७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबल : सेनेगल र पोल्याण्ड भिड्दै, जित्ने सम्भावना कसकाे कती ?

मस्को – विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार अफ्रिकी मुलुक सेनेगल र पोल्याण्ड प्रतिस्पर्धा गर्देछन्। खेल नेपाली समयअनुसार मंगलबार बेलुका ८ः४५ बाट स्पार्टक रंगशाला मस्कोमा सुरु हुँनेछ।

विश्वकप फुटबलमा अफ्रिकी मुलुक सेनेगलको इतिहास लामो छैन। अझ छदै छैन भन्दा पनि हुन्छ। जापान र दक्षिण कोरियाले २००२ मा आयोजना गरेको विश्वकप पछि सेनेगल विश्व फुटबलको रंगमञ्चमा प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो पटक हो।

एक पटकको सहभागितामै सेनेगलले विश्वका खेलप्रेमीहरुमाझ अमिट छाप छोड्न सफल भएको छ। दक्षिण कोरियाको सोलमा भएको पहिलो खेलमै तत्कालिन साविक विजेता फ्रान्सलाई १–० ले स्तब्ध बनाउँदै सबैलाई आश्चयमा पारेको थियो। त्यतिबेला बलिया मानिएका फ्रान्स र उरुग्वेको विश्वकप यात्रा समूह चरणमै सकिदाँ सेनेगल क्वार्टरफाइनल खेल्न सफल भएको थियो।

फ्रान्सबाहेक उरुग्वेसँग ३–३ तथा डेनमार्कसँग १–१ को बराबरी खेलेपछि समूह ‘ए’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको सेनेगलले स्विडेनलाई ‘सडन डेथ’मा २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। क्वार्टरफाइनलमा टर्कीसँग ‘सडेन डेथ’ मै १–० ले हारेपछि सेनेगलको एसिया भ्रमण टुंगिएको थियो।

शारिरिक रुपमा बलिया खेलाडी र तिनका संगठित प्रदर्शनका कारण सेनेगलले विश्व फुटबलप्रेमीको मन जित्न सफल भएको थियो। विश्वकपमा जस्तै सेनेगल फुटबलको पनि इतिहास धेरै लामो छैन। १९६० मा फ्रान्सको अधिनबाट स्वतन्त्र हुदै सेनेगलले विश्व मानचित्रमा छुट्टै पहिचान बनाएको थियो। त्यही बर्ष स्थापना भएको सेनेगल फुटबल संघले एक वर्षपछि १९६१ डिसेम्बर ३१ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। १९६२ मा फिफाको सदस्य बनेको सेनेगल १९६३ मा अफ्रिकन फुटबल महासंघमा आबद्ध भएको हो।

१९७० को संस्करणबाट विश्वकप खेल्ने प्रयास गरेको सेनेगलले ३२ वर्षपछि सफलता हात पार्यो। तीन दशकको प्रयासपछि पाएको मौकालाई सेनेगलले स्मरणीय बनायो। २००२ लाई सेनेगलको स्वर्णिम कालका रुपमा लिइन्छ। तर, त्यसपछि जर्मनी, दक्षिण अफ्रिका र ब्राजिलमा भएका विश्वकपमा सेनेगल छनोट हुन असफल भयो। छोटो समयमै अफ्रिकी फुटबलमा प्रभाव जमाउन सफल सेनेगल डेड दशकपछि पूनः विश्वकपमा पूनरागमन गरेको छ। र, रुसमा पनि सेनेगललाई ‘डार्क हर्स’ का रुपमा लिइएको छ।

समूह ‘एच’मा रहेको सेनेगलले पहिलो चरणमा पोल्यान्डसँगै कोलम्बिया र जापानसँग प्रतिस्पर्धा गर्नेछ। २००२ मा क्वार्टरफाइनलसम्मको यात्रा गर्दा टोलीको कप्तानी सम्हालेका एलिओ सिसे रुसमा सेनेगलको प्रशिक्षको भुमिकामा हुनेछन्। २०१५ मार्चमा प्रशिक्षकको जिम्मेवारी पाएका सिसेसँग सेनेगलको यूवा टोलीलाई प्रशिक्षण गरेको अनुभव छ।

