८ वैशाख २०८१ शनिबार
समाज

गाममा त्यो कालो रात

गामको यो ठाउँ जहा एकैरात डेढ सय बढिले ज्यान गुमाएका थिए

रोल्पा- २०५९ साल वैशाख २४ गतेको त्यो कालो रात सम्झेर आज पनि गमालीहरु झस्किन्छन। दिनभरको कामले थकित शरिर खाना पछिको आराम अनि निद्रा आउला भन्ने बेलाबाट सुरु भएको कहाली लाग्दो दोहोरो भिडन्तले आज पनि  रोल्पा गामका स्थानीयहरु बेला बेला तर्सिने गर्छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नीजामति कर्मचारी गरि १ सय ६ जना अनी माओवादी छापामार तर्फका करिब ३ दर्जन लडाकुले एकै रात ज्यान गुमाएको गाम आज पनि युद्धको धङधङिमा छ। यहाँ नेपाली सेनाका मेजर निलकन्ठ खड्का सहित २४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नीजामति गरि १ सय ६ जना र करिब ३ दर्जन माओवादीले ज्यान गुमाएका थिए।

‘खाना खाएर सुत्ने तरखरमा थियौ। सबै आ–आफ्नो टेन्टमा ढुक्कले बसेका थिए। रातीको साढे नौ बजेतिर एकाएक गोलि पड्किन थाल्यो। सुरुमा साना हतियार प्याट प्याट मात्र गरेजस्तो लाथ्यो  बिस्तारै ठूलो आवाज सुरु भयो। मेरो छेउमा रहेका १५/१६ जना सशस्त्र प्रहरी ढले। अलिबेरमा अर्को तिरका आर्मी पनि ढल्न सुरु गरे।’ त्यो बेला १५ दिन अगाडि सेनाले गिरफ्तार गरेर आफुसंगै राखेका स्थानीय देउसिंह घर्ती स्टोनले त्यो रातको घटना स्मरण गर्दै सुनाए।

‘फायरिङ सुरु हुने बित्तिकै एउटा आर्मीले जिस्काउँदै यहाँ कब्जा गर्न आए भने पहिला तलाई मार्छम भन्दैथ्यो बिचरा सुरुमा उ नै ढल्यो। चारैतिर सेना पुलिस ढल्न थाले पछि हतगडि लगाएको म ढुङ्गाको चेपमा बसे। कान छेउबाट सयौ गोली गए। भाग्यले खुट्टामा छर्रामात्र लाग्यो तर गोलीले मलाई छोएन। हेर्दा हेर्दै आधिरात सम्ममा आर्मी बसेको ठाउँ मसानघाट नै बन्यो। सबै यत्रतत्र छरिए । रुवाई, कराई, ऐया, अया, आमा, पानी, हान, ठोक, नछोड, खोज, सबै सर्च गर के के हो के के सुनिन थाल्यो, ’ स्टोनले सुनाए।

‘म एक प्रकारले शून्य खाली जस्तै बनेर दुई ढुङ्गाको चेपमा लुकेर हेरिरहेको थिए। माओवादीको पहिलो टिम भित्र तिर अगाडि बढ्यो। अलिबेरमा दोस्रो टिम पनि आयो । उनीहरुसंग गुहार मागे । बाँचिएला भनेको उनीहरुले पनि हतियार तेर्साए। सकियो भन्ने सोचेको थिए । तुरुन्तै कैदि हुँ भन्दै हतकडि देखाए ।’ स्टोनले थपे ‘बाहिर आए पछि माओवादीले हतकडि खोल्ने प्रयास गरे । तर सकेनन् । झनै कसियो । प्राबिधिक कहाँ हिड्नुस भनेर लगे। त्यहाँ त बर्षमान पुन 'अनन्त' पो रहेछन। उहाँले कसरी कसरी निकालि दिनु भो।’

त्यति ठूलो लडाईमा पनि दुई ढुङ्गाको बीचमा बसेर बाचेको भएकाले माओवादीले देउसिंहको नाम नै ‘स्टोन’ राखिदिएछन्। ‘मध्य रातमा लडाई सकिए पछि माओवादीले ब्यारेक भित्र सर्च सुरु गरे। हतियार लगायतका सामान प्याक गरेर पठाउन थाले। केहि आर्मी पुलिस राति भागेर बाँचे। २४ गते मरेका लास २५ गते दिनभर त्यस्तै रहे। हेलिकप्टर बस्न सकेन। गस्ति गएका थप सुरक्षाकर्मी पनि आउन सकेनन् । २६ गते मात्र गस्तिको टोली आएर हेलिकप्टर बस्ने मेसो मिलाएछ।’

