८ वैशाख २०८१ शनिबार
समाज

छाउला सबैको अनुहारमा मुस्कान ?

इलामको पर्यटकीय क्षेत्र कन्याम चियाबारी।   तस्बिर : भीम/नागरिक

‘१ नम्बर प्रदेशको सान, सबैको अनुहारमा मुस्कान’ 
इलाम – आउँदो आर्थिक वर्ष २०७५–०७६ मा १ नम्बर प्रदेशलाई ‘समृद्ध’ बनाउने प्रदेश सरकारको पर्यटन नारा हो यो। प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक गरेको ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि ८९ करोड रुपैयाँ विनियोजित छ। र, २ हजार जनालाई रोजगारी दिनेगरी दर्जनौं योजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ। 

देशका काठमाडौं, चितवन र पोखरा मात्रै पर्यटनको ‘पर्याय’झैं बनिरहेका बेला प्रदेश सरकारले पूर्वको पर्यटन विकासमा इँट्टा थप्ने योजना ल्याएको छ। तर, सबैको अनुहारमा ‘मुस्कान’ ल्याउन चाहिँ यति नै बजेट पर्याप्त नहुने पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीको प्रतिक्रिया छ। 

विराटनगरका अगुवा पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ प्रदेश सरकारले ल्याएको बजेटले धेरै क्षेत्रलाई समेटेको बताउँछन्। ‘कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी छ तर अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्रको बजेट राम्रो छ। यी कार्यक्रम कार्यान्वयन भए सरकारको नाराअनुसार सबैको अनुहारमा मुस्कान ल्याउन सम्भव छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमै २ हजारलाई रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य सरकारको देखिन्छ, यो प्रशंसायोग्य छ।’

श्रेष्ठले अझ भारतीय सीमावर्ती सहररूका प्रदेश १ को परिचय दिने उद्देश्यले डेस्क राख्ने कार्यक्रम पनि ल्याउनु उपयुक्त हुने सुझाव दिए। ‘पर्यटनमा चाहिने भनेको पूर्वाधार नै हो, पूर्वाधार विकासमा यो बजेटले राम्रो काम गर्छ भन्ने लाग्छ,’ उनले भने, ‘बजेटले त यी सबै काम गर्न पुग्दैन तर सुरुआत मात्रै गरियो भने पनि केही वर्षपछि ती काम सम्पन्न गर्दा पूर्वको पर्यटनमा टेवा पुग्छ।’     

प्रदेश सरकारले सन् २०१८ लाई पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार, पूर्वाधार निर्माणको अध्ययन वर्ष बनाउने, सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र सन् २०२० लाई पर्यटन पूर्वाधार निर्माण वर्ष घोषणा गर्दै ५ वर्षभित्र ५ लाख पर्यटक यो क्षेत्रमा ल्याउने लक्ष्यसहित कार्यक्रम ल्याएको छ। पर्यटनका योजनाले विशेषगरी पहाडी र हिमाली जिल्लालाई बढी छोएको छ। इलाम, ताप्लेजुङ, धनकुटा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, भोजपुरलगायतका जिल्लामा पर्यटन पूर्वाधारका कार्यक्रम छन्।

विराटनगर विमानस्थललाई संघीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय उडान भर्न सक्नेगरी स्तरोन्नति गर्न विस्तृत सर्वेक्षण गर्ने, प्रदेशका सबै विमानस्थलले विराटनगर विमानस्थलबाट उडान सेवा लिन–दिन सक्ने बनाउने, विराटनगरबाट माउन्टेन फ्लाइटसमेतको सेवा सञ्चालन गरी पर्यटक आकर्षित गर्ने योजना बजेटमा छ। भद्रपुर विमानस्थलको स्तरोन्नति, धरान, उदयपुर, धनकुटा, तेह«थुम र पाँचथरमा विमानस्थल निर्माण अघि बढाउने, अन्य आवश्यक स्थानमा पनि विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने र प्राकृतिक प्रकोपमा उद्धारका लागि उपयुक्त स्थानमा हेलिप्याड निर्माण थालनीको योजना बजेटमा उल्लेख छ। 

इलामस्थित मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली १ नम्बर प्रदेशमा भौतिक पूर्वाधार नै पर्यटन विकासको प्रमुख चुनौती रहेको बताउँछन्। ‘साँच्चीकै पर्यटकीय पूर्वाधार निर्माण गर्ने हो भने ८९ करोडको बजेट एउटै स्थललाई लाग्छ,’ उनले भने, ‘तर, जहाँका लागि आवश्यक छ, त्यहाँ खर्च गर्ने हो भने अहिलेको बजेट सानो रकम पनि होइन।’ 