अफ्रिकी छनोट प्रतियागिताअन्तर्गत समूह ‘डी’ मा रहेको सेनेगल अपराजित हुदै रुसको टिकट पक्का गरेको थियो। अन्तिम चरणको छनोट प्रतियोगिताका ६ खेलमा सेनेगलले ४ खेल जितेको थियो भने २ बराबरी खेलेको थियो।

२००२ को संस्करणमा सेनेगल टोलीका २३ खेलाडीमध्ये २१ जना खेलाडी फ्रान्सको लिग खेल्थे। तर यसपटक सेनेगलमा एउटै लिगभन्दा यूरोप, मध्य पुर्व र अमेरिकामा व्यवसायिक फुटबल खेलेका खेलाडीहरु छन्। लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका साडियो माने, इटालियन सिरी ‘ए’ को क्लब नेपोलीका रक्षक कोलिडोउ कोउलिबाली, वेस्ट ह्यामका चेइखोउ कोउयाटे, एभर्टनका इद्रिसा युइये, मोनाकोका केइटा बाल्डे जस्ता खेलाडीले भरिएको सेनेगलले जापान र दक्षिण कोरियामा जस्तै रुसमा पनि सनसरी प्रदर्शन दोहर्याउन सक्छ।

सेनेगल टोली
गोलकिपर : एब्लोलाये डियालो (रेनेस), खादिम एनडियाये (होरोया), अल्फ्रेड गोमिस (एसएपिएल)

रक्षक : कारा एमबोड्जी (एन्डरलेक), कालिडोउ कोउलिबाली (नेपोली), सालिउ सिस (भ्यालेन्सिनेस), सलिफ साने (ह्यानोभर), चेइखोउ कोउयाटे (वेस्ट ह्याम), युसुफ साबाली (बोर्डेउक्स), लामिने गासामा (एलानयास्पर), मुसा वागु (इयुपेन)

मिडफिल्डर : इद्रिसा युइये (एभर्टन), चेइख एनडोये (बर्मिङघम), अल्फ्रेड एनडियाये (उल्भस), बाडोउ एनडियाडे (स्टोक),

फरवार्ड : मुसा शा (बर्सास्पर), मामे बिराम डिउफ (स्टोक), साडियो माने (लिभरपुल), मौसा कोनाटे (एमिन्स), डियाफ्रा साखो (रेनेस), इस्मालिया सार (रेनेस), एमबाये नियाङ (टोरिनो), केइटा बाल्डे (मोनाको)

यता विश्वकपको इतिहासमा पोल्यान्डले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। सात पटकको सहभागितामा दुई पटक तेस्रो स्थान हासिल गरेको टोली भए पनि रुसमा जारी विश्वकपमा पोल्याण्डले लामो यात्राको आश गरेको छैन।

१९७४ र १९८२ मा गरी दुई पटक हासिल गरेको तेस्रो स्थान पोल्यान्डको विश्वकप इतिहासमा सबभन्दा ठूला उपलब्धि हुन्। तर पछिल्लो समय टोली अन्तर्राष्ट्रिय फुटबलमा खास प्रभाव जमाउन सफल भइरहेको छैन। पछिल्ला दुई विश्वकपमा छनोट हुनै नसकेको टोली विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा १२ वर्षपछि फर्किएको हो। त्यसैले अन्तिम १६ भन्दा अगाडि बढ्ने आशा पोल्यान्डकै समर्थकले पनि गरेका छैनन्।

