coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘महाराज जार काट्न पाइन्छ?’

नाटक ‘सोनम ग्याल्मो’का कलाकार। तस्बिर : नागरिक

काठमाडौं - तामाङ समुदायमा जंगबहादुर राणासँग जोेडिएको एउटा किवंदन्ती छ। किवंदन्ती अनुसार एक जना तामाङ युवक उनका दरबारमा पुगेर जंगबहादुरलाई सोध्छन् , ‘सरकार जार काट्न पाइन्छ कि पाइँदैन।’ जंगबहादुरले जवाफ दिन्छन् , ‘पाइन्छ किन नपाइनु ।’ जंगबहादुरको  बोली खस्न नपाइ ती युवकले जंगबहादुरमाथि खुकुरी प्रहार गर्छन् । जंगबहादुरले अरु कोही नभइ सोही युवककी श्रीमतिलाई जंगलबाट उठाएर दरबारमा राखेका हुन्छन्। तामाङ युवकले जंगबहादुरलाई नै जार मानेर आक्रमण गर्छन् तर पछि आफ्नै ज्यान गुमाउन पुग्छन्।

तामाङ संस्कृतिको अभिन्न अंग मानिने यही कथा शनिबारबाट सुरु भएको सेलो नाटक फेस्टिभलको पहिलो नाटकको रुपमा शिल्पी थिएटरमा मञ्चन भएको थियो। ‘सोनाम ग्याल्मो’ शीर्षकमा मञ्चन भएको नाटकले किवंदन्तीलाई वर्तमान समयसँगै जोडेर रोचक तरिकाले प्रस्तुत गरेको थियो।

जंगबहादुरको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित किम्बदन्तीमा आधारित नाटकले दर्शकलाई राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाको नारीलाई हेर्ने व्यवहारदेखि वर्तमान तामाङ समुदायको विवाहसम्मको प्रसंगलाई जोडेको छ। नाटकको मूल कथा ‘जार’ प्रथा वरपर घुमेको छ।

राणाकालीन कथालाई तामाङ समुदायको संस्कृतिसँग फ्युजन गराएर तयार पारिएको नाटकले   दर्शक कहिले हसाउँछ भने कहिले भावुक बनाउँछ। जंगबहादुरको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित किम्बदन्तीमा आधारित यो नाटकले दर्शकलाई राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाको नारीलाई हेर्ने व्यवहारदेखि वर्तमान तामाङ समुदायको विवाहसम्मको प्रसंगलाई जोडेको छ । नाटकको मूल कथा ‘जार’ प्रथा वरपर घुमेको छ।

नाटकको थालनी तामाङ समुदायमा हुने वैवाहिक वातावरणबाट हुन्छ। विवाहको मण्डप शैलीमा तयार पारिएको स्टेजमा कुनै एक गाउँका गाउँलेहरू उपस्थित भई एक जोडीको विवाह गर्ने तयारी गरिरहेका छन्। केटा र केटी दुवैतर्फको आफन्त भेला भएर रमाइलो गर्दै केटा र केटीलाई विवाहपछि गर्नुपर्ने नियम एकअर्काका आफन्तले सुनाइरहँदा त्यही बीचको पात्रले जंगबहादुरको घटनालाई स्मरण गराउँदै आफ्नो छोरीलाई त्यस्तो व्यवहार नगर्न सुझाव दिन्छन्।

जंगबहादुरको घटना सम्झँदै गर्दा स्टेजमा ग्रामीण तामाङ बस्तीको झल्को दिने मञ्च देखिन्छ।  जंगलमा घाँस काट्न गएकी ग्याल्मो(शान्ति वाइवा)लाई त्यही गाउँका सोनाम(सोनाम लामा मोक्तान)ले मन पराएर फकाई फूलाई गरेर आफ्नै घरमा ल्याउँछन्। घरमा आएकी ग्याल्मो एकदिन दुई साथीसँग घाँसदाउरा लिन जंगल जाँदा प्रधानमन्त्री जंगबहादुर राणाको फन्दामा पर्छिन्। उनका दुई साथीलाई जंगबहादुरले तुरुन्तै छोडे पनि सुन्दर ग्याल्मोलाई कब्जामा लिएर दरबार लान्छन् र बलात्कार गर्छन्।

