८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप फुटबलः बदलाको लक्ष्यमा जापान

जापानसँग खेल्नुअघि अभ्यास गर्दै काेलम्बियाक खेलाडी।

सरांस – कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्षअघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । समूहचरणको अन्तिम खेलमा कोलम्बियाले जापानलाई ४–१ ले पराजित गरेको थियो।

४ वर्षअघि क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको कोलम्बियाका लागि स्ट्राइकर राडामेल फाल्काओ पूर्ण रूपमा फिट हुँदै टोलीमा फर्कनु सुखद पक्ष हो । कोलम्बिया ब्राजिल विश्वकपमा देखाएको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उक्त सफलतालाई थप अघि बढाउने लक्ष्यमा हुनेछ । कोलम्बिया र पोल्यान्डलाई अघिल्लो चरण प्रवेशको बलियो दाबेदार मानिएको समूह ‘एच’ मा जापान र सेनेगल अन्य दुई टोली हुन्।

‘जापान सहज प्रतिद्वन्द्वी भए पनि हामीले सम्हालिएको प्रदर्शन गर्न आवश्यक छ,’ कोलम्बियाका मिडफिल्डर एबेल एग्युलारले भने, ‘हाम्रो टोली उत्कृष्ट छ र सबै खेलाडी क्षमतावान छन् तर हामीले सतर्क भएर खेल्न आवश्यक छ । हामी सुखद नतिजाका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छौं।’

ब्राजिल विश्वकपमा आमनेसामने हुँदा दुवै टोलीमा रहेका अधिकांश खेलाडी अहिले पनि टोलीमा छन् । ह्यामेस रोड्रिग्वेज जापानी रक्षापंक्तिका लागि सबैभन्दा खतरनाक खेलाडी बन्न सक्छन् । तर पिडुँलाको चोटका कारण उनी खेल्ने वा नखेल्ने भन्नेमा अझै दुबिधा छ । ब्राजिलमा उनले प्रतियोगिताको पाँच खेलमा ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए।

तर प्रतियोगिता लगत्तै स्पेनिस महारथी रियाल मड्रिडमा आबद्ध भएका रोड्रिग्वेजका लागि मड्रिडको तीन वर्षे बसाइ भने सुखद बन्न सकेन । उनी गत सिजन लोनमा बायर्न म्युनिख गएका थिए । सन् २००६ को जर्मनी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका रोड्रिग्वेजले सन् २०१४ मा भने आफूलाई प्रमाणित गरेका थिए । प्रशिक्षक जोजे पेकरम्यानले सन्तुलित टोली भएकाले क्वार्टरफाइनलभन्दा अघि बढ्ने विश्वास व्यक्त गरे।

यता लगातार छैटौं पटक विश्वकपमा स्थान पक्का गरेको जापान ४ वर्षअघि भोगेको हारको बदलाका साथ प्रतियोगितामा गतिलो सुरुआत गर्न चाहन्छ । ‘वर्तमान टोलीमा पहिलाको तुलनामा धेरै अनुभवी खेलाडी छन्,’ सन् २०१० र २०१४ को विश्वकपमा पनि जापानको पोस्ट सम्हालेका गोलकिपर इजी कावासिमाले भने, ‘टोलीका अधिकांश खेलाडीको यो तेस्रो विश्वकप सहभागिता हो । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलनमा हामी विश्वकप यात्रा सुखद बनाउनेमा विश्वस्त छौं।’

मिडफिल्डर केइसुके होन्डा, रक्षक अट्सुटो उचिन्डा, युडो नागामोटो र स्ट्राइकर सिन्जे ओकाजाकीका लागि यो तेस्रो विश्वपक सहभागिता हो भने अर्का स्ट्राइकर सिन्जे कागावागाका लागि दोस्रो सहभागिता हो।

नयाँ प्रशिक्षक आकिरा निस्हिनोको नेतृत्वमा रूस यात्रामा निस्किएको जापान सन् २००२ मा घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा हात पारेको सफलता दोहोर्याउन चाहन्छ । सो विश्वकपमा जापानले अन्तिम १६ सम्मको यात्रा पक्का गरेको थियो । जापान फुटबल संघले अन्तरिम प्रशिक्षक गाम्बा ओसाकाकोे स्थानमा निस्हिनोलाई प्रशिक्षकमा नियुक्त गरेको थियो।

