coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घट्दै कृषियोग्य जमिन

असार सुरु भएसँगै खेतमा धान रोप्दै किसान। तस्बिर: नागरिक

भक्तपुर -  बढ्दो सहरीकरणसँंगै भक्तपुरमा कृषियोग्य जमिन घट्दै गएको छ। यही कारण किसानको जिल्ला भनेर चिनिने भक्तपुरमै धान रोपेको हेर्न दुलर्भ जस्तो हुन थालेको छ । विशेषगरी पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमिका सबैजसो वडामा घरैघरले भरिएका छन् । जिल्लाको सबै क्षेत्र नगरपालिकामा रुपान्तरण भइसकेको छ।

जिल्ला कृषि विकास कार्यालय भक्तपुरको तथ्यांक अनुसार भक्तपुरको कुल क्षेत्रफल १२ हजार सात सय ३८ हेक्टर रहेको छ । यीमध्ये झन्डै सबै अर्थात ११ हजार एक सय ६ हेक्टर जमिन खेतीयोग्य छ। तर ती खेतीयोग्य जमिनमा धमाधम घर बनाउँदा अहिले झन्डै आठ हजार ७७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ।

जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुंगानाले पछिल्लो राष्टिय जनगणना २०६८ को यो तथ्यांकभन्दा अहिले धेरै खेतमा घर बनिसकेकाले खेती गरिएको जमिनको मात्रा अझै कम भएको बताइन। ‘जताततै प्लटिङ गरेर घर निर्माण भइसके,’ उनले नागरिकसँग भनिन्, ‘यस्तो राम्रो कृषि उब्जनी हुने जग्गामा धमाधम क्रंंक्रिटको जंगलको रुपमा परिणत हुँदा मनै खिन्न हुन्छ।’

तथ्यांक अनुसार जिल्लाका झन्डै सबै बाँकी खेतीयोग्य जमिनमा खेती किसानी हुन्छ अर्थात बाँझो राखिँदैन। तथ्यांक अनुसार दुई सय ४८ हेक्टर क्षेत्र मात्रै बाँझो रहेको छ । जिल्लामा वनको क्षेत्रफल दुई हजार एक सय २४ हेक्टर रहेको छ।

अर्काे तथ्यांक अनुसार कुल उत्पादनयोग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धानबाली लगाइन्छ । धानबाली जस्तै गहुँबाली लाग्ने खेतको संख्या अझै कमी हुन्छ । किनकि गहुँबालीको समयमा यहाँ इँटाभट्टा चल्छ। धेरै किसानले गहुँबाली नलगाई खेत इँटाभट्टालाई दिने भएकाले यहाँ धानको तुलनामा गहुँबाली लगाउने खेत निकै कम मात्रै हुन्छ।

किसान कुमार त्वानाबासुले दुई–चार वर्ष अगाडिसम्म खेती किसानीमै भर रहेका यहाँका स्थनीयले अहिले जमिन अभावमा रोपाई गर्न नपाएको बताए । किसान परिवारले पनि सोखको रुपमा एक–दुई दिन मात्रै धान रोप्ने खेत रहेको उनले सुनाए।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकाले आठवटा जग्गा एकीकरण आयोजना गरेका छन्। भक्तपुर नगरपालिकाले कमलबिनायक, लिवाली र तुमुचो–चोखा—दुगुरे गरी तीनवटा जग्गा एकीकरण आयोजना सम्पन्न गरिसकेको छ भने हाल चालू रहेको यो आयोजना चौथौं हो। उता मध्यपुर थिमि नगरपालिकाले सिन्टीटार, कमेरोटार, मनोहरा गरी तीनवटा आयोजना सकाएको छ भने हाल दिव्यश्वरी जग्गा एकीकरण आयोजना चलिरहेको छ।

उता बाँकी रहेको सूर्यविनायक र चाँगुनारायण दुवै नगरपालिका निजी क्षेत्रले ठाउँठाउँमा जग्गा एकीकरण आयोजना गरिएका छन् । साथै आयोजना सञ्चालन नभएपछि विना पूर्वाधार धेरै ठाउँमा घर बनेका छन्।

प्रकाशित: ३ असार २०७५ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App