ग्याल्मोको घर रुँदै आइपुगेका दुई साथीले ग्याल्मो प्रधानमन्त्री जंगबहादुरको कब्जामा परेको खबर सुनाएपछि घरमा रुवाबासी हुन्छ। आफ्नी अर्धाङ्गिनी जंगबहादुरको कब्जामा परेको सुनेर रिसाएका सोनाम त्यसको बदला लिन हतियारसहित दरबार पुग्छन् र जंगबहादुरलाई भेट्ने अनुमति माग्छन् । अनुमति पाएपछि जंगबहादुरलाई ‘जार काट्न मिल्ने कि नमिल्ने?’ भनेर प्रश्न सोधेपछि जंगबहादुरले ‘किन नमिल्नु मिल्छ ।’ भनेपछि जंगबहादुरलाई खुकुरी प्रहार गर्छन्। जंगबहादुरलाई खुकुरी प्रहार गरिसकेपछि सोनामलाई पनि जंगबहादुरका सुरक्षाकर्मीले घाइते बनाउँछन् । यो घटनापछि ग्याल्मो सती गएको दृश्य देखाइएको छ । तर उनी कसका लागि सती गइन् भन्ने खुलाइएको छैन।

यही कथालाई पृष्ठभूमिमा प्रस्तुत गरेर नाटकको अन्त्य चाहिँ पहिलेकै अवस्थाको तामाङ जोडीको विवाह गरेर समापन हुन्छ । नाटकका लागि स्टेजमा न त कुनै दरबार नै बनाइएको छ, न त ग्रामिण अवस्था झल्किने सजावट नै राखिएको छ । तर पनि नाटकका कलाकारको अभिनयले दर्शकले दरबार र ग्रामीण परिवेश विर्सन्छन्।

सोनाम लामा(मोक्तान)ले नै निर्देशन गरेको नाटकमा फूलकुमार बम्जन, सुसन लामा, चाँदनी लामा, निकिता वाइवा, निशा पाख्रिन, मात्रिका, मनोज तामाङ, सन्तोष तामाङ, सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामाको अभिनय छ।

नाटकका लेखक तथा पत्रकार फूलमान बलले नाटकलाई ग्रामीण परिवेशलाई राणाकालीन समयको इतिहास सम्झाएर लेखन गरिएको खुलाए। ‘एउटा गाउँको कथालाई इतिहासमा यस्तो पनि भएको थियो है भनेर सम्झाउन नाटक बनाइएको हो,’उनले भने।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउण्डेसनले आयोजना गरेको तीन दिने ‘सेलो नाट्य महोत्सव २०७५’को यो पहिलो नाटक हेरेपछि पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले नाटकको सांस्कृतिक पक्षको तारिफ गरे। ‘नाटकमा तामाङ संस्कृतिलाई नजिकबाट देखाइएको छ। सँगसँगै राणाकालीन निरंकुशताका विरुद्ध एक तामाङ युवाले गरेको एक्लो संघर्षलाई निकै मार्मिक रुपले प्रस्तुत गरिएको छ। यी दुई कुरा घतलाग्दा छन् ’ उनले भने। महोत्सवको उद्घाटन पोखरेलले नै गरेका थिए।

प्रतिष्ठानका कुलपति सरुभक्तले सरकारले तामाङ संस्कृतिसँग जोडिएर महोत्सव गर्न पाउँदा खुशी लागेको बताए। उनले प्रतिष्ठानले देशभरको संस्कृतिको सम्बद्र्धन गर्न कार्यक्रम गरिरहेको बताउँदै तीन प्रतिष्ठानलाई गाभ्ने निर्णय फिर्ता लिन माग गरे।

महोत्सवका संयोजक पुष्कर गुरुङका अनुसार आइतबार गोपाल फ्युबाको लोक नाटक ‘ताचेमा’ र शान्ति वाइवाको ‘ङाला फ्रेङबा धोङला टा’ मञ्चन गरिनेछ भने अन्तिम दिन सोमबार निशा पाख्रिन र सन्तोष तामाङको ‘चारदाम’ र ‘रोशन फ्युबाको ‘ल्हालिमो’ मञ्चन हुनेछन्।

प्रकाशित: ३ असार २०७५ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App