समूह ‘एच’ कै अर्को खेलमा पोल्यान्ड र सेनेगल एकआपसमा भिड्दै छन् । यी दुई टोलीबीचको भिडन्तमा पोल्यान्डका कप्तान रोबर्ट लेबान्डोवस्की र सेनेगलका स्ट्राइकर साडियो माने आकर्षणको केन्द्र बन्ने पक्का छ । युरोपेली छनोटमा १६ गोल गरेका बायर्न म्युनिखका स्ट्राइकर लेबान्डोवस्कीले गत फेबु्रअरीमा उल्फसबर्गविरुद्ध ९ मिनेटको अन्तरमा पाँच गोल गरेका थिए । यता लिभरपुलका स्ट्राइकर मानेले गत सिजन इङ्लिस प्रिमियर लिगमा २० गोल गरेका थिए ।

दुवै टोली लामो समयको अन्तरालपछि विश्वकपमा छनोट भएका हुन् । पोल्यान्ड १२ वर्षको अन्तरालपछि प्रतियोगितामा फर्किएको हो भने सेनेगल १६ वर्षको अन्तरालपछि विश्वकपमा फर्किएको हो । सन् २००२ मा सेनेगलले पहिलो खेलमा फ्रान्सलाई १–० ले स्तब्ध पारेको थियो।

जापानीज टाेली

गोलपिकर : इजी कावासिमा (मेट्ज), मासाकी हिगासिगुची (गाम्बा ओसाका), कोसुके नाकामुरा (काशिवा रेसोल)

रक्षक : नाओमिची उडा (काशिमा एन्टलर्स), जेन शोजी (काशिमा एन्टलर्स), युतो नागातोमो (गालाटासरे), वाटारु इन्डो (उरावा रेड डायमन्डस), हिरोकी साकाई (मार्से), तोमोआकी माकिनो (उरावा रेड डायमन्डस), गोटोकु साकाई (ह्यामबर्गर एसभी), माया योशिडा (साउथह्याम्पटन)

मिडफिल्डर : केइसुके होन्डा (पाचुका), गाकु शिबासाकी (गेटाफे), जेन्की हारागुची (फोर्टुना गुसेल्डर्फ), शिन्जी कागावा (बोरुसिया डर्टमन्ड), ताकासी उसामी (फोर्टुना गुसेल्डर्फ), ताकाशी इनुई (एइबार), होटारु यामागुची (सेरेजो ओसाका), माकोटो हाबेसे (इन्ट्रयाक्ट फ्रयांकफर्ट), र्यायोटा ओशिमा (कावासाकी फ्रन्टाले)

फरवार्ड : शिन्जी ओकाजाकी (लेस्टर), योशिनोरी मुटो (मेइन्ज), युया ओसाको (एफसी कोल्न)

कोलम्बियन टाेली
गोलपिकर :
 डेविड ओस्पिना (आर्सनल), कामिलो भार्गस (डेर्पो्टिभो ला कोरुना), जोसे फर्नान्डो क्वाड्राडो (ओन्स काल्डस)

रक्षक : क्रिस्टियन जापाटा (मिलान), डेभिनसन सान्चेज (टोटेनह्याम), सान्टियागो एरियास (पिएसभी आइन्डहोभन), ओस्कार मुरिल्लो (पाचुका), फ्रयांक फाब्रा (बोका जुनियर्स), योहान मोजिका (जिरोना), येरी मिना (बार्सिलोना)

मिडफिल्डर : विल्मर बारियोस (बोका जुनियर्स), कार्लोस सान्चेज (स्पान्योल), जेफर्सन लेर्मा (लेभान्टे), होसे इज्क्विर्डो (ब्राइटन), हामेस रोडरिग्वेज (बायर्न म्युनिख), एबेल एग्विलर (डेर्पो्टिभो काली), माटियोस एरिबे (अमेरिका), हुँवा फर्नान्डो क्विन्टेरो (रिभर प्लेट), हुँवा क्वाड्रडो (युभेन्ट्स)

फरवार्ड : राडामेल फाल्काओ (मोनाको), मिगुअल बोर्जा (पाल्मेइरास), कार्लोस बाका (भिलारिएल), लुइस फर्नान्डो मरियल (सेभिया)

प्रकाशित: ५ असार २०७५ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App