४ वैशाख २०८१ मंगलबार
अर्थ

गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले गती लिंदै

भैरहवा विमानस्थलमा निमार्णधिन टर्मीनल भवन र जहाज पार्किङ स्थल। तस्विर: रेखा

बुटवल-  भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामले गती लिएको छ। यस अघि विभिन्न बहानाम ढिलाई भएको विमानस्थलको निर्माण हालसम्म ४५ प्रतिशत बढी सकिएको आयोजनाले जनाएको छ।

विमानस्थलमा धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर, जहाज पार्किङ्गस्थलको काम तिव्र रुपमा अगाडि बढेको छ। आयोजनास्थलमा ७०/८० जना चिनियाँ प्राविधिक सहित करिब २ सय  कामदार कार्यरत छन्। हाल धावनमार्गमा बेसकोर्सको काम भइरहेको छ। पहिलो चरणको सबग्रेड र सबवेसको काम सकेर बेसकोर्षको काम सुरु भएको विमानस्थल निमार्ण आयोजनाका प्रमुख इन्जिनीयर ओम शर्माले बताए। असोजदेखि पीचको काम थालिने र फागुनमा सक्ने आयोजनाको लक्ष्य छ। त्यसकालागि आवस्यक सबै निमार्ण सामाग्रीको जोहो गरीसकेको शर्माले बताए। जहाज पार्कीङस्थलको ढलान कार्य एक चौथाइ सकिएको छ। रनवे फेन्सिङको काम भइरहेको छ। प्रशासनीक भवनको पहिलो तला ढलान भएको छ।

डिपार्चर र अराइभल टर्मिनल भवन दोश्रो स्लाब ढलानको तयारीमा छ। यी भवनको काम मंसिरमै सक्ने योजना  छ। ‘धावन मार्गको पिच र टर्मिनल भवनको छाना राख्ने काम असोजदेखि समानान्तर रुपमा अगाडि बढ्छ। माघ/फागुनसम्म ती काम सक्नेछौं’ आयोजना प्रमुख शर्माले भने। कन्ट्रोल टावरको काम भने असोजमै सक्ने उनले बताए।

सिभिल र्वक अन्तर्गत जग उठाउनेदेखि भवन निमार्ण, पार्कीङ, रनवेको सवबेस, वेस जस्ता समय र श्रम धेरै लाग्ने काम सकिएकाले अवको निर्माणले छिटो गती लिने विश्वास लिइएको छ। हालको सिभिल वर्क भित्र प्याकेज टु अन्तर्गत करिब २५ प्रतिशत इलेक्ट्रो मेकानिकलसंग सम्बन्धित काम छ। आयोजना प्रमुख शर्माले निमार्ण र इलेक्ट्रो मेकानिकलको कामलाई समानान्तर रुपमा अगाडि बढाएर छिटो सक्ने योजना रहेको बताए।

आयोजनाका अनुसार गत जेठको कार्य प्रगती साढे ५ प्रतिशत छ। ‘२०१९ को जुन सम्म निर्माण सकेर अप्रेशनमा जाने हाम्रो मुख्य लक्ष्य हो। लक्ष्य अनुसारको प्रगती भइरहेकाले त्यसलाई मिट गर्छौ भन्ने विश्वास छ’ इन्जिनीयर शर्माले भने। आगामी बर्षको जुन सम्म गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलको संरचनागत निर्माणले पूर्णता पाउने र २०१९ लाई संचालन वर्षको रुपमा घोषणा गर्ने दावी आयोजना प्रमुख शर्माको छ। 

त्यसकालागि दोश्रो चरणमा कम्युनिकेसन–नेभिगेसन सिस्टमको इन्स्टलेशनकालागि आइसिपि ०२ को पनि ग्लोबल टेण्डर गर्ने तयारी आयोजनाले गरेको छ। असार मसान्त भित्रै ग्लोबल टेण्डरको तयारी उड्ययन प्राधिकरणले गरेको हो। दोश्रो प्याकेज अन्तर्गत हवाई संचारकालागि कन्ट्रोल टावरमा प्राविधिक उपकरण जडान लगायत अन्य अत्याधुनिक उपकरण जाडनका काम हुने छ। राडारको भने छुट्टै प्याकेजमा काम हुने आयोजनाले बताएको छ। आइसिपि ०२ को टेण्डर प्रक्रियाकालागि ४ महिना र सो अन्तर्गतको काम सक्न थप ४ महिना गरी ८ महिनामा काम पुरा हुने  आयोजनाले जनाएको छ।

भारत सरकारको सहयोगमा २०२३ सालमा निर्माण भएको विमानस्थललाई स्तरोन्नती गरी अन्तराष्ट्रिय विमानस्थल बनाउने काम चार बर्ष अघि सुरु भएको हो। पहिलो चरणमा भौतिक निर्माणकालागि चाइनिज कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजारमा ठेक्का पाएको हो। सुरुको सम्झौतामा २०१७ को डिसेम्बरमा निर्माण सक्ने भनिएपनि नाकाबन्दी, मधेश आन्दोलन,निर्माण सामाग्रीको अभाव र मुल र सहठेकेदारको लेनदेन बिबादले आयोजनाको काम अवरुद्ध भएको थियो। गत बर्ष सहठेकेदार नेपाली कम्पनी बाहिरीएपछि चिनियाँ कम्पनीले व्यवस्थापक परिर्वतन गरी कामलाई तिब्रता दिएको हो।

यो विमानस्थलमा ६० मिटर चौडाइको ३ हजार मिटर लामो धावनमार्ग, १९ सय मिटर लम्बाइको ट्याक्सी वे,कन्ट्रोल टावर,अन्तराष्ट्रिय स्तरकै टर्मिनल भवन,प्रशासनिक, एयर कार्गो भवन बन्दैछ। एयरपोर्ट एक्सेस रोड, सुरक्षा पोष्ट, आन्तरिक तथा बाह्य सडक, अग्नी नियन्त्रण र मेन्टिनेन्स भवन बन्ने छन्। त्रिभुवन विमानस्थलको विकल्पका रुपमा समेत हेरीएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा काठमाडौंमा ओर्लीन सबै विमानहरु उडान अवतरण गर्न सक्ने छन्।

 

प्रकाशित: ४ असार २०७५ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App