coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

इलाम – इलामको देउमाई नगरपालिका–३ पानीटारमा घुम्न आउने पर्यटकका लागि घरबास पर्यटनको अवधारणा अघि बढाइने भएको छ। यहाँ आउने पर्यटकलाई सस्तो मूल्यमा खान–बस्न सक्नेगरी होमस्टे व्यवस्थापन गर्न लागिएको हो। 

पानीटार पर्यटन प्रवद्र्धन तथा विकास केन्द्र स्थापना गरी यहाँ पर्यटकीय पूर्वाधार विकासका कार्यक्रम थालिएको छ। स्थानीय र विशेषगरी महिलालाई होमस्टे तालिम पनि सञ्चालन गरिएको छ। २ दिनको तालिमबाट सिकेको ज्ञान र सीप व्यवहारमा लागू गर्दै पर्यटकलाई स्थानीय संंस्कृतिअनुसारको सेवा–सुविधा योजना रहेको केन्द्रका सचिव झरेन्द्र बरालले जानकारी दिए। उनका अनुसार पर्यटकलाई अतिथिका रूपमा सत्कार गर्ने चलनलाई प्राथमिकता दिइने छ। केन्द्रको आयोजनामा शनिबार र आइतबार होमस्टे, यसको आवश्यकता तथा महत्वसम्बन्धी तालिम सञ्चालन गरिएको हो। 

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीलगायतले तालिमको सहजीकरण गरेका थिए। सहभागीलाई प्रयोगात्मक तालिमअन्तर्गत होमस्टे, अतिथि सत्कारको चलनलगायतबारे ज्ञान तथा सीप सिकाइएको छ। होमस्टे सञ्चालन भइरहेको इलामकै अन्तु गाउँमा पुर्याएर सहभागीलाई अवलोकनसमेत गराइएको उनले बताए। 

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै देउमाई नगरपालिकाका मेयर सूर्य पोख्रलले पर्यटन प्रवद्र्धनका लागि पानीटार क्षेत्रले थालेको कामको प्रशंसा गरे। ‘राज्य तथा स्थानीय तहले सधैं यस्तो सकारात्मक काममा सहयोग गर्नेछ,’ उनले भने। तालिममा स्थानीय ४० जनाको सहभागिता थियो।

आकर्षक चियाबारी, वनभोजस्थललगायतले पानीटार पर्यटकीय महत्वको मानिन्छ। स्थानीयस्तरमा होटल, लजहरू नभएका कारण होमस्टे सञ्चालन गर्ने केन्द्रको योजना छ।

प्रकाशित: ४ असार २०७५ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App