समूह ‘एच’ मा कोलम्बिया, सेनेगल र जापानसँग परेको टोली अन्तिम १६ सम्म पुग्ने आशामा रुसको यात्रामा निस्किएको छ। समूह चरणमा सेनेगल र जापानलाई हराउने विश्वास लिएको टोलीले कोलम्बियालाई कम्तिमा बराबरीमा रोक्ने लक्ष्य बनाएको छ।

१२ वर्षको अनुपस्थिती रुसमा चिर्दा पोल्यान्डको जर्सीबाट विश्वकपमा बायर्न म्युनिखका सुपरस्टार स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र युभेन्ट्सका गोलकिपर ओजसिच एसजेन्सीहरुले डेब्यु गर्नेछन्। पछिल्लो पटक पोल्यान्डले विश्वकप खेल्दा टिममा नरहेका लेवान्डोवस्की र एसजेन्सीले यसपाली टोलीको विश्वकप यात्रालाई मैदानभित्र नेतृत्व प्रदान गर्नेछन्।

नेपोलीका फरवार्ड आर्काडिउज मिलिच, मोनाकोका रक्षक कामिल ग्लिक र भेट्रान मिडफिल्डर याकुब ब्लास्जिकोवस्कीबाट रुस यात्रामा प्रशिक्षक एडम नावाल्काले धेरै आशा गरेका हुने छन्। १२ वर्षपछि विश्वकपका लागि छनोट हुन सफल टोलीमा ठूला नाम धेरै नभए पनि सन्तुलित टिम बनेको प्रशिक्षक नाबाल्का दावी गर्छन।

युरोपेली छनोट प्रतियोगिताको समूह ‘इ’ मा रहेको पोल्यान्डले शीर्ष टोलीका रुपमा रुसको टिकट काटेको थियो। लेवान्डोवस्कीले छनोट चरणका १० खेलमा १६ गोल गर्दा पोल्यान्डले एक खेलमामात्र पराजय भोगेको थियो। १०मध्ये ८ खेलमा जित हासिल गरेको टोलीले एक बराबरी खेलेको थियो। कजाकस्तानसँग पहिलो लेगमा १–१ को बराबरी र डेनमार्कसँग दोस्रो लेगमा भोगेको ४–० को हार छनोट चरणमा पोल्यान्डका दुई असफल नतिजा थिए।

पोल्यान्डको टिमः
गोलपिकर :
 बार्टोस्ज बियालकोस्की (इप्सविच), लुकास्ज फाबियान्स्की (स्वान्सी), ओजचिच स्जजेन्सी (युभेन्ट्स)

रक्षक : यान बेडनारेक (साउथह्याम्पटन), बार्टोस्ज बेरेसजिन्स्की (साम्पडोरिया), थियागो सियोनेक (एसपिएएल), कामिल ग्लिक (मोनाको), आर्टर जेडजेज्सिक (लेगिया वार्सा), मिचेल पाज्डान (लेगिया वार्सा), लुकास्ज पिस्जेक (बोरुसिया डर्टमन्ड)

मिडफिल्डर : ज्याकुब ब्लास्जिकोभस्की (उल्फसबर्ग), जासेक गोराल्स्की (लुडोगोरेट्स राजगार्ड), कामिल ग्रोसिस्की (हल सिटी), जर्जिग्रोज क्रिचोवाइक (पिएसजी), राफेल कुर्जावा (गोनिक जाब्रजे), क्यारोल लिनेटी (साम्पडोरिया), स्लावोमिर पिस्को (लेचनिया जडान्स्क), मासिज राइबस (लोकोमोटिभ मस्को), पियोटर जिलिन्स्की (नेपोली)

फरवार्ड : डेविड कोनाच्की (साम्पडोरिया), रोबर्ट लेवान्डोवस्की (बायर्न म्युनिख), आर्का्डिउज मिलिक (नेपोली), लुकास्ज टियोडोर्सिक (एन्डरलेक)

प्रकाशित: ५ असार २०७५ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App