‘रातभरको लडाई पछि बिहान म माओवादीसंगै लागेर भित्रि गाम हुँदै उवा तिर लागे। एक हप्ता उवामै बसियो। सेना आएछ । उनीहरुको लाश लग्यो । माओवादीले गाडेका ३५/३६ जना लडाकुको लास खोतलेर बाहिरै फालिदिएछ। हामी हप्ता दिन पछि आउँदा लासै लास थिए। गनाएर बसिनसक्नु भएको। सबै मिलेर फेरि गाड्यौ । डेढ सय बढिको रगत बगेको डाँडा हेर्दै पनि कस्तो कस्तो भएको। चारै तिर रगतका टाटा मात्र । सबै अस्त ब्यस्त । डाडा भरि गोली र खोका छरपस्ट । गाम त एक प्रकारले रित्तो मसानघाट जस्तो अनुभुति हुने,’ गम्भिर हुँदै स्टोनले सुनाए।

‘ढिलो गरि आएको सेनाले लाश र बचेका महत्वपूर्ण सामाग्री लगेर गयो। बाँकी रहेको रासन जनतालाई प्रयोग गर्न छोडदिएछ । अलि दिन पछि गाउँ आएका माओवादीले स्थानीयलाई आर्मीको रासन प्रयोग गरेको बिषयमा फेरि यातना दिन थाले। कहिले सेनाले कहिले माओवादीले जनतालाई त फुटबल खेलाए जस्तै खेलाए,’ स्टोनले बिगत सम्झदै भने ‘म राजनीतिमा कतै थिएन । माओवादीले पनि कारवाहिको लिस्टमा राखेका थिए। संयोग त्यस्तै पर्‍यो। सेनाले पक्रेपछि म अनाहकमा माओवादी बने । भूमिगत भए । म जस्ता जबरजस्ती माओवादी भएका त कति कति। दोहोरो मारमा परेपछि बाँच्नलाई भए पनि भूमिगत भईयो।’

२०६२ सालमा श्रीमतिको भिरबाट लडेर मृत्यु भए पछि २०६६ सालमा स्टोनले दोस्रो बिहे गरे। ‘अहिलेकि श्रीमतीको श्रीमानलाई सेनाले बेपत्ता बनाएको थियो। पछि उहाँसंगै बिहे गरे । मेरो १ छोरा १ छोरी र श्रीमतीको ३ छोरी १ छोरा संगै बस्यौ । मेरा दाई राप्रपा थिए । उनै संगै हिड्थे । पछि नबुझेरै माओवादी भए । ठिकै थियो तर धेरै मन जलेपछि २०७३ सालमा कांग्रेस भए । एमालेले पनि बोलाएको थियो कम्युनिष्ट उस्तै हुन जस्तो लागेर त्यहाँ गएन।’ गत स्थानीय तह निर्बाचनमा वडा अध्यक्षमा ४ मतले पराजित स्टोन अहिले पनि गाममा समाज सेवामा तल्लीन छन्।

यति ठूलो लडाई भोगेको गाम आज पनि निरस छ। यहाँ लडाई लडाउनेहरु सरकारमा पुगे। सरकार चलाए तर गाम सधै सुनसान छ। यहाँका स्थानीयले बत्ति, संचार, शिक्षा, स्वास्थ्य, कृर्षि कहि कतै फरकको अनुभुति गरेका छैनन्। ‘सबै उस्तै रैछन। यहि गाम भएर सबै नेता हिड्थे । युद्ध बेला माओवादी हिड्ने बाटो नै यहि हो । शान्ति आएको पनि यतिका बर्ष भयो तर कसैले चासो नै दिदैनन्’ स्टोनको गुनासो छ ‘हाम्रा युवा कमाउन कालापार जान्छन । मलेसिया कतार समेत जान सक्ने अबस्था छैन । आज सम्म गाउँमा राम्ररी फोन लाग्दैन । स्कुल उस्तै, अस्पताल उस्तै। त्यहि त मैले भन्छु गाउँमा सिहं आए दरवार आएन।’

 

 

प्रकाशित: २ असार २०७५ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App