५ वैशाख २०८१ बुधबार
राजनीति

ट्रेड युनियन कांग्रेसमा आचार्य

काठमाडौं - नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा पुष्कर आचार्य निर्वाचित भएका छन्। जेठ २९ गते देखि राजधानीमा सुरु भएको छैटौ महाधिवेशन शनिबार आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सकिएको हो।

पार्टीभित्रगत आधारमै नयाँ नेतृत्वका लागि भएको प्रतिष्पर्धामा पार्टी सभापति शेरबहादुर देउवा इतरको गुटबाट मैदानमा उत्रिएका आचार्यले नेतृत्व हत्याएका हुन्। ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्षसमेत रहेको खिलानाथ दाहाललाई झन्डै तीन सय मतान्तरसहित आचार्य नेतृत्वमा पुगेका छन्।

१७ पदाधिकारीसहित ४४ पदका लागि नर्वाचनमा धु्रर्वचन्द्र गौतम बाहेक ४३ स्थानमा आचार्य प्यानल निर्वाचित भएका छन्। उनले ८ सय१८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी दाहालले ५ सय ३६ मतमै सिमीत बनेका छन्। ट्रेड युनियन कांग्रेसको पाँचौ महाधिवेशनमा पनि आचार्य र दाहाल आमनेसामने थिए।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्षहरु खुला तेजेन्द्रजंग कार्की, महिला इन्दिरा सापकोटा, सेवा नेत्रविक्रम थापा, उत्पादन ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार आशा सिंह राठौर निर्वाचित भएका छन्। महासचिवमा योगेन्द्रकुमार कुँवर, उपमहासचिवहरु खुला ज्योति कोइराला, महिला राधिका कुइँकेल, सेवा सीताराम अवस्थी, उत्पादन ईश्वर परियार, अनौपचारिक तथा स्वरोजगार क्षेत्र राजेख पालिखे चुनीएका छन्।

कोषाध्यक्ष मोहनकुमार बस्नेत, सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका छन् भने दाहाल प्यानलबाट खुला सदस्यमा ५ सय १९ मतसहित ध्रुवचन्द्र गौतम मात्र निर्वाचित भएका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि भएका पार्टीका सबै शुभेच्छुक संगठनको महाधिवेशनमा सभापति देउवा निकट उम्मेदवार पराजित हुँदै आएका छन्। सभापतिकै कारण पार्टीले चुनाव हारेको भन्दै असन्तुष्ट पक्षले अलोचनालाई तीव्र बनाइरहेका बेला भएका नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघ र प्रजातन्त्रवादी इन्जिनियरहरूको संगठनको नेतृत्व देउवा पक्षले गुमाएको छ। यी तीनै संगठनको नेतृत्व असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल पक्षको पोल्टामा पुगेको छ।

फाइदा उठाउँदै सिटौला
पार्टीको १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षसँग बिद्रोह गर्दै कृष्णप्रसाद सिटौला सभापतिको प्रत्यासी बने। आपूm मात्र होइन उनले गगन कुमार थापा महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्ष खडा गर्दा शेरबहादुर देउवालाई पार्टी नेतृत्वमा पुग्न सहज बन्यो।

त्यसपछि पार्टी सभापति देउवाको सहयोगी समुह जस्तो देखाएको सिटौला समुहले उनीहरुसँग मिलेर नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भए। त्यसबीचमा गठन भएका दुई सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी हात पार्न सफल उनीहरु निर्वाचनपछि भने पौडेल पक्षसँग मिलेर शुभेच्छुक संगठनमा आफ्नो स्थान सुरक्षित गर्न लागिपरेका छन्।

नेपाल तरुण दलको महाधिवेशनसँगै सभापतिसँग चिसिँदै गएको सम्बन्ध स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा बिग्रन पुगेको थियो। त्यसपछि भएका पार्टीका शुभेच्छुक संगठनको महाधिवेशनमा सभापति देउवाको विरोधी समुहसँग मिलेर अघि बढेको सिटौला समुहले नेपाल ट्रेड युनियन कांग्रेसको नेतृत्व आफ्नो पक्षमा पारेको छ। अन्य शुभेच्छुक संगठन नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघसहितका ठाउँमा पनि आफ्नो स्थान सुरक्षीत गर्न सफल भएका छन्।

दवबै समुहसँग मिलेर पार्टी संगठनमा आफ्नो उपस्थिति बढाउँदै गएको सिटौला पक्ष सभापति देउवा र नेता पौडेलबीचको बढ्दो दूरीको फाइदा उठाउँदै १४औं महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न सक्रिय छन्। असन्तुष्ट पक्ष सभापति देउवाविरुद्ध आक्रामरूपमा प्रस्तुत भइरहेका बेला पार्टीभित्र विवाद भन्दा एकताको पक्षमा वकालत गर्दै आएका महामन्त्री शशांक कोइरालालाई पौडेल समुहबाट अलग्याउने रणनीतिमा जुटेको निकटहरुको दाबी छ। सभापतिको विपक्षमा नबोलाएको भन्दै महामन्त्री कोइरालाप्रति नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंहसहितका नेताहरूले आशंका गरी रहेका छन्।

यसैबीच, असार ५ देखि ७ गतेसम्म हुने पार्टीको जिल्ला सभापतिहरुको भेलासहित विषयमा महामन्त्री शशांक कोइराला, खशेखर कोइरालासहितका नेताहरूले शनिबार छलफल गरेका छन्। जिल्ला सभापतिहरुको भेलामा प्रस्तुत गर्ने महामनत्रीको प्रतिवेदनसहितका विषयमा भेटका क्रममा छलफल भएको थियो।

प्रकाशित: ३ असार २०७५ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App