७ वैशाख २०८१ शुक्रबार
अन्य

हाइकिङ जिन्दगी

सबै मानिसको एउटै चाहना हुन्छ–निरोगी र आनन्दित रहने । मेरो चाहना पनि त्यही हो । वास्तवमा निरोगी मान्छे नै सुखी बन्छ ।
निरोगी हुने चाहना हुँदाहुँदै पनि बच्चाबेलादेखि नै ममा टाउको दुख्ने समस्या थियो । ९–१० वर्षको उमेरदेखि नै चर्को टाउको दुख्थ्यो । सधैं ओखती खानु पथ्र्यो।

त्यसैले सानैदेखि धेरै अस्पताल चहारें । डाक्टरहरु माइग्रेन र मानसिक समस्याले दुखेको भन्थे । पछिपछि त ‘तिम्रो बच्चादेखिको जीर्ण रोग अब निको हुँदैन’ समेत भन्नथाले । दुखाईले कतै जान मिल्दैन थियो । घाम त देख्नै नहुने । पढाइमा समेत असर पर्दै गयो । म निराश हुन थालें । औषधिको पोको र निराशाले झन् बल्झिन थाल्यो दुखाई । दुखाईले अनुहार सधैं अँध्यारो हुन्थ्यो ।त्यसैबेला साथी सरितासँग भेट भयो । उनले निरोगधाम जान सल्लाह दिइन्।

म प्राकृतिक स्वास्थ्य परामर्श लिन २०६४ सालमा निरोगधाम आएको थिएँ । त्यो बेला डा. उमेश श्रेष्ठले एउटा फाराम भरेर खानपान मिलाउन सुझाब दिनु भयो ।त्यत्रो औषधिले निको नभएको समस्या खानपान मिलाएर के निको होला भन्ने लाग्यो । सुरुका केही महिना मैले उहाँका कुरालाई महत्व दिइन।

 समस्या झन् बल्झियो । फेरी प्रकृति प्रेमी समूह (निरोगधाम) मा पुगें । र, त्यहाँको सल्लाह अनुुसार खाना र पानी पिउने विधि मिलाउँदै जाँदा टाउको दुखाई कम हुँदै गयो । कतै गएर निको नभएको टाउको दुख्ने समस्या, कुनै पनि औषधिले निको नभएको रोग खाना र पानी मिलाउँदा हप्ता दिनमै कम हँुदै गयो र विस्तारै निको भयो ।निरोगधाम पुगेपछि थाहा पाएँ कुनै पनि औषधिले रोग निको नहुने रहेछ।

वास्तबमा हामीले खाएको आहार नमिलेर नै शरीरमा अधिकांस स्वास्थ्य समस्या आउँदो रहेछ । त्यसैगरी हामीले शरीर हल्लाएर गर्ने गतिविधि (विहार) नमिलेर पनि धेरै समस्या आउने रहेछ र सबैभन्दा ठूलो कुरा विचार नमिले रोगले गाँज्दो रहेछ । यी तीन चिज मिलेमा उपचार त शरीर आफैंले गर्ने रहेछ भन्ने थाहा पाएँ ।मानिस निरोगी र आनन्दित हुने एउटै शुत्र उचित आहार, विहार र विचार हो भन्ने सत्य ज्ञान निरोगधामबाट थाहा पाएपछि आफु जस्तै समस्या भएकालाई यो सरल र सही कुरा समाजमा फैलाउने निर्णय गरें । अनि निरोगधाममै बसेर काम गर्न थालें ।अनि सुरु भयो मेरो निरोग आनन्दमय हाइकिङ जिन्दगी।

सुरुका दिनमा मलाई उकाली ओराली गर्दा डर लाग्थ्यो । घाममा हिँड्न गाह्रो हुन्थ्यो । अहिले जतिसुकै चर्को घाम र उकाली–ओरालीमा पनि हिँड्न सक्ने भएकी छु । हिँड्दा हिँड्दै ममा आत्मबल र हिम्मत बढ्दै गयो ।  म सानोछँदा डाक्टर बन्न चाहन्थें तर टाउको दुखाईले त्यो सपना पुरा हुनसकेन । आज, प्राकृतिक स्वास्थ्य प्रशिक्षण लिएर स्वास्थ्य क्षेत्रमै काम गर्न पाउँदा सन्तुष्ट छु । उचित आहार, विहार र विचार (उआविवि) अभियान अघि बढाउन पाउँदा धेरै खुशी छु।

