coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

३६ वर्षपछि विश्वकपमा फर्किएको पेरू डेनमार्कको सामना गर्दै

मस्को – २१ औं रसिया विश्वकप २०१८ मा शनिबार (आज) को तेस्रो खेलमा डेनमार्क र पेरुबीच प्रतिस्पर्धा हुँदैछ। समूह सी मा रहेका यि दुई टोलीको भिडन्त बेलुका ९ः४५ बाट मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुनेछ। डेनमार्क युरोपमा सबैभन्दा चाँडो प्रगति गर्ने टोली हो। डेनमार्क विश्व फुटबलको तेस्रो दर्जाबाट माथि उठ्न चाहन्छ।

२०१२ को युरोपियन च्याम्पियनसिप खेलेपछि डेनमार्कले कुनै पनि ठूला प्रतियोगिता खेल्न पाएको छैन। तर विश्वकप छनोट प्रतियोगितामै २०१६ अक्टोबरमा लगातार पोल्यान्ड र मोन्टेनेग्रोसँग पराजित भएयता डेनमार्क ११ खेलसम्म अपराजित रहँदै आएको छ। बलियो मानिएको पोल्यान्डलाई सेप्टेम्बरमा ४–० ले हराएको डेनमार्कले प्ले अफको दोस्रो लेगमा आयरल्यान्डलाई ५–१ ले हराएको थियो।

एज हारेइदेले टोली सम्हालेपछि डेनमार्कले आश्चर्यजनक रूपमा सफलता हात पारेको छ। डेनमार्कको टोली सम्हालेपछि हारेइदेले हार बेहोर्नु परेको छैन।

लामो समय प्रशिक्षकको जिम्मेवारी सम्हालेका मोर्टेन ओल्सनले २०१६ मार्चमा पद छाडेपछि एज हारेइदेले टोली सम्हालेका थिए। त्यसपछि डेनमार्कले आश्चर्यजनक रूपमा सफलता हात पारेको छ। डेनमार्कको टोली सम्हालेपछि हारेइदेले हार बेहोर्नु परेको छैन। यस सफलतामा टोटेनह्यामका मिडफिल्डर क्रिस्टियन इरिक्सनले महत्वपूर्ण भूमिका खेलेका छन्। इरिक्सन आफ्नो पोजिसनमा युरोपकै उत्कृष्ट खेलाडी हुन्। उनलाई रक्षापंक्तिबाट आन्द्रियास क्रिस्टेसनले साथ दिएका छन्। चेल्सीका क्रिस्टेनसनले अनुभवी रक्षक सिमाने केजारको साथ पाएका छन्। इरिक्सनकै प्रेरणामा डेनमार्कले रूसमा पनि राम्रो गर्ने अनुमान गरिएको छ।

१९८६ मा पहिलो पटक विश्वकप खेलेको डेनमार्कको यो पाँचौं सहभागिता हो। पहिलो सहभागितामै डेनमार्क अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो। मेक्सिकोमा सम्पन्न विश्वकपको समूह ‘ई’ रहेको डेनमार्कले पहिलो खेलमा स्कटल्यान्डसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा उरुग्वेलाई ६–१ ले हराएको थियो। तेस्रो खेलमा अर्को बलियो टोली पश्चिम जर्मनीमाथि २–० को नतिजा निकालेपछि डेनमार्क समूहविजेताको हैसियतमा नकआउट चरण प्रवेश गरेको थियो। तर नकआउट चरणमा टोली स्पेनसँग ५–१ ले पराजित हुँदै घर फर्किएको थियो।

त्यसपछिका दुई विश्वकपमा छनोट हुन नसकेको डेनमार्कले १९९८ मा सम्पन्न फ्रान्स विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। समूह ‘सी’ बाट डेनमार्क उपविजेता बन्दै दोस्रो चरण पुगेको थियो। समूह चरणमा साउदी अरेबियालाई १–० ले पराजित गरेको डेनमार्कले दक्षिण अफ्रिकासँग १–१ बराबरी तथा फ्रान्ससँग २–१ हारको नतिजा निकालेको थियो। फ्रान्स समूहविजेता बनेको थियो। अन्तिम १६ मा नाइजेरियालाई ४–१ ले हराएको थियो। क्वार्टरफाइनलमा ब्राजिलसँग ३–२ ले पराजित भएपछि डेनमार्कको विश्वकप यात्रा टुंगिएको थियो।

जापान र दक्षिण कोरियामा भएको २००२ को विश्वकपमा पनि डेनमार्कले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। त्यसपछि भने डेनमार्कको लयमा उतारचढाव आयो। २००६ को विश्वकपमा छनोट हुन नसकेको डेनमार्क २०१० मा पनि समूहचरणबाटै घर फर्कियो। ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा त डेनमार्क छनोट नै हुन सकेन। रूसको यात्रा पक्का गर्न पनि डेनमार्कले संघर्ष गर्नुपर्याे। समूह ‘ई’ मा रहेको डेनमार्क दोस्रो स्थानमा रहेपछि प्लेअफ खेल्नुपरेको थियो। आयरल्यान्डसँगको पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले दोस्रो लेग ५–१ ले जित्दै रूसको टिकट पक्का गरेको थियो। आयरल्यान्डमाथि ५–१ को नतिजा निकाल्दा इरिक्सनले ह्यट्रिक गरे भने क्रिस्टेनसनले र निकलस बेन्डनरले १–१ गोल गरे।

