७ वैशाख २०८१ शुक्रबार
खेल

आठ वर्षपछि विश्वकपमा फर्किएको सर्बिया कोष्टारिकाको सामना गर्दै

मस्को – विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्बिया र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ५ः४५ पछि समारा रंगशालामा सुरु हुनेछ। सबियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट पक्का गरेको हो।

सर्बिया युरोपेली छनोट प्रतियोगितामा वेल्स, आयरल्यान्ड, अस्ट्रिया, जर्जिया र मोल्डोभाजस्ता बलिया टोली सम्मिलित समूह ‘डी’ मा परेको थियो। आयरल्यान्डलाई २ अंकले पछि पार्दै सर्बिया ८ वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा छनोट हुनाका बावजुद पनि सर्बियाको फुटबल टोलीमा सबथोक राम्रोसँग अघि बढेन। सर्बियाले विश्वकपमा छनोट गराउन सफल प्रशिक्षक स्लाभोल्जुब मुस्लिनलाई बर्खास्त गरिदियो। मुस्लिनको स्थानमा म्लादेन क्रास्टाजिकलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गर्याे। 

युगोस्लाभियाको नामबाट १९३० कै संस्करणबाट विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो। सर्बियाको नाममा पहिलो पटक सहभागिता जनाउँदा समूहचरण खेलेर घर फर्किएको थियो। त्यसपछि ब्राजिलमा भएको विश्वकपमा भने सर्बियाले छनोट चरण पार लगाउन सकेन।

१९३० को संस्करणमा चौथो स्थान हात पारेको युगोस्लाभियाले त्यसपछि १९५० मा विश्वकप खेलेको थियो। उक्त संस्करणमा समूह चरणबाट बाहिरिएको युगोस्लाभियाले १९५४ र १८५८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। १९९२ मा चौथो हुन सफल युगोस्लाभिया त्यसपछिका दुई संस्करणमा छनोट हुन सकेन। १९७४ मा दोस्रो चरण पुगेको युगोस्लाभिया १९७८ मा फेरि छनोट हुन सकेन।

१९८२ मा समूह चरणबाट बाहिरिएको टोली १९८६ मा छनोट चरण पार गर्न सकेन। १९९० मा क्वार्टरफाइनल खेलेको युगोस्लाभिया १९९४ को विश्वकपमा भने निलम्बनमा थियो। १९९८ मा अन्तिम १६ मा स्थान बनाउन सफल २००२ मा फेरि छनोट हुन सकेन। २००६ मा सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा विश्वकप खेलेको टोलीले २०१० मा भने सर्बियाको नाममा विश्वकप खेलेको थियो। दुवैमा टोली समूह चरणबाटै आउट भएका थिए। २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो।

आठ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा सर्बियाले आयरल्यान्डसँग २–२ को बराबरी छनोट प्रतियोगिता सुरु गरेको थियो। त्यसपछि टोलीले पछाडि फर्केर हेर्नु परेन। अस्ट्रिया, जर्जिया र मोल्डोभालाई हराएको सर्बियाले वेल्ससँग बराबरी खेलेको थियो। छनोट प्रतियोगिताको १० मध्ये ६ खेल जितेको थियो सर्बियाले ३ खेल बराबरी र १ खेलमा पराजय भोगेको थियो। विपक्षी पोस्टमा २० गोल गरेको सर्बियाले १० गोल खायो। छनोट प्रतियोगितामा सर्बियाका एलेक्सान्द्रो मित्रोभिचले सबैभन्दा ६ गोल गरे भने डुसान टेडिचले ४ गोल गरेका थिए।

सर्बियाका प्रशिक्षक क्रास्टाजिकले विश्वकपमा छनोट भएर सफलता पाइसकेको भन्दै रूसमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। समूह ‘डी’ मा रहेको सर्बियाले पहिलो चरणमा ब्राजिल, स्विट्जरल्यान्ड र कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ।
सर्बियाको टिम

गोलकिपर : भ्लाद्भिर स्तोचोभिच (पार्टनान बेलग्रेड), प्रेद्राग राजकोभिच (माकावी तेल एभिभ), मार्को डिमित्रोभिच (एइबर)

रक्षक : एलेक्जेन्डर कोलारोभ (एएस रोमा), ब्रानिस्लाभ इभानोभिच (जेनिट सेन्ट पिटरर्सबर्ग), डुसको टसिच (ग्वान्चाव आर एन्ड एफ), एन्टोनियो रुकाभिना(भिल्लारियाल), मिलोस भेल्जकोभिच (वेर्डर ब्रेमन), मलिान रडिचरेड स्टार बेलग्रेड), युरोज स्पाजिक (कारास्नोडार), निकोला मिलेनकोभिच (फियोरेन्टिना)

मिडफिल्डर : नेमानिया माटिच ( म्यानचेस्टर युनाइटेड), लुका मिलिभोजेभिच (क्रिस्टल प्यालेस), सेर्गेज मिलिनकोभिच–साविच (लाजियो), मार्को ग्रुजिच (लिभरपुल), एडम लजाजिच (टोरिनो), डुसान ट्याडिच (साउथह्यामटन), फिलिप कोस्टिच (ह्यामबर्ग), एन्ड्रिजा जिभकोभिच (बेन्फिका), नेमानिया र्याडोन्जिच (रेड स्टार बेलग्रेड)

