coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

समरमा फ्ल्याट स्लिपर्स

समर सिजनमा ग्राहकले लुगाकपडा मात्रै होइन, चप्पल (स्लिपर्स) समेत सहज हुने खालका रोज्ने गरेको बताउँछन्, कुमारीपाटीमा जुत्ता पसल चलाउँदै आएकी गयाजी महत । उनले जुत्ता तथा चप्पल व्यवसाय गर्दै आएको १० वर्षभन्दा बढी भइसक्यो ।
समय अनुसारको जुत्ता तथा चप्पल बेच्ने गरेको उनी बताउँछिन्।

उनको पसलमा मौसम अनुसारको विभिन्न प्रकारका फेसनेबल जुत्ता चप्पल पाइन्छन् । पसलमा हाइ हिल, फ्ल्याट, स्यान्डल, वर्क फ्ल्याटलगायत विभिन्न डिजाइनका चप्पल पाइने गरेको उनी बताउँछिन् । ‘ग्राहकहरू मौसम अनुसारको जुत्ता, चप्पल खोज्न आउँछन्,’ उनी भन्छन्, ‘यसपाली गर्मीमा हलुका खालका फ्ल्याट चप्पल आएको छ।’

लुगाकपडा मात्र होइन, जुत्ता चप्पल पनि फेसनेबल लगाउनेको जमात दिनहुँ बढ्दै गएको उनी बताउँछिन् ।पछिल्लो समय फेसनमा आफूलाई अभ्यस्त गराउनेको जमात बढ्दै गएको छ । चप्पल किन्न आउने ग्राहकले पनि विभिन्न डिजाइनका खोज्ने गरेको व्यापारी बताउँछन् ।

पाटनकी सविना महर्जन पनि फेसनमा निकै चासो राख्छिन् । फेसनलाई एकदमै महŒव दिने उनी मौसम अनुसारको फेसन गर्ने बताउँछिन् । ‘म मौसम अनुसारको फेसन गर्छु,’ उनी भन्छिन्, ‘जाने ठाउँले गेटअप निर्धारण हुन्छ ।’ उनी जुत्ता चप्पल प्रायः किनिरहन्छिन् । मौसम अनुसारका चप्पल लगाउने गरेको उनी बताउँछिन् । उनी समर सिजनमा भने फ्ल्याट जुत्ता, चप्पल लगाउँछिन् । ‘गर्मी मौसममा पसिना आउने भएकाले फ्ल्याट लगाउँदा सजिलो लाग्छ,’ उनी भन्छिन्, ‘पानी पर्दा पनि फ्ल्याट नै उपयुक्त हुन्छ ।’

न्युरोडस्थित शिवशक्ति इम्पोरियमका संचालक हुन्, रविन्द्रकुमार बोहरा । उनले जुत्ता चप्पलको व्यापार गरेको २० वर्ष भइसकेको छ । ‘२० वर्षमा चप्पलमा निकै परिवर्तन आएको छ,’ उनी भन्छन्, ‘अहिले मौसम र माहोल अनुसारको चप्पल खोज्न आउँछन्।’

अहिले चप्पलको भेराइटिज पनि बढेको उनी बताउँछन् । बच्चा मात्र होइन, पाकाको रोजाइ पनि बदलिएको उनको बुझाइ छ । ‘चप्पलको भेराइटिज निकै बढेको छ,’ उनी भन्छन्, ‘चप्पलका क्वालिटी पनि फरकफरक छन् ।’ उनका अनुसार आरामदायी र नरम चप्पलको माग बढी छ । माग बढी भए पनि चप्पल सुपथ मूल्यमै पाइने गरेको उनी बताउँछन् । ‘नेपाली बजारमा विशेष गरी जुत्ता चप्पल चीनबाट आयात हुन्छ,’ उनी भन्छन्, ‘त्यहाँ उत्पादित चप्पल फेसनेबलसँगै सुपथ मूल्यमै पाइन्छ ।’

समर सिजनमा ग्राहकले लुगाकपडा मात्रै होइन, चप्पल (स्लिपर्स) समेत सहज हुने खालका रोज्ने गरेको बताउँछन्, कुमारीपाटीमा जुत्ता पसल चलाउँदै आएकी गयाजी महत ।

असनको एक पसलमा चप्पल छान्दै गरेकी थिइन्, नयाँ बजारकी राधा बाँनिया (५५) । उनले खैरो रङको फ्ल्याट चप्पल किनिन् । ‘हेर्दा राम्रो भन्दा पनि लगाउँदा सजिलो हुने चप्पल लगाउन मन पर्छ,’ उनी भन्छिन्, ‘त्यसैले हिँड्दा खुट्टा नदुख्ने नरम खालको सोल भएको चप्पल लगाउँछु ।’

फ्ल्याट चप्पल मनपराउने अर्की महिला हुन्, ज्ञानु पान्डे । उनी प्राइभेट स्कुलमा काम गर्छिन् । हिँडडुल गर्नुपर्ने भएर सामान्य फ्ल्याट चप्पल लगाउने गरेको उनी बताउँछिन् । उनी भन्छिन् ‘पानी पर्ने मौसममा प्लास्टिकको चप्पल लगाउँछु । अरु चप्पल त पानीले बिगार्छ । यो चप्पल टिकाउ र सस्तो पनि छ ।’  चिसो मौसममा न्यानो खालको जुत्ता लगाउने उनी बताउँछिन् । गर्मी मौसममा भने उनी हलुका खालको पलास्टिकको चप्पल लगाउँछिन् ।