उचित विहारकै एउटा अंग हो हाइकिङ । हाइकिङले स्वास्थ्य लाभ त भएकै छ साथमा समाज बुझ्ने अबसर पनि पाएकी छु । हाइकिङ र ट्रेकिङमा धेरैतिर डुलेकी छु । काठमाडौं उपत्यकाका लगभग सबै डाँडापाखा छिचोलेकी छु । उपत्यका बाहिर पनि घुमेकी छु । तर अझै पुग्नु पर्ने, घुम्नु पर्ने र सिक्नु पर्ने थुप्रै कुरा बाँकी छन् । मलाई मुलुकभित्रका सबै ठाउँ घुमेर देशलाई राम्रोसँग चिन्ने मन छ ।भूगोलका हिसाबले हाम्रो स्यानो देश नेपाल ज्ञानको विशाल भण्डार हो । मरेपछि स्वर्ग पुगिन्छ भन्छन्, घुमघाम गर्दा मलाई लाग्छ–नेपालै स्वर्ग हो।

सुरुका दिनमा मलाई उकाली ओराली गर्दा डर लाग्थ्यो । घाममा हिँड्न गाह्रो हुन्थ्यो । अहिले जतिसुकै चर्को घाम र उकाली–ओरालीमा पनि हिँड्न सक्ने भएकी छु । हिँड्दा हिँड्दै ममा आत्मबल र हिम्मत बढ्दै गयो ।  

जीवनमा घुमफिरको ठूलो महत्व छ । यात्राले स्वास्थ्य लाभ हुन्छ । जाँगरिलो बनाउँछ । शरीरमा स्फूर्ती बढाउँछ, नयाँ चिज, नदेखेको ठाउँ देख्न सकिन्छ भने मनमा ऊर्जा बढ्छ ।घुम्न टाढै जानु पर्छ भन्ने छैन, आफ्नै बस्ती वरपर जता डुले पनि हुन्छ । यत्ति हो एक्लै घुम्नु ठिक होइन, समूहमा यात्रा गर्दा सजिलो हुन्छ । काठमाडौं उपत्यकाकै कुरा गरौं न, गज्जबकै जीवनशैली भेटिन्छ यहाँ । सहरमा कोलाहल, मान्छे–मान्छे, धुलो, धुवाँ, गाडी र घरैघर । शहर छेउकै चक्रपथबाट बाहिर जानेवित्तिकै बेग्लै परिवेश पाइन्छ ।

शान्त गाउँ, हरियालीमा स्वच्छ अक्सिजन । सफा पानी, सफा हावा र नीलो आकाशमुनिका गाउँमा निश्चल मुस्कान पाइन्छ । ललितपुरको धापाखेलमा सामान्य किसान परिवारमा जन्मेकी मैले सानैदेखि माटोको सुगन्ध पाएकी थिएँ । तर, जीवनको लामो कालखण्डसम्म काठमाडौं सेरोफेरोका डाँडामा पुग्न पाएकी थिइन । निरागेधामबाट सुरु भएको पदयात्राले मलाई नेपाल चिनायो । काठमाडौं उपत्यकामा मात्र होइन, बाहिर पनि बहुदिने पदयात्रामा निस्किन्छौं हामी । यसरी घुम्दा देशप्रति माया बढ्दो रहेछ ।ठूलो कुरा हाइकिङले जस्तोसुकै समयमा पनि धैर्य गर्न र अनुशासित हुन
सिकायो।

पदयात्रा गर्नु भनेको घुम्नु, मोज मज्जा गर्नु, रमाइलो गर्नु र मनपरी खाएर मनपरी हिँड्नु होइन । अनुशासित र मर्यादित रुपमा देशको भूगोल, गाउँले जीवन, रहन सहन बुभ्mदै आपसमा सक्दो सहयोग र पारस्परिक सम्बन्ध गाँस्दै हिँड्नु हो ।त्यसैले सके हप्ताको एकपटक नभए महिनाको एकपटक हाइकिङ गर्नु पर्छ । साथै वर्षको एक–दुई चोटि बहुदिने पदयात्रा गरेमा आन्तरिक पर्यटन विकासमा सहयोग पुग्छ ।हामी पदयात्रामा घुमघामका साथै स्वास्थ्य ज्ञान बाँड्दै हिँड्छौं । घुमफिरमा एउटा कुराले भने मन दुख्छ–हाम्रा अधिकांश गाउँमा युवा छैनन् । युवा भनेका त देशका ऊर्जा हुन् तर उनीहरु रोजगारीको खोजीमा विदेशिएका छन्।

वास्तवमा हाम्रा हरेक गाउँका आ–आफ्नै बिशेषता छन्, आ–आफ्नै संभावना छन् ।त्यहाँ आधुनिक प्रविधि भित्र्याएर परिश्रम गरेमा देशभित्रै सुन फलाउन सकिन्छ । कृषि, हाइड्रो, घरेलु उद्योग, पर्यटन आदिको विकासमा काम गर्न सकिन्छ । विशेषतःदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, यही सौन्दर्यलाई समेटेर स्वस्थ पर्यटन विकास गर्न सकिन्छ । हामी सबै मिलेर काम गरे छिट्टै मुलुकलाई समृद्ध बनाउन सक्छौं।  