धौरालीले पूर्वका विशेषगरी पहाडी जिल्लामा ट्रेकिङ रुटका योजना सञ्चालन गर्नु जरुरी रहेको बताए। ‘ठूलो सडकको सुविधा नपुगेका स्थानमा ट्रेकिङ रूट उपयुक्त हुन्छ, पहाडी र हिमाली जिल्लामा ट्रेकिङ गर्न आउनेको संख्या धेरै छ,’ उनले भने, ‘धेरै स्थानमा भ्यु पोइन्ट, पोखरी र ताल संरक्षण गर्नु आवश्यक छ, पहाडी र हिमाली क्षेत्रमा पर्यावरणीय पर्यटनको विकास गर्न सके ती क्षेत्रका बासिन्दाको मुहारमा मुस्कान आउने छ।’ 

सरकारले केही क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न धार्मिकसहितका पर्यटकीय सर्किट नेटवर्किङको अवधारणा ल्याएको छ। कोसीटप्पु, बर्जुताल, तालतलैया, इटहरी, रामधुनी, बराहक्षेत्र, विष्णुपादुका, बुढासुब्बा, पिण्डेश्वर क्षेत्रलाई बराह–विजयपुर सर्किट बनाउने कार्यक्रम बजेटमा छ। 

हलेसी, छिन्ताङ, बराहपोखरी, माइपोखरी, माङ्सेबुङ, सिलौटी, लब्रेकुटी र पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटका रूपमा विकास गर्ने, सगरमाथा, मकालु बरुण तथा कञ्चनजंघा राष्ट्रिय निकुञ्ज, फिक्कल, कन्याम, अन्तु, नमस्ते झरना, भेडेटार, नाम्जे, राजारानी ताल, ट्याम्के, मिक्लाचोङ, तीनजुरे–मिल्के–जलजले, सन्दकपुर, सभापोखरी, गुफापोखरी, मैयुँ र सोलु पत्ताले, विराटराजाको दरबार, किरात राजाको दरबार, गोलमाराजा–गोलमारानी, नागछाँगा, संखामचुली, धनपालथान, सुनावर्सी, तुवाचुङ, बेलबारी बेतेनी, जामुनखाडी, केचनाकवलको पूर्वाधार विकास गरी नेटवर्किङ विकास गर्ने योजना सरकारको छ। 

फुङलिङ–पाथीभरा, धरान–भेडेटार, जयरामघाट–हलेसी, फाप्लु–लुक्ला, नाम्जे–सगरमाथा बेसक्याम्प, बाह«बिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाचोङ, अन्तुडाँडा, मंगलबारे, माइपोखरीलगायत स्थानमा केबलकार, चतरा–किमाथांका र चतरा सुनकोसी जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ। सन्दकपुर र राँकेबाट कञ्चनजंघा बेसक्याम्पसम्म, चतरा बराहक्षेत्रबाट भोजपुर हतुवागढी, किरात दरबार शंखामचुली, ट्याम्के मैंयु हासपोखरी, साल्पा सिलिुचङ हुँदै सगरमाथा र मकालु बेसक्याम्पसम्मको सर्किटमा पर्यटकीय पदमार्गको सम्भाव्यता पहिचान गरिँदैछ।  

तर, यसअघि योजना धेरै बजेट कम हुँदा पर्यटनका धेरै योजना प्रभावकारी हुन नसकेको अनुभव धौराली सुनाउँछन्। ‘बरु बजेट अलि बढी नै लागोस्, थोरै योजनालाई दिगो बनाउनेगरी काम गर्नुपर्छ,’ उनले भने, ‘बजेट थोरै–थोरै बाँड्दा बनिसकेका योजनामा गुणस्तर नभएर धेरै समय नटिक्ने अनुभव हामीलाई छ।’

तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानी बनाउने, मेची, कोसी र सगरमाथा रुटका १ सय समूहलाई होमस्टे, सूर्याेदय नगरपालिकालाई चियाको राजधानी बनाउने, पासाङल्हामु खुम्बु गाउँपालिका र नाम्जे क्षेत्रको साँगुरीगढीलाई पूर्वाधार विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना बजेटमा आएका छन्। अरुण, तमोर, सुनकोसी र दूधकोसीमा जलयातायात, साहसिक पर्यटन, प्याराग्लाइडिङ, र्याफ्टिङ, क्यानोनिङ, बञ्जी जम्प, रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन, पर्यटकीय सहरको सम्भाव्यता अध्ययन र ऐतिहासिक सहिदभूमिलाई नमुना गाउँ बनाएर पर्यटक आकर्षित गर्ने योजना प्रदेश सरकारले ल्याएको छ।

प्रकाशित: ४ असार २०७५ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App