७ वैशाख २०८१ शुक्रबार
राजनीति

१ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

काठमाडौं - सरकारी कर्मचारीले अनावश्यक रूपमा गर्ने विदेश भ्रमणलाई व्यवस्थित गर्न कडा निर्देशिका जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफंै भने जम्बो टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी १ सय २० सदस्यीय नेपाली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ समकक्षी लि खछाङको औपचारिक निमन्त्रणामा जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने चीन भ्रमणमा निस्कन लागेका हुन्।

‘प्रधानमन्त्रीज्यू व्यापारी सहितको १ सय २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैहुनुहुन्छ। जाँदाको दिनसम्म यो संख्यामा यसमा एकदुई जना थपघट हुनसक्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले नागरिकसँग भन्यो, ‘प्रतिनिधिमण्डलमा ६० जना व्यापारी पनि सहभागी हुनेछन्। उनीहरू सबै आफ्नै खर्चमा जान लागेका हुन्। भ्रमणदलका केही सदस्यको खर्च चीन सरकारले व्यहोर्छ भने बाँकीको खर्च नेपाल सरकारले व्यहोर्छ।

स्रोतका अनुसार प्रधानमन्त्रीको चीन जाने प्रतिनिधिमण्डलमा उनकी श्रीमती राधिका शाक्य, ४ जना मन्त्री, ९ जना सांसद, एक दर्जन सञ्चारकर्मी, व्यापारिक समुदायबाट ६० जना प्रतिनिधि, परराष्ट्र सचिव, अर्थ सचिव, बाणिज्य सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, शिष्टाचार महापाल, अन्य उच्च पदस्थ सरकारी पदाधिकारी छन्।

सरकारले नेपाल सरकारको अति विशिष्ठ तथा विशिष्ठ श्रेणीका पदाधिकारीको विदेश भ्रमणलाई मितव्ययी बनाउन केही वर्षअघि निर्देशिका जारी गरेको थियो। ‘नेपाल सरकारका अति विशिष्ठ तथा विशिष्ठ श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्री भोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२’ प्रधानमन्त्रीले गर्ने औपचारिक विदेश भ्रमणमा २० सम्म सहभागी गराउने उल्लेख छ। निर्देशिकामा आवश्यक परेमा विषयवस्तुसँग सम्बन्धित केही व्यक्ति थप गर्ने उल्लेख छ, यसैलाई टेकेर चीन जाने प्रतिनिधिमण्डलको आकार जम्बो बनाइएको छ। यसअघिका सरकारले पनि यो निर्देशका पालना गरेको थिएनन्।

निर्देशिका अनुसार प्रधानमन्त्रीले गर्ने औपचारिक विदेश भ्रमणमा उनकी श्रीमती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना सचिव वा सहसचिव, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार एकजना, प्रधानमन्त्रीका निजी चिकित्सक, प्रधानमन्त्रीले तोकेका एकजना सहयोगी, सुरक्षाकर्मी वा एडिसी दुईजना, सहयोगी एकजना, परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका क्षेत्रीय तथा बहुपक्षीय महाशाखा प्रमुख, राजनीतिक महाशाख प्रमुख, भ्रमण गर्ने देशको नेपाली राजदूत र आवश्यकताअनुसार तोकिएका दूतावासका कर्मचारी, शिष्टाचार महापाल, उपसचिव वा शाखा अधिकृत, शिष्टाचार अधिकृत र पत्रकार तीनजना सहभागी गराउन सकिने उल्लेख छ।

निर्देशिकामा प्रधानमन्त्रीले गर्ने औपचारिक भ्रमणमा ‘अन्य’ व्यवस्था पनि गरिएको छ । यो व्यवस्थाअनुसार भ्रमणटोलीमा भ्रमणको अवसरमा गरिने वार्ता, सम्झौता तथा बैठकको विषयवस्तुसँग सम्बन्धित मन्त्रालयका उच्चस्तरीय सरकारी प्रतिनिधि आवश्यकता समेटिने उल्लेख छ ।

‘प्रधानमन्त्रीसँगै चीन जाने प्रतिनिधिमण्डल ठूलो भएको हो। यसलाई घटाएर मितव्ययी बनाउन सकिन्थ्यो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्रीको चीन जाने प्रतिनिधिमण्डलमा उनकी श्रीमती राधिका शाक्य, ४ जना मन्त्री, ९ जना सांसद, एक दर्जन सञ्चारकर्मी, व्यापारिक समुदायबाट ६० जना प्रतिनिधि, परराष्ट्र सचिव, अर्थ सचिव, बाणिज्य सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, शिष्टाचार महापाल, अन्य उच्च पदस्त सरकारी पदाधिकारी छन्। बेइजिङस्थित नेपाली दूतावासबाट राजदूत लीलामणि पौड्यालसहित ८ जना सदस्य बेइजिङबाट सहभागी हुनेछ। प्रधानमन्त्रीसँगै चीन जाने मन्त्रीहरूमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षामान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रघुवीर महासेठ छन्।

प्रधानमन्त्री ओली गएकै दिन (मंगलबार) उनी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछन्। भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री ओलीले व्यापारिक समुदाय र थिंक ट्याङ्कसँग अन्तरक्रिया गर्नेछन्। सोही दिन दुवै देशका व्यापारिक समुदायले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा नै दुई देशका निजी क्षेत्रबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। ऊर्जा र कृषि क्षेत्रमा दुई देशका निजी क्षेत्रबीच तीनवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

चीन भ्रमणको तेस्रो दिन बिहीबार प्रधानमन्त्री ओली बेइजिङमा आयोजना गरिने ‘भिजिट नेपाल २०२०’ दौड कार्यक्रममा सहभागी हुनेछन्। ‘नेपाल–चीन मैत्री दौड’ नाम दिइएको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नेछन्। सोही दिन नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरयी द्विपक्षीय बैठक हुनेछ। बैठकअघि दुई देशका प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ। द्विपक्षीय वार्ता सकिएलगत्तै नेपाल र चीनबीच ८ भन्दा बढि सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। सोही दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन्पीङसँग शिष्टाचार भेट गर्नेछन्। सोही दिन एसियन इन्फास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआइआईबी)का अध्यक्षले पनि प्रधानमन्त्री ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली असार ८ गते चीनको स्वशाशित क्षेत्र तिब्बतको राजधानी ल्हासातर्फ प्रस्थान गर्नेछन्। त्यहाँ उनले तिब्बतका नेताहरूसँग कुराकानी गर्ने जनाइएको छ । तिब्बतका केही स्थानको अवलोकन गरी प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्कनेछन्।

प्रकाशित: ४ असार २०७५ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App