हाइकिङ गर्न थालेको केही वर्ष पछि मैले पत्रपत्रिकाहरुमा हाइकिङ र स्वास्थ्य सम्बन्धी लेख लेख्न थालें । कतिपय शुभेच्छुक र इष्टमित्रले हाइकिङ सम्बन्धी पुस्तक लेख्न हौस्याए । साँच्चै, स्वस्थ हाइकिङ  प्रवद्र्धन गर्न एउटा पुस्तक आबश्यक देखियो । त्यही भएर मैले ‘हाइकिङ काठमाडौं’ पुस्तक लेखेकीहुँ । यसमा हाइकिङ गन्तव्यका चिनारीका साथै स्वस्थ रहन योग, तीन बराबर आहार लगायत स्वास्थ्य ज्ञान समेटिएको छ ।मलाई लाग्छ यो पुस्तकले हाइकर्सलाई त फाइदा पुग्छ नै, साथै यसले अनुशासित र स्वस्थ पदयात्रा गर्न पनि सघाउँछ । साइक्लिङ, बाइकिङ र मोटर ड्राइभिङमा घुम्नेहरुलाई पनि पुस्तक सहयोगी बन्नेछ।

जीवनमा एक्लाएक्लै हिँडेर लक्ष्य भेट्न सकिँदैन । धेरैको साथ चाहिन्छ । सधैं सत्मार्गमा हिँड्न प्रेरित गर्ने परिवार र राम्रो काम गर्दा हौसला बढाउने साथीहरु मेरो हृदयमै बसेका छन् । मलाई आत्मज्ञान दिएर सक्षम बनाउने गुरु डा. उमेश श्रेष्ठ र प्रकृति प्रेमी समूह परिवारप्रति कृतज्ञ छु ।   आमा जयन्ती र बाबा रामगोविन्दका भनाई शिरमै राखेकी छु । उहाँहरु सधैं भन्नुहुन्छ ‘छोरी कहिल्यै कसैको कुभलो नचिताउनू । इमान्दार बन्नू । सबैलाई सहयोग गर्नू । अरुको भलाई गरे स्वतःआफ्नो राम्रो हुन्छ।’

हाइकिङ गर्दा परिवारलाई दिनुपर्ने समय दिन सकिँन । श्रीमान र परिवार जसले मलाई बिना रोकतोक हाइकिङमा  सघाउनु भयो, सबैलाई हृदयदेखि नै नमन छ।मैले हाइकिङ सुरु गर्दा छोरी खुशी सानी थिइन् । छोरी सधैं भन्थिन् ‘मामु कहिल्यै घरमा बस्नु हुन्न, मेरो स्कूलमा कहिल्यै आउनु हुन्न, जहिल्यै बाहिर जानु हुन्छ ।’उनका कुराले मनमा नराम्रो लाग्थ्यो । तर, मनमनमा सोच्थें, मेरो परिवारमा छोरी, आमा, बुबा मात्र नभएर सारा देश अटेको छ ।अचेल छोरी पनि सँगै हाइकिङ गर्छिन् । हामी स्वस्थ रहने सन्देश बाँड्दै हिँड्छौं, यसैगरी हिँडिरहनेछौं।  

अन्त्यमा, हामीले आफुसँग भएका चिजमा रमाउन सक्नु पर्छ । कुनै पनि काम सानो÷ठूलो हुँदैन । जुनसुकै काम पनि निरन्तर टुँगोमा पुग्ने गरी गरेमा सफलता मिल्छ भन्ने मैले हाइकिङबाट सिकेकी छु ।आखिर अजम्बरी कोही छैन, जन्मेपछि एक दिन अवश्य मर्नु पर्छ । जन्म र मृत्यु हाम्रो हातको कुरा होइन, तर जन्म र मृत्यु बीचको समय हाम्रो हातमा छ । जन्म र मृत्यु वीचको यो समयलाई सबैको कल्याण हुने काममा सदुपयोग गरौं । आफु पनि स्वस्थ बनौं । अरुलाई पनि स्वस्थ बनाउन हातेमालो गरौं ।यो पुस्तकले हिँड्ने मात्र होइन सरल र सही जीवन कसरी जिउने भन्ने ज्ञान पनि दिलाउनेछ भन्नेमा आशावादी छु ।
(मर्हजनको पुस्तक ‘हाइकिङ काठमाडौं’ आज विमोचन हुँदैछ ।)

प्रकाशित: २ असार २०७५ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App