४ वैशाख २०८१ मंगलबार
अन्य

‘हाम्रा सहर व्यवस्थित छैनन्’

पुन्यम प्रधान, गायक
घुमेकामध्ये मनपरेको सहर कुन हो ?
इटलीको फ्लोरन्ज सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर सांस्कृतिक र मौलिक छ । सहरको सबैतिर ढुंगा छापिएका सडक छन् । फोहर कतै देखिन्न । हरियाली जंगलमा सेता भेडा चरेको दृश्य पनि सहरबाट नियाल्न पाइन्छ।

हाम्रा देशका सहर कस्तो लाग्छ ?
मौलिकता र ऐतिहासिक पक्षलाई हेर्ने हो भने नेपालमा सहर संसारमै भिन्न छन् । यहाँको मौलिक कला संस्कृति अन्य देशका सहरमा पाइन्न । हामी पहाडको बीचमा रमाउन पाएका छौं । मात्रै हाम्रोमा राजनीतिक स्थिरता र विकास भएन । यसले गर्दा प्रकृति र पुस्ताले अथाह सम्भावना दिँदा पनि सहरको विकास भएन ।

नेपालभित्र मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने यहाँ हरेक सेवा–सुविधा पाइन्छ । अर्को कुरा, काठमाडौं देशभरका मानिसको सपनाको केन्द्र हो । यहाँ धेरै मानिसको सपना र भरोसा अडिएको छ ।

दुःखको कुरा हामीले काठमाडौंलाई चिन्न सकेनौँ । पछिल्लो समय धेरै विदेशीहरू काठमाडौंकै प्राकृतिक सुन्दरता र सम्पदा हेर्न पर्यटक आउने क्रम बढेको छ । त्यस्तै उपत्यका बाहिरका सहर पनि सुन्दर छन् । पोखरा, लुम्बिनीलगायत अन्य सहर पनि यो सफा र मनमोहक छन् ।
विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?
मैले करिब ९० वटा देशका सहर घुमेको छु । जापान, अमेरिका, फ्रान्स, नर्वे, इटली, मोरोक्को, ग्रिस, पानामालगायत अन्य धेरै देश घुमेको छु । म पुगेका धेरै देशका सहर अत्यन्त सुन्दर र मनमोहक छन् । विदेश घुम्दा मनपरेको सहर नर्वे पनि हो । यहाँका मान्छे अति नै मिलनसार छन् । नर्वेको एउटा सहरमा जम्मा २८ सय जनसंख्या रहेछ।

यी सहरको के कुरा तपाईंलाई आकर्षक लाग्यो ?
इटालीको फ्लोरन्ज सहर सांस्कृतिक र मौलिक छ । सहरको सबैतिर ढुंगा छापिएका सडक छन् । युरोपका सहर साना र चिटिक्क छन् । नर्वेकै कुरा गर्दा त्यहाँ अति नै व्यवस्थित छ ।

जापानकै कुरा गर्ने हो भने हाम्रो भन्दा सडक साँघुरा छन् । तर, त्यहाँ हाम्रो जस्तो अस्तव्यस्त देखिन्न । विदेशका धेरै सहर मानिसकै कारण सजिएका छन् । सरसफाइ, सुरक्षा र सेवा–सुविधाका हिसाबले पनि सम्पन्न छन् । तर, प्राकृतिक सुन्दरता भने विदेशका सहरमा खासै पाइँदैन।

हाम्रा सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरकारले भएको योजना र नीति–नियमलाई कार्यान्वयन गर्नुपर्छ । पछिल्लो समय काठमाडौं भद्रगोल छ । सडक निर्माणका सामग्री र बिजुलीका तार असरल्ल छन् । यसले सहरलाई कुरूप पनि बनाएको छ । अर्को कुरा, विकास निर्माणका काम गर्ने निकाय समन्वय गरी काम गर्नुपर्छ । यदि, नागरिक तहबाटै सहर विकासको लागि कस्सिने हो भने हाम्रो सहरको विकास धरै दूर छैन।

