coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यासेडोनिया विवाद समाधानका लागि ऐतिहासिक सम्झौता

म्यासेडोनिया नामलाई लिएर ग्रिस र म्यासेडोनियाबीच दशकौं लामो विवाद समाधानका लागि आइतबार भएको ऐतिहासिक सम्झौतापछि हात मिलाउँदै ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रास (बायाँ) र म्यासेडोनियाका प्रधानमन्त्री जोरान जाएभ । तस्बिर : बिबिसी

एथेन्थ– ‘म्यासेडोनिया’ नामलाई लिएर ग्रिस र म्यासेडोनियाबीच रहेको दशकौं लामो विवाद समाधानको उद्देश्यसहित दुई देशबीच ऐतिहासिक सम्झौता भएको छ ।म्यासेडोनिया र ग्रिसबीच भएको सम्झौताअन्तर्गत ग्रिसको छिमेकीलाई अब उप्रान्त उत्तरी म्यासेडोनियाको नामले चिनिनेछ।

‘सम्झौता साहसिक, ऐतिहासिक र हाम्रा जनताका लागि महत्वपूर्ण कमद हो,’ दशकौं लामो विवाद समाधानका लागि ऐतिहासिक सम्झौतापछि ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले गरेको सम्बोधनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।पूर्व युगोस्लाभिया टुक्रिएदेखि म्यासेडोनियाको नामलाई लिएर हुने विवाद थप बढेको थियो । युगोस्लाभिया टुक्रिनुभन्दा अघि त्यसकै भाग रहेको म्यासेडोनिया विवादकै कारण नाटो र युरोपेली संघमा आबद्ध हुन रोकिएको थियो ।

म्यासेडोनिया नामको प्रयोग गरेर छिमेकीले आफ्नो देशको उत्तरी प्रान्त जसलाई म्यासेडोनिया भनिन्छ त्यसमाथि पनि दाबी गर्न खोजेको आरोप ग्रिसले लगाउँदै आएको थियो । प्रदर्शनकै बीच दुवै देशका नेताले गत मंगलबार सम्झौताको घोषणा गरेका थिए र त्यसबारे सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।ग्रिसको उत्तरी सीमामा पर्ने प्रसेपा तालमा दुई देशका विदेशमन्त्रीबीच म्यासेडोनिया नामलाई लिएर भइरहेको दशकौं लामो विवाद समाधान गर्ने उद्देश्यसहित आइतबार गरिएको सम्झौता ग्रिसका प्रधानमन्त्री सिप्रास र उनका म्यासेडोनियन समकक्षी जोरान जाएभले हेरेका थिए ।

दुई देशबीच भएको सम्झौतालाई दुवै देशको संसदले पारित गर्नु पर्नेछ । संसदले पारित गरेपछि मात्रै आइतबारको सम्झौता कार्यान्वयनमा आउने छ भने म्यासेडोनियामा भने संसदले पारित गर्नुबाहेक जनमत संग्रह पनि गरिनुपर्छ । ग्रिस र म्यासेडोनियाबीच भएको सम्झौतालाई दुवै देशका राष्ट्रवादीले भने देशको पहिचान मेट्ने कार्य भएको भन्दै आलोचना गरेको बिबिसीले जनाएको छ।

म्यासेडोनियासँग सम्झौता गर्नुपूर्व ग्रिसका प्रधानमन्त्री सिप्रासले शनिबार देशको संसदसमक्ष विश्वासको मतको सामना गर्नु परेको थियो । उनीविरुद्ध कैयौं सुविधा लिएको आरोप लागे पनि म्यासेडोनिया विवाद समाधानका लागि सम्झौता गर्न उनले विश्वासको मत प्राप्त गर्न सफल भएका थिए ।

लगभग तीन दशकको विवादपछि ग्रिसको छिमेकी म्यासेडोनियाको नाम अब चाँडै नै उत्तर म्यासेडोनिया हुनेछ । ग्रिस र म्यासेडोनिया विवाद समाधानका लागि लामो समयदेखि सक्रिय रहेका संयुक्त राष्ट्रसंघीय मध्यस्तकर्ता म्याथ्यु निमेजले खुसी व्यक्त गरेका छन् । उनले दुवै देशका प्रधानमन्त्री र विदेशमन्त्रीले राजनीतिक सहास, दूरदर्शीता र कूटनीतिक कौशल देखाएको प्रतिक्रिया दिएका छन् ।

आइतबारको सम्झौताअनुसार संयुक्त राष्ट्रसंघमा पूर्व युगोस्लाभ गणतन्त्र म्यासेडोनिया (फाइरम) भनेर चिनिने देश अब सभेर्ना म्याकेडोनिजा वा गणतन्त्र उत्तर म्यासेडोनिया भनेर चिनिने छ । उत्तर म्यासेडोनियाको आधिकारिक भाषा म्यासेडोनियन र त्यहाँका नागरिकलाई म्यासेडोनियन्स भनिने छ । सम्झौताअनुसार अब ग्रिसले नयाँ नामसहित म्यासेडोनियालाई युरोपेली संघ र उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)मा आबद्ध हुन कुनै अवरोध गर्ने छैन।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा म्यासेडोनिया नामको विवाद समाधानका लागि ऐतिहासिक सम्झौता गरे पनि नाम परिवर्तन गर्ने विषय आधिकारिक हुन अझै केही प्रक्रिया बाँकी रहेको बिबिसीले जनाएको छ । उत्तर म्यासेडोनिया कामय गर्नका लागि सर्वप्रथम म्यासेडोनियाको संसदले नामलाई पारित गर्नु पर्नेछ । त्यसपछि यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा हुने जनमत संग्रहले नामलाई पारित गर्यो भने मात्रै ‘उत्तरी म्यासेडोनिया’ले आधिकारिकता पाउने छ ।

नयाँ नामलाई म्यासेडोनियन नागरिकले अनुमोदन गरे भने सरकारले संविधान संशोधन गर्नु पर्नेछ, जुन ग्रिसको प्रमुख माग पनि हो । म्यासेडोनियाका राष्ट्रपति जर्ज इभानोभले सम्झौतामाथि हस्ताक्षर गर्न नमानिरहेका कारण अवस्था अझै जटिल रहेको बिबिसीले जनाएको छ । उनीसँग सम्झौतामाथि भिटो (विशेषाधिकार) प्रयोग गर्न पाउनेसम्मको अधिकार रहेको छ तर त्यस्तो भिटो अनिश्चित कालसम्मका लागि भने लगाउन पाइँदैन ।

 

प्रकाशित: ४ असार २०७५ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App