७ वैशाख २०८१ शुक्रबार
समाज

बाँच्ने आशामा ३९ घण्टा सुरुङ भित्र, यसरी गरियो उद्धार (भिडियो)

संखुवासभा–सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए। श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका थिए। तर आयोजनाका केही कर्मचारीहरु, घटनास्थल पुगेकाहरु र पहिरोका प्रत्यक्षदर्शीहरुले भने उनीहरुको आशा मारेका थिएनन्। सोचे जस्तै साबित पनि भयो। अरुण तेस्रो सुरुङ मार्गमा पहिरो खसेपछी थुनिएकाहरु आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको छ। शुक्रबार राती ८:४० बजे सुरुङमा पहिरो खसेपछी नेपाली नागरिक दुई जना र भारतीय मुलका दुई जना सुरुङ भित्रै छोपिए। पहिरोले छोपिए पछी उनीहरुले ३९ घण्टा सुरुङ भित्रै बिताए।

भारतको झारखण्डका अपरेटर ५५ वर्षिय बुधन मुण्डा पानीको भरमा ३९ घण्टा बसेर बाहिर निस्कदा पूर्नजन्म पाएको महसुस गरे। मुण्डा सुरुङमार्ग पहिरोले पुरिएर फसेका बुमर (सुरुङ मार्ग खन्न प्रयोग गरिने मेसिन)का अपरेटर हुन्। 'हामी चार जना एक आपसमा यति दृढ थियौ की हामीलाई बचाँउने छन् भनेर एकसाथ बसि एकले अर्काको आत्माबल बढायौं', उनले भने, 'यदी मयौं भने पनि एक साथ मर्ने प्रणका साथ हामी बस्यौं। हामीसंग खानेकुरा केही थिएन, पानीका भरमा बाँच्यौं। बाहिरको आवज आए पछि अब भने बाँच्ने आशा पलायो। सुरुङमार्गको बाहिरी भागबाट थोरै पुवाल परेपछि बाहिरको हावा भित्र पस्न सुरु गरेपछि श्वास फेर्न समेत सहज भयो।'

सुरुङ भित्र मुण्डा सहित सिउना गाउँपालिका ४ कालिकोटका ३२ वर्षिय प्रदिप शाही, चन्द्रनाथ नगरपालिका १ जुम्लाका ४४ वर्षिय प्रेम परियार, भारत बिहारका पम्प सहयोगी ४५ वर्षिय नन्द किशोर फसेका थिए।

उनीहरुको उद्धार शनिबार विहानैबाट गरिए पनि दिनभर बेलाबेला पहिरो खस्नुका साथै वर्षाले उद्धारमा ढिलाई भएको थियो। उद्धार प्रभावकारी नभए पछि आइतबार रौताह कम्पनीको स्काईभेक्टर थप गरेपछि मात्र उनीहरुको उद्धार कार्य सफल भएको थियो। स्काईभेटरले पहिरो हटाए पछि सुरुङमार्ग भेटिएपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले डोरीको सहायतामा उनीहरुलाई बाहिर निकालेका थिए।

प्रेम परियार र प्रदिप साहीलाई आइतबार नै सदरमुकाम खाँदबारी ल्याइएको छ। परियारको ढाडमा समस्या देखिएकाले थप स्वास्थ्य परिक्षणको लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम कुमार सारु मगरले जानकारी दिए। स्वास्थ्य अवस्था सामान्य रहेका दुई भारतीयलाई आरामका लागि उनीहरुकै क्याम्पमा राखिएको मगरले बताए।

पहिरोका कारणा परियोजनाको एक वटा पुलमा पूर्णरुपमा क्षति पुगेको छ। पहिरोबाट कति क्षती भयो भन्ने विवरण आउन बाँकी रहेको छ। मकालु गाउँपालिका ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्ग सहित पुर्वाधारको काम सुरु गरीएको छ। निर्माण सुरु गरिएको सुरुङ मार्ग ३० मिटर लामो रहेको आयोजनाले जनाएको छ। नौं सय मेगावटको अरुण तस्रो जलविद्युत आयोजना सन् २०२२ सम्ममा निर्माण समपन्न गर्नुपर्ने छ।

प्रकाशित: ३ असार २०७५ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App