विदेशी सहर र हाम्रा सहरबीच भिन्नता के देख्नुभयो ?
विदेशका सहर सबै बनावटी भए पनि व्यवस्थित छन् । हामीले पत्याउनै नसक्ने विकास भएको छ । प्रकृतिले कुनै सम्भावना नदिए पनि उनीहरू आफैले मेहनेत गरेर सहर सुन्दर बनाएका छन् ।

त्यहाँ मानिसले नै सहरलाई सजाएका हुन् । हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन् । हरियाली डाँडाकाँडा, अग्ला हिमाल, झरना, भौगोलिक विविधतालगायत पक्षलाई हेर्दा हाम्रो देश विश्वमै फरक छ । मात्रै यहाँको सरकारले विकासमा चासो दिएन । आम नागरिक पनि सरकारलाई जिम्मेवार बनाउने सकेनन्।

के कारणले हाम्रा सहर विकास हुन सकेनन् होला ?
विकास गर्ने बफादार नेता र कर्मचारी भएन । शक्तिमा हुनेले व्यक्तिगत फाइदाका लागि राज्यलाई प्रयोग गरे । ल्याएका योजनालाई पनि मूर्त रूप दिनतर्फ लागेनन् । सहरवासीमा पनि सहर व्यवस्थित बनाउनुपर्छ भन्ने चेतना भएन।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरमा बस्ने हरेक मानिस सभ्य होऊन् । एकले अर्कोको पीडा बुझ्न सकुन् । कसैले पनि रिस डाहा नगरोस् । सहरको अधिकार सबैले समानरूपमा उपभोग गर्न पाउन् । आइपर्दा हातेमालो गर्ने प्रवृति सहरवासीमा विकास होस् । म यस्तै सहरको कल्पना गर्छु । यति भयो भने सहर सुन्दर लाग्नेछ।

काठमाडौंको मननपर्ने पक्ष के हो ?
यहाँको ट्राफिक जाम, धुवाँधुलो, प्रदूषण, अव्यवस्थित सडक मनपर्दैन।

राम्रो लाग्ने पक्ष ?
काठमाडौंको मौसम ईश्वरको वरदान नै हो । यहाँ वरिपरि हरियाली, सहरको बीचबीचमा ऐतिहासिक सम्पदा छन् । सहरमा हरेक सेवा–सुविधा पनि छ । यो हिसाबले काठमाडौं राम्रो छ।

सहर सफा राख्न के गर्नुपर्छ होला ?
सहर सफा राख्न सहरवासी सभ्य हुनुपर्छ । सबैले आ–आफ्नो घरमा उत्पादन भएको फोहोरलाई निश्चित ठाउँमा मात्रै फाल्ने बानी बसाल्नुपर्छ । सडकको छेउछाउ नयाँ बिरुवा रोप्ने, सडकको धुलो रोकथाम गर्न सडकमा पानी छर्कने, बिहान सबेरै फोहोर उठाउने, गाडीबाट सडकमा फोहर नफाल्ने जस्ता काम गर्ने हो भने सहर सफा हुनसक्छ।

उपत्यकाभित्र कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
म फुर्सद हुँदा भक्तपुर दरबार क्षेत्र, नगरकोट र उपत्यका बाहिर पोखरा मनपर्ने ठाउँ हो । कहिलेकाहीँ त्यता पनि जाने गरेको छु।

पछिल्लो समय पुगेको सहर ?
केही समयअघि अमेरिकाको भित्री सहर घुमेको थिएँ । त्यो सहरको नाम ठ्याक्कै बिर्सिएँ । जे होस् त्यो सहर मलाई धेरै नै सुन्दर लाग्यो । त्यहाँ नेपालमा जस्तै झरना बगेको देखिन्थ्यो।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मैले धेरै देशका सहर घुमिसकें । अब जान मन लागेको सहर अर्जेन्टिना र चिली हो।

सहरको मनपर्ने खानेकुरा के हो ?
मलाई मःमः मिठो लाग्छ । पहिले–पहिले मःमः निकै खाइन्थ्यो । अहिले पहिलेको जस्तो मःमः पाइन्न ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: ४ असार २०७५ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App