coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तालमेल अभाव पुर्दै साविक विजेता जर्मनी

मस्काे – युवा स्ट्राइकर लोरे सानेलाई विश्वकप टोलीमा समावेश नगरे पनि साबिक विजेता जर्मनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले भरिएको टोली हो भन्नेमा कुनै दुबिधा छैन।

तर उत्कृष्ट टोली हुँदाहुँदै पनि खेलाडीबीचको तालमेल अभाव पछिल्लो समय जर्मन टोलीको सबैभन्दा ठूलो समस्या हो। जर्मनीले पछिल्लो ६ खेलमा मात्र एक खेल जितेको छ। यद्यपि जर्मनीले गत साता विश्वकपअघिको  अन्तिम अभ्यास खेलमा साउदी अरेबियालाई २–१ ले पराजित गर्दै मनोबल उच्च पारेको थियो।

विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यका साथ रूस भ्रमण निस्किएको जर्मनीले समूह ‘एफ’ मा आइतबार मेक्सिकोको सामना गर्दै छ। पछिल्लो पटक यी दुई टोली गत वर्ष रूसमै सम्पन्न अन्तरमहादेशीय कपको सेमिफाइनलमा आमनेसामने भएका थिए। लियोन गोरेट्जाको दुई गोलप्रेरित जर्मनीले उक्त खेलमा ४–१ को नतिजा निकालेको थियो।

‘गत वर्ष अन्तरमहादेशीय कपमा हामीले मेक्सिकोमाथि सहज जित हात पारे पनि यस पटक हामी उनीहरूलाई कमजोर रूपमा लिने पक्षमा छैनौं,’ मिडफिल्डर सामी खेडिराले भने, ‘प्रतियोगिताको पहिलो खेल भएकाले पनि हामीले यस खेललाई महत्वका साथ हेरेका छाैं।’ दुवै टोली समूह ‘एफ’ को विजेता बन्दै अन्तिम १६ मा  प्रवेश गर्नु महत्वपूर्ण बन्न सक्छ।

समूह ‘एफ’ को उपविजेताले अन्तिम १६ मा समूह ‘ई’ को विजेतासँग र विजेताले उपविजेतासँग खेल्नेछ। ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टा रिका र सर्बिया सम्मिलित उक्त समूहबाट ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने अनुमान गरिएको छ। जर्मनीले मेक्सिकोसँग अंक गुमाए सन् २०१४ को सेमिफाइनलमा भिडेका जर्मनी र ब्राजिल अन्तिम १६ मै आमनेसामने हुने सम्भावना ब्युँतिन सक्छ।

बायाँ खुट्टाको चोटका कारण करिब ८ महिना मैदानबाहिर बसेका जर्मनीका गोलकिपर म्यानुअल नुयुरले प्रतियोगिता खेल्न आफू पूर्णरूपमा तयार भएको बताए। उनले गत सिजन बुन्डेसलिगा विजेता बायर्न म्युनिखबाट मात्र ४ वटा खेल खेलेका थिए । गत साता अस्ट्रियाविरुद्धको अभ्यास खेलबाट राष्ट्रिय टोलीबाट पुनरागमन गरेका नुयुरले उक्त खेलमा पहिलो हाफ मात्र खेले पनि साउदी अरेबियाविरुद्धको अन्तिम अभ्यास खेलमा भने पूरै खेल खेलेका थिए।

यता कन्काकाफ छनोटको विजेता बन्दै विश्वकपमा स्थान पक्का गरेको मेक्सिको मुख्य प्रतियोगितामा भने सधै निराश हुने गरेको छ । रूस विश्वकपमा हुवाँ कार्लोस ओसोरियोको टोली उक्त निराशा तोड्न चाहन्छ। ‘हामीसँग क्षमतावान् खेलाडी छन्,’ ओसोरियोले भने, ‘हामी सुखद नतिजाका लागि सबै शक्ति प्रयोग गर्छौं । सबै खेलाडी उत्कृष्ट लयमा छन्  । यो हाम्रा लागि सुखद पक्ष हो।’

प्रकाशित: ३ असार २०७५ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App