७ वैशाख २०८१ शुक्रबार
अन्य

गाउँको डेरी

रोशनी पाँच वर्षकी भइन् । उनी सहरमा कक्षा एकमा पढ्छिन् । वार्षिक परीक्षापछि केही दिन स्कुल विदा हुँदै थियो । छोरीको स्कुल बिदाको मौकामा बाबाआमा गाउँ जाने तयारी गर्दै हुनुहुन्थ्यो।

गाउँको घरमा रोशनीका हजुरबाहजुरआमा मात्रै बस्नुहुन्छ । बाबाआमा गाउँ जान लागेको कुरा कताबाट थाहा पाइन्, ‘म पनि जाने, म पनि जाने’ भनेर करकर गर्न थालिन् । आमाले भन्नुभयो, ‘हामी आमाबालाई भेटेर छिट्टै आउँछौँ । तिमी पल्लो कोठाकी साथी अञ्जनासित बस । सडकतिर खेल्न नजानु है !’आमाका कुरा सुनेर रोशनीले अँध्यारो मुख लगाइन् । उनले भनिन्, ‘म पनि गाउँ जान्छु के ! मलाई पनि हजुरबाहजुरआमा भेट्न मन लागेको छ ।’ छोरीको चित्त दुख्ला भनेर आमाले ‘तिमी जान पाउँदिनौ’ भन्नुभएन।

रोशनी मान्दै मानिनन् । बाबाले भन्नुभयो, ‘ल ल, करकर नगर । तिमी पनि जान पाउँछ्यौ । परीक्षा सकेको भोलिपल्ट गाउँ जाने हो ।’ गाउँमा हजुरबाहजुरआमा भेट्न पाइने खुसीले रोशनी फुरुङ्ग परिन् ।रोशनी सहरमा जन्मेकी हुन् । उनका बाबाआमा ससानो व्यापार गरी बस्नुभएको छ । उनी परार साल दसैँमा गाउँ आएकी थिइन् । गाउँ देखे पनि उनले सबै कुरा बिर्सिसकेकी थिइन् । उनलाई गाउँको कुरा थाहा थिएन।

रोशनीको वार्षिक परीक्षा सकियो । अन्तिम दिनको परीक्षा सकेर आएपछि उनले भनिन्, ‘आमा, मेरो एक्जाम राम्रो भयो नि ! म हजुरबाहजुरआमालाई पनि भन्छु । खुसी हुनुहुन्छ होला है ! फेरि मलाई चिन्नु नै हुन्न होला ।’गाउँ जाने दिन पनि आयो । बाबाआमाले घरमा लैजाने कोसेली झोलामा हालिसक्नुभएको थियो । रोशनीले नयाँ लुगा लगाइन् । नयाँ लुगामा उनी पुतलीजस्ती भएकी थिइन् । हिँड्ने बेला आमाले भन्नुभयो, ‘टाढाको बाटो बाइकमा हिँडेकी छैनौ । तिमीलाई डर लाग्छ कि लाग्दैन ?’ रोशनीले भनिन्, ‘म बाबासित बाइकमा कति घुमेकी छु ।

मलाई डर लाग्दैन ।’ बाबाले भन्नुभयो, ‘काठमाडौँमा यताउति घुमेजस्तो हैन छोरी । घेरै टाढा छ ।’रोशनी बाबाको पछाडि बसिन् । आमा पनि बाइकमा चढ्नुभयो । उहाँले छोरीलाई समात्नुभयो । बाबाले बाइक हाँक्नुभयो । सहर कटेपछि रोशनीले हरियो फाँट देखिन् । अग्लाअग्ला डाँडाकाँडा देखिन् । उनलाई एकदमै रमाइलो लाग्यो । आकासमा उडिरहेका चराको सम्झना आयो । आपैmँ चरा भएको जस्तो लाग्यो।

हजुरबाले ढुङ्ग्रो बोक्नुभयो । गोठमा पुगेर पाडो छोड्नुभयो । पाडो कुदेर आयो र आफ्नी आमाको दूध तान्न थाल्यो । दूध पग्रिएपछि हजुरबाले पाडो बाँध्नुभयो । हजुरबा भैँसी दुहुन बस्नुभयो । चारवटै थुनबाट पालैपालो दूध तान्नुभयो । सिरसिर आएका दूधका सिर्काले ढुङ्ग्रो भरिँदै आयो । रोशनीले अचम्म मानेर हेरिरहिन्।

चार घण्टामा रोशनी गाउँ पुगिन् । नातिनीलाई देखेर हजुरबाहजुरआमा अचम्ममा पर्नुभयो । हजुरबाले नातिनीलाई छेउमा राख्नुभयो । अनि सोध्नुभयो, ‘नातिनी आउँछे जस्तो लागेकै थिएन । तिम्रा बाबाआमा मात्रै आउने कुरा थियो । अनि ‘म आउँदैछु’ भनेर फोनमा भन्नु पर्दैन नातिनी ?’रोशनीले भनिन्, ‘तपाईंहरूलाई सरप्राइज दिएको नि !’ हजुरआमाले सोध्नुभयो, ‘त्यो भनेको के नि नातिनी ?’ उनले भनिन्, ‘तपाईहरूलाई झुक्क्याएर आएको ।’ उनका कुरा सुनेर सबैजना मज्जाले हाँस्नुभयो।

हजुरबा घाँस झार्न जान लाग्नुभयो । उहाँले दापमा राखेको खुकुरी झिक्नुभयो । बा घाँस झार्न जान लागेको थाहा पाएर बाबाले भन्नुभयो, ‘बा, म झार्छु घाँस ।’ हजुरबाले भन्नुभयो, ‘थाकेर आएको मान्छेलाई किन दुःख ! म आपैmँ झारिहाल्छु नि !’हजुरबाले बाबालाई खुकुरी दिनुभयो । बाबा घाँस झार्न जानुभयो । हजुरबा ढुङ्ग्रो लिएर भैँसी दुहुन गोठमा जानुभयो । हजुरआमा भान्सामा छिर्नुभयो । आमा पनि सँगै भान्सामा पस्नुभयो । तरकारी केलाउन थाल्नुभयो।

हजुरआमा आगो फुक्न लाग्नुभयो ।रोशनीले सोधिन्, ‘गाउँमा खेल्ने साथी छैनन् हजुरआमा ?’ उहाँले भन्नुभयो, ‘तिमी पनि गाउँमा बसेकी छैनौ नि नातिनी । गाउँका सबै केटाकेटी सहरतिरै पढ्न गएका छन् । अचेल गाउँमा केटाकेटी देख्नै पाइँदैन । हामीलाई पनि कस्तो नरमाइलो लागेको छ । तिमी हामीलाई साथी बस्छ्यौ त ?’उनले भनिन्, ‘यहाँ बसेर कोसँग पढ्न जानु ? साथी छैनन् । स्कुल टाढा छ होला ।’ हजुरआमाले भन्नुभयो, ‘तिमीलाई भोक लागेको होला । मकै–भटमास खाऊ।’

हजुरआमाले थालमा मकै–भटमास दिनुभयो । हजुरआमा र नातिनीका कुरा आमाले निकै चाख मानेर सुनिरहनुभएको थियो । उनी आमासँगै मकै–भटमास चपाउन थालिन् ।हजुरबा भैँसी दुहेर आउनुभयो । हजुरआमाले अगेनुमा कुँडे बसाल्नुभयो । कुँडे तातेपछि दूध खन्याउनुभयो । घाँस गोठमा राखेर बाबा कोठामा जानुभयो । भात पाक्यो । हजुरबाले भात पस्किनुभयो । भन्नुभयो, ‘नातिनीलाई म ठूलो थालमा भात दिन्छु । कचौरामा दूध दिन्छु । नानीलाई दूघ र भात मिठो लाग्छ है !’

हजुरबाले रोशनीलाई भात, दूध र तरकारी दिनुभयो । उनी दूधसँग भात मुछेर खान थालिन् । उनले भनिन्, ‘उताको डेरीको दूध कस्तो खल्लो हुन्छ । यहाँको कस्तो गुलियो ! चिनी नै हाल्न नपर्ने । यहाँको डेरीको मान्छेले दूधमा पानी नहाली बेच्दोरहेछ है हजुरबा !’ उनका कुरा सुनेर सबैजना अलमल्ल पर्नुभयो । कसैले केही भन्नुभएन ।बाबाआमालाई एउटा सिफारिस चाहिएको थियो । भोलिपल्ट बिहानै उहाँहरू सिफारिस बनाउन वडा कार्यालयतिर जानुभयो । रोशनीलाई गाउँको डेरी हेर्न मन लागेको थियो । उनले भनिन्, ‘हजुरबा, मलाई दूधडेरी देखाउन लैजानु है !’ हजुरबाले भन्नुभयो, ‘डेरीवालाले दूध यहीँ ल्याइहाल्छ नि ! तिमी जानै पर्दैन।’

रोशनी दूधडेरी हेर्न जाने भइन् । हजुरबाले ढुङ्ग्रो बोक्नुभयो । गोठमा पुगेर पाडो छोड्नुभयो । पाडो कुदेर आयो र आफ्नी आमाको दूध तान्न थाल्यो । दूध पग्रिएपछि हजुरबाले पाडो बाँध्नुभयो । हजुरबा भैँसी दुहुन बस्नुभयो । चारवटै थुनबाट पालैपालो दूध तान्नुभयो । सिरसिर आएका दूधका सिर्काले ढुङ्ग्रो भरिँदै आयो । रोशनीले अचम्म मानेर हेरिरहिन् ।घर आएपछि उनले सोधिन्, ‘हजुