७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए। 

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले यसअघिको प्रधानमन्त्रीत्व कालमा वर्तमान प्रधानमन्त्री ओलीले चीनसँग गरेको १० बुँदे सम्झौतालाई अब ठोस रुपमा कार्यान्वयन गर्ने बेला आएको सुनाए। 

उनले भने, ‘यसपटकको उहाँको भ्रमणमा ती १० बुँदे सम्झौतासहित थप सम्झौता हुनसक्ने बुझिएको छ।’ नेपालप्रति चिनियाँ सरकार सकारात्मक रहेको बताउँदै उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ठोस सहमति हुने अपेक्षा आफूहरुले गरेको जनाए। 

उनले रसुवागढी हुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने पहल पनि यो पटकको भ्रमणमा हुने विश्वास दिलाए। उनले भने, ‘अहिलेसम्म आएको जानकारी अनुसार वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनु भएको बेलामा १० बुँदे सहमति भएका थिए, ती १० विषयहरुका साथसाथै अरु थप विषयहरुमा पनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ, प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ।’

रावलले चिनियाँ सरकारको तर्फबाट पनि नेपालले पारवाहन सुविधा प्राप्त गर्न सक्ने कुरामा सकारात्मक रुपमा पहिल्यै नै आफ्नो सहमति जनाइसकेको बताए। उनले भने, ‘यो विषयमा अब ठोस रुपमा सहमति हुने हामीले अपेक्षा गरेका छौं।’

उनले विद्युत प्रसारण लाइन र नेपालले निर्माण गर्नुपर्ने तेल भण्डारण गृह निर्माणबारे पनि चिनियाँ सहयोग रहने विश्वास दिलाए। यो पटकको भ्रमणमा यसबारेमा पनि सहमति हुने संभावना रहेको उनको विश्वास छ। उनले भने, ‘चिनियाँ सहयोगमा प्रसारण लाइन र तेल भण्डारण निर्माण हुन्छ।’

चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपाली वस्तुहरु चीनतर्फ निर्यात गर्नुपर्नेमा सहजता पुर्याउने पनि रावलले जोड दिए। उनले थपे, ‘जलविद्युतको विकासमा अझै थप सहमति हुने संभावना छ।’ 

प्रकाशित: ३ असार २०७५ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App