१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘पिलाछें’मा ठडिए २७ नमुना घर

ललितपुरको ऐतिहासिक बस्ती पिलाछेंमा २७ नमुना घर ठडिएका छन् । भुकम्पले ध्वस्त भएका ८२ घरमध्ये बनेका यी घर नमुना र परम्पराग शैलीका छन् । घर निर्माण भएसँगै होमस्टेको तयारी थालिएको छ । आउँदाे  कार्तिकसम्ममा यस क्षेत्रमा नेवारी भेषभुषासहितको होमस्टे सञ्चालन हुनेछ।

अन्य बन्न बाँकी घरको स्वरुप पनि यस्तै हुनेछ । पिलाछेंमा सातवटा चोक छन् । यी चोकमा बन्ने सबै घरको रुप मौलिक र नेवारी शैलीको छ । बस्ती पुनर्निर्माणको जिम्मा पाएको ‘पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रवर्द्धन परियोजना’ले लिएको थियो । काम सुरु गरेको डेढ बर्षको अवधिमा परियोजनाले २७ घर निर्माण सरिसकेको परियोजनाका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

उनका अनुसार ठूलो बहाल र सानो बहाल चोकका घर निर्माण भएका हुन् । अन्य १५ घर निर्माणको काम पनि सकिन लागेको छ । ‘यो बस्ती अन्य बस्ती भन्दा धेरै नै पृथक छ,’ उनले भने, ‘यहाँका घरैपिच्छे नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू हुनेछन्, वस्ती पुनर्निर्माणका लागि स्थानीयले परियोजनासँग हातेमालो गरिरहेका छन् ।’ उनले कात्तिकदेखि नेवारी भेषभुषा सहित पर्यटकलाई बस्ने र खाने व्यवस्था हुने बताए।

यो बस्ती करिब सय रोपनीमा क्षेत्रफलमा फैलिएको छ । यहाँ बन्ने ८२ वटै घर  पर्यटकीय रुपमा रहनेछन् । महर्जनले भने, ‘अन्य घर डेढ बर्षसम्ममा पुनर्निर्माण गरिसक्छौं, २२ घरको दोश्रो तलका काम भइरहेको, ७ वटाको जग हाल्ने काम भइरहेको, ८ वटा घर बस्नका लागि तयार हुने अवस्थामा छन् ।’ उनले केही ठाउँमा घरको भग्नावशेष हटाउने काम भइरहेको जानकारी दिए।

हालसम्मको निर्माण कार्यमा चार करोड सकिएको छ । ५० करोड लागत स्टीमेटमा सुरु भएको बस्ती पुनर्निर्माणमा स्टीमेट भन्दा कम रकम खर्च हुने अनुमान परियोजनाले राखेको छ । परियोजना सचिव महेन्द्र महर्जनले नमुना बस्तीका रुपमा पुनर्निर्माण गर्ने चासो स्थानीयले देखाएको बताए । उनले पुनर्निर्माण पछि उपत्यकाभित्रको फरक वस्तीका रुपमा पिलाछेंलाई हेरिने जानकारी दिए ।

उनले भने, ‘पुनर्निर्माण सकिएका बस्तीमा केही समयपछि होमस्टे सञ्चालन हुन्छ अन्य बस्तीलाई पनि यसरी नै होमस्टेको रुपमा विकास गर्दै जान्छौं ।’ उनका अनुसार नमुना बस्तीको अवधारणा तयार गर्दा टोलका केहि अगुवाहरुले उपत्यकाकै फरक र मौलिक बस्ती बन्ने भनि स्थानीयलाई आश्वस्त पारेका थिए । भूकम्पले ध्वस्त पारेको बस्ती पर्यटकीय रुपमा विकास हुन थालेसँगै स्थानीय खुशी छन् । उनीहरु आफ्नो घरमा होमस्टे बनाई पाहुँनाको स्वागत गर्न आुतर छन् ।  सक्दो चाँडो पुनर्निर्माण गरी नमुना बस्तीको रुपमा चिनाउन सुरुवात देखि नै पिलाछेंवासी कस्सिँदै आएका छन्।

ऐतिहासिक र सांस्कृतिक सम्पदाको केन्द्रमै पुनर्निर्माण हुन लागेको पिलाछेँ बस्तीलाई पर्यटकीय विकासमा महत्वका साथ पनि लिइएको छ । नमुना बस्ती पुनर्निर्माणका लागि २५ प्रतिशत स्थानीय घरधनीबाट, २५ प्रतिशत भौतिक सामग्री र स्वयंसेवकको श्रमदान, २५ प्रतिशत माया फाउन्डेसन र बाँकी सहुलियत ऋण प्रवाह गर्ने योजनाका साथ काम अघि बढेको थियो । पुनर्निर्माणमा आर्थिक सहयोगका लागि वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले तिलगंगा फाउन्डेसनका तर्फबाट चार करोड रुपैयाँ सहयोग गरेका छन् ।

च्वाइस नेपालले ५० लाख रुपैयाँ, व्यवसायी तीर्थलाल महर्जन र ले ५० हजार इँटा सहयोग गरेका छन् । ललितपुर चिम्नी इटा उद्योगले ५० हजार इटा प्रदान गरेको छ भने अन्य निर्माण सामग्री विक्रेताले सिमेन्ट उपलब्ध गराएका छन् । नमुना वस्तीको इन्जिनियरिङको पार्टको सिई कन्स्ट्रक्सन र सिई सोलसुन्सले सहयोग गर्दै आएको छ।

कस्तो बस्ती हो पिलाछें ?
यो मल्लकालीन ऐतिहासिक बस्ती हो । कला, संस्कृति र परम्परामा धनी भएर पनि समयको चाप पछ्याउन नसक्दा पिलाछें ओझेल परेको थियो । अब भने पुरानै अवस्थामा पुग्नेछ अनुमान गरिएको छ । भूकम्पले क्षति भएको पिलाछेँ टोल ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि सम्पन्न नेवारी बस्ती हो । यो टोलमा ४० वटा बहाल रहेका छन्।

पाँच रोपनीमा फैलिएको भिन्छेँ बहाल प्रस्तर कलाका क्षेत्रमा पनि परिचित छ । बस्तीभित्र सातवटा चोक पनि छन् । यी चोकहरुको आ–आफ्नै महत्व छ । पुनर्निर्माण पश्चात यहाँ विशुद्ध नेवारी कल्चर भेटिने छ । यहाँ रातमा बस्ने सुविधासहितको होमस्टे सञ्चालन हुनेछ । राष्ट्रिय योजना आयोगले यहाँको ऐतिहासिक पक्षलाई हेरेर नमुना बस्तीका रूपमा छनोट गरेको थियो।

अवधारणा अनुसार यो वस्तीका ८२ घरलाई नेवारी संस्कृति र कला झल्किने गरी पर्यटकीय केन्द्रको रुपमा पुनर्निर्माण गर्न लागिएको हो । अहिले यस बस्तीको भूकम्पप्रतिरोधी तबरले पुनर्निर्माण भइरहेको छ । राष्ट्रिय योजना आयोगले पनि भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गरेपछि पुनर्निर्माणमा  स्थानीय अग्रसर भएका थिए ।

प्रकाशित: ४ असार २०७५ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App