संकटाकी व्यापारी कमला शर्माका अनुसार उमेर अनुसार ग्राहकको रोजाइ फरक हुने बताउँछिन् । उनी भन्छिन्, ‘अधबैशै उमेरका महिलाले लगाउन सहज हुने खालका चप्पल रोज्छन् भने युवतीहरूले फेसनेबल ।’ गर्मी मौसममा छालाभन्दा प्लास्टिकका चप्पलको माग बढी हुने गरेको उनी बताउँछिन् ।

सहरिया जीवनशैलीमा समय अनुसारको चप्पल प्रयोग गरिन्छ । घरमा रहँदा एक र बाहिर जाँदा अर्काे चप्पल लगाउने गरिन्छ । पछिल्लो समय चप्पल छनोटमा युवतीहरू सचेत भएको व्यापारी बताउँछन् । अचेल कुन डे«सअपमा कस्तो चप्पल लगाउनेमा पनि युवतीहरू सचेत छन्।

रिना शर्मा विद्यार्थी हुन् । उनी फ्ल्याट चप्पल लगाउँछिन् । उनी समरमा लगाइने लुगामा हलुकै खालको चप्पलको लगाउन रुचाउँछिन् । समरमा प्रायः फिते चप्पल लगाउने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म खासै फेसन गर्दिनँ । तर, चप्पलचाहिँ फ्ल्याट नै लगाउन मन पराउँछु । यो चप्पलले कुल देखिन्छ जस्तो लाग्छ ।’ पसिना नआउने र खुट्टा गन्ध नआउने भएकाले फ्ल्याट चप्पल लगाउने गरेको उनी बताउँछिन् ।

केही प्रचलित फ्ल्याट चप्पलहरू

ब्यालेट

फ्ल्याटको भेराइटिज भन्नेबित्तिकै ब्यालेट फ्ल्याट आउँछ । ब्यालेट फ्ल्याट क्लोज सुज हो । पछिल्लो समय विभिन्न डिजाइन र रंगका ब्यालेट लगाउने प्रचलन बढेको पाइन्छ ।

हरेक उमेर समूहका महिलाले ब्यालेट चप्पल लगाउने गरेको व्यापारी रविन्द्रकुमार बोहरा बताउँछन् । उनी भन्छन्, ‘डिजाइन फरक रोज्ने भए पनि ब्यालेटको माग राम्रो छ ।’ हरेक गेटअपमा सुहाउने र सालिन देखिने भएकाले ब्यालेट लगाउने उनको भनाइ छ।गर्मी मौसममा सूर्यको प्रकाशबाट खुट्टालाई बचाउन मात्र होइन, धुलोबाट बचाउन पनि धेरैले यो चप्पल लगाउने गरेको व्यापारी बताउँछन् । ब्यालेट लगाउँदा आकर्षक देखिनुका साथै कम्फर्टेबल हुने उनले बताइन् ।

वर्क फ्ल्याट

कामकाजी महिलाको रोजाइमा पर्छ– वर्क फ्ल्याट । यो चप्प्ल हेर्दा फेसनेबल देखिन्छ । प्रायः प्रिन्टेडमा भन्दा प्लेन फ्ल्याटको माग रहेको व्यापारी शर्मा बताउँछिन्।

उनी भन्छिन्, ‘जागिरे वा कामकाजी महिलालाई यो चप्पल उपयुक्त हुन्छ ।’ जागिरेको ड्रेससँग सुहाउँदो तथा आरामदायी हुने भएकाले वर्क फ्ल्याटप्रति आकर्षण बढेको व्यापारी बताउँछन् । व्यापारी शर्मा भन्छिन्, ‘वर्क फ्ल्याटमा प्रायः प्लेन रङका फ्ल्याट बढी बिक्री हुन्छ, बिशेष गरेर कालो, लाइट पिंक, डार्क रेडको वर्क फ्ल्याटको चल्ती बढी छ ।’

स्नेकर फ्ल्याट

स्नेकर फ्ल्याट समरमा अत्यधिक प्रयोग हुने चप्पलमा पर्छ । फ्लोरल प्रिन्टको माग बढिरहेको व्यापारी शर्मा बताउँछिन् । उनी भन्छिन्, ‘स्नेकर फ्ल्याट प्रायः टिनएजर्सले प्रयोग गर्छन्, स्नेकर फल्याट लगाउँदा कुल देखिन्छ ।’ स्पोर्टी लुक्स मनपराउनेको राम्रो विकल्प हो– स्नेकर फ्ल्याट ।

हरेक ड्रेसमा सुहाउने भएकाले यसप्रति आकर्षण बढेको उनी बताउँछिन् । व्यापारीका अनुसार वान पिस, हाफ पाइन्ट, ग्रन्ज पाइन्टलगायतमा यो चप्पल सुहाउने गरेको व्यापारीको भनाइ छ ।

स्यान्डल

व्यापारीका अनुसार स्यान्डल फ्ल्याटमध्ये बढी बिक्री हुने चप्पलमा पर्छ । यो चप्पल लगाउन सहज भएको प्रयोगकर्ता बताउँछन् । व्यापारीका अनुसार फिते चप्पलको माग बढ्दा छ।

स्यान्डलकी प्रयोगकर्ता हुन्, दीपशिखा दुंगाना । उनले फ्ल्याट चप्पल प्रयोग गर्न थालेको धेरै समय भइसक्यो । उनी भन्छिन्, ‘मलाई समरमा क्लोज सुजभन्दा फ्ल्याट स्यान्डल लगाउन मनपर्छ, हरेक ड्रेसमा स्यान्डल सुहाउँछ ।’ उनी प्लेन र सिम्पल फ्ल्याट स्यान्डल लगाउन मन पराउँछिन् । उनी यसपाली भने प्लास्टिकको स्यान्डल किन्ने योजनामा छिन् ।

प्रकाशित: ४ असार २०७५ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App