यसले घरमा प्रयोग गरेको विद्युत्को बिल आउँदा १० प्रतिशत मात्रै तिर्नुपर्ने प्राधिकरणले कम्पनीसँग सम्झौता गरेको छ ।उपभोक्ताहरुले हाम्रो उत्पादन मन पराएका छन् । बुकिङ राम्रो भएको छ । विगतको भन्दा यो वर्ष उत्साह राम्रो छ।  

नयाँ प्रविधिका भवन
शम्भु कर्ण
सेल्स एन्ड मार्केटिङ म्यानेजर

मेलामा विगतको जस्तै उत्साह छ । हाम्रो कम्पनी र ब्रान्डको विश्वासका कारण उपभोक्ता तथा ग्राहकले पञ्चकन्याको प्रडक्ड प्रयोग गर्ने गरेका छन् । यस वर्षको मेलामा पनि अवलोकन कर्ताले पञ्चकन्याको स्टलमा विभिन्न जिज्ञासा र आफू अनकूल उत्पादन खरिद गरेका छन्।

कम्पनीले उत्पादन गरेको स्टिल तथा प्लास्टिकको उत्पादन बजारमा लोकप्रिय छन् । मेलामा यही सामान राखेका छौं । जस्ता पाता पनि राखेका छौं । अहिले विकास निर्माणमा नविनतम प्रयोग गरेका छौं । भवन तथा घर निर्माणमा नयाँ प्रविधिको प्रयोग गरेका छौं । आर्किटेक्चरले तयार पारेको नक्सामा स्टिल प्रयोग गरेर भवन बनाउने गरेका छौं । एकतले र दुईतले बनाएर धेरै ठाउँमा हस्तान्तरण समेत गरिसकेका छौं ।विद्यालय, अस्पताल, सामुदायिक भवन निर्माण गरिसकेका छौं । जाजरकोटमा हस्पिटल बनाउँदैछौं । हस्पिटल अन्तिम चरणमा छ ।

डाइकिङको बजार छ
किरण बज्राचार्य, सेल्सम्यान
जापानीज कम्पनी डाइकिङको एसी र मलेसियाको फुजी कम्पनीको एसीले मेलामा राम्रो व्यापार गरेको छ । फरक विशेषता भएका कारणले पनि उपभोक्ताले रुचाएका छन्।

नेपालमा यस उत्पादनको आधिकारिक बिक्रेता हिमाल रेफ्रिजेरेसज एन्ड इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालि हो । जापानमा उत्पादन गरिएको डाइकिङ ब्रान्डको एसीले नेपालमा सोचेभन्दा राम्रो व्यापार लिएको छ ।  
डाइकिङ एसीले प्रतिघन्टा ०.०४ युनिट मात्र बिजुली खपत गर्छ ।

प्रकाशित: ५ असार २०७५ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App