रूसमा विश्वकप सुरु गर्नुअघि डनेमार्कले जुन २ मा स्विडेनसँग र जुन ९ मा मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्नेछ। समूह ‘सी’ मा रहेको डेनमार्कले पेरुविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल अस्ट्रेलियाविरुद्ध खेल्ने डनेमार्कले समूह चरणको अन्तिम खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

यता विश्वकपका लागि रूसमा रहेका पेरूका खेलाडीहरू देशले पछिल्लो पटक विश्वकप खेल्दा जन्मिएका पनि थिएनन्। फुटबल अत्यन्तै लोकप्रिय रहेको दक्षिण अमेरिकी देशले विश्वकपका लागि गरेको ३६ वर्षको प्रतीक्षामा पूर्णविराम लागिसकेको छ।

अर्जेन्टिनी प्रशिक्षक रिकार्डो गारेकाको नेतृत्वमा टोलीले १९७० को संस्करणमा क्वार्टरफाइनल पुग्दाको जस्तै छोटो पास खेल्दै बल पोसेसन राख्ने शैली ब्युँताएर रूस यात्राको टिकट काटेको छ। ठूला सुपरस्टार नाम नभए पनि रूसका विभिन्न स्थानका फरक वातावरणलाई आफू अनुकूल पार्दै गरेकाको टोलीले सुखद नतिजा आशा गरेको छ। छनोट चरणमा एन्डियनको पहाडदेखि एमेजोनको प्रचण्ड गर्मीसम्मको यात्रा गर्ने क्रममा दबाबका शृंखलाहरू पार गरेर पेरूका खेलाडीले आफूलाई प्रमाणित गरिसकेका छन्।

१० टोली सहभागी दक्षिण अमेरिकी छनोट प्रतियोगिताको दोहोरो राउन्ड रोबिन लिगमा भाग्यवश पाँचौं भएपछि दुई लेगको अन्तरमहादेशीय प्लेअफमा न्युजिल्यान्डलाई निराश पार्दै पेरूले रूसको टिकट काटेको थियो। प्लेअफको पहिलो लेगमा गोलरहित बराबरी नतिजा निकालेको पेरूले लिमामा सम्पन्न दोस्रो लेगमा २–० को विजयी नतिजा निकालेको थियो।

न्युजिल्यान्डलाई ३६ वर्षपछि पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितासम्म पुर्याउन रूसी सुपर लिगको क्लब लोकोमोटिभ मस्कोका ३३ वर्षे फरवार्ड जेफर्सन फारफानको भूमिका निक्कै महत्वपूर्ण रह्यो। प्लेअफमा उनले एक गोल आफैँ गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेका थिए। दक्षिण अमेरिकी छनोटको अंकतालिकामा समान २६ अंक भए पनि चिलीलाई गोलअन्तरमा पछि पार्दै पेरू प्लेअफलाई छानिएको थियो।

१९८६ मा गारेकाकै कारण पेरू छनोट चरणमा असफल भएको थियो। अर्जेन्टिनाका लागि खेलिरहेका गारेकाले गोल गरेपछि दुई पटकको कोपा अमेरिका च्याम्पियन पेरूको विश्वकपलाई छानिने सम्भावना सकिएको थियो। तर प्रशिक्षकका रूपमा उनैले ३२ वर्षपछि पेरूलाई रूसको लायक बनाए । रूस यात्रामा पनि टोलीबाट छनोट चरणको जस्तै परिपक्व प्रदर्शन अपेक्षा गरेको बताउने गारेकाले कुनै पनि विपक्षीलाई अनावश्यक सम्मान नदिने बताएका छन्।

फिफा विश्व वरीयताक्रमको ११औं स्थानमा रहेको टोलीले रूसमा स्टार खेलाडीहरूले भरिपूर्ण पूर्वच्याम्पियन फ्रान्सका साथै डेनमार्क र अस्ट्रेलियाको सामना गर्नुपर्नेछ। डेनमार्कसँग खेल्दै जुन १६ मा विश्वकप यात्रा थाल्ने टोलीले त्यसको पाँच दिनपछि फ्रान्स तथा समूह ‘सी’ को अन्तिम खेलमा २६ जुनमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

तर डोपिङका कारण प्रतिबन्धमा रहेका टोलीका उच्च गोलकर्ता पाउलो गुरेइरोको भविष्य अन्योलमा रहेकाले गारेकाले अझैसम्म अन्तिम टोली छनोट गर्न सकेका छैनन्। परीक्षणमा लागू औषध सेवन गरेको पाइएका गुरेइरोको मुद्दा अहिले कोर्ट अफ आब्रिट्रेसनमा विचाराधीन छ।

गुरेइरोको प्रतिबन्ध फुकुवा नभए छनोट चरणको सबभन्दा महत्वपूर्ण खेलमा नायक बनेका फारफानले रूसमा पेरूको आक्रमण नेतृत्व लिनुपर्नेछ। मेक्सिकोको मोर्नाकासबाट राम्रो प्रदर्शन गरिरहेका राउल रुइडियाजले उनको स्ट्राइकिङ पार्टनरका रूपमा सघाउनुपर्नेछ। रूसबाटै व्यावसायिक फुटबल खेल्ने भएकाले अनुभवी खेलाडी फारफानबाट टोलीले ठूलो आशा राखेको छ। 

प्रकाशित: २ असार २०७५ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App