फरवार्ड : एलेक्जेन्डर मित्रोभिक (न्युक्यासल युनाइटेड), एलेक्जेन्डर प्रिजोभिच (पिएओके सालोनिका), लुका जाभिच (बेनफिका)

यता चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा कोस्टारिकाले आश्चर्यजनक रुपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। यसपाली पनि त्यही उपलब्धिलाई निरन्तरता दिने लक्ष्यका साथ टोली रुसमा छ।  

ब्राजिलमा कोस्टा रिका इटाली, इङल्यान्ड र उरुग्वे रहेको समूहबाट माथि उठने कसैले विश्वास गरेका थिएनन्। तर सात पटक विश्वकपको उपाधि उचालिसकेका तीन महारथीलाई पछि पार्दै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको टोलीले क्वार्टरफाइनलमा पनि स्थान सुरक्षित गर्याे।

यसपाली पनि कोस्टारिका चार वर्षअघिजस्तै कठिन समूहमा छ। कोस्टारिका रहेको समूह ‘इ’ मा प्रतियोगिताकै मुख्य दाबेदार ब्राजिल तथा युरोपका दुई बलिया टिम स्विट्जरल्यान्ड र सर्बिया छन्। जसका कारण टोलीबाट अर्को आश्चर्यजनक यात्राको आशा गर्न सकिन्छ। 

चार वर्षअघि ब्राजिलमा सफलता हासिल गर्दाका २३ मध्ये १२ खेलाडी यसपाली रुसको भ्रमणमा पनि टोलीसँगै छन्। साथमा अघिल्लो पटक छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्नाका बावजुद टोलीमा पर्न नसकेका चार खेलाडी यसपाली समेटिएका छन्। पछिल्लो आठ वर्षदेखि कोस्टारिकाको हरेक उतार चढावमा सँगै रहेका १६ खेलाडी यसपालीको टोलीमा हुँदा टिम तालमेलमा समस्या नहुने विश्वास लिइएको छ। 

प्रशिक्षक ओस्कार रामिरेजले परिपक्व खेलाडीहरुको टोली बनाएका छन्। रामिरेजको २३ सदस्यीय टोलीमा खेलाडी फुटबलीय क्षमताका आधारमामात्र नभई अनुभवमा पनि परिपक्व छन्। खेलाडीको औसत उमेर २९ वर्ष छ भने औसत क्याप (देशका लागि अन्तर्राष्ट्रिय खेल खेलेको) ४६ छ। 

सामारामा सर्वियाविरुद्धको खेलका लागि रेफ्रीले सिठी फुक्दा कोस्टारिकामाथि कुनै दबाब हुने छैन। किनकी २०१० को विश्वकपयता पहिलो पटक कुनै ठूलो प्रतियोगिताका लागि छानिएको विपक्षीमाथि मानसिक रुपमा कोस्टा रिका नै हावी हुन सक्छ।

रियाल मड्रिडको टोलीबाट पछिल्ला वर्षहरुमा सबैखाले सम्भव उपाधि जितिसकेका केलोर नाभासको साथ हुनु कोस्टारिकाको लागि अर्को खुसीको विषय हो। विश्वकै सर्बोत्कृष्ट गोलकिपरमध्ये एक मानिने नाभास विश्वकपका सबै विपक्षी फरवार्डहरुबारे जानकार छन्। जसको फाइदा रुसमा टोलीले उठाउन सक्नेछ। 

तमाम उतार चढावका बावजुद ब्राजिल विश्वकपपछि कोस्टारिकाले विश्व फुटबलमा बेग्लै खालको सम्मान आर्जन गरेको छ। भाग लिएका कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसकेको टोली हाल फिफा विश्व वरियताक्रमको २५औं स्थानमा छ। 

कोस्टा रिकाको टिम
गोलकिपर : केलेर नाभास (रियाल मड्रिड), प्याट्रिक पेम्बर्टन (आलाजुइलेन्स), लियोनेल मोरेइरा (हेरेडियानो)

रक्षक : जोनी एकोस्टा (रियोनेग्रो एग्विलास), जियानकार्लो गोन्जालेज (बोलोग्ना), क्रिस्टियन गाम्बोआ (सेल्टिक), ब्रायन ओभिडो (सन्डरल्यान्ड), ओस्कार डुआर्टे (स्पान्योल), फ्रान्सिस्को काल्भो (मिनिसोटा युनाइटेड), केन्डल वाट्सन (भ्यान्कोभर ह्वाइटक्याप्स), रोनाल्ड माटारिटा (न्युयोर्क सिटी), इयान स्मिथ (नोर्को्पिङ)

मिडफिल्डर : सेल्सो बोर्गस (डेर्पो्टिभो ला कोरुना), क्रिस्टियन बोलानोस (साप्रिसा), रान्डल एजोफेइफा (हेरेडियानो), येल्तसिन टेजाडा (लुजाने स्पोर्ट), डेविड गुजम्यान (पोर्टल्यान्ड टिम्बर्स), रोड्नी वालेस (न्युयोर्क सिटी), ड्यानिअल कोलिन्डर्स (साप्रिसा)

फरवार्ड : ब्रायन रुइज, कप्तान (स्र्पोट्रिङ सिपी), जोइल क्याम्पवेल (रियाल बेटिस), मार्को एरेना (लस एन्जल्स), योकान भेनेगास (साप्रिसा)

प्रकाशित: २ असार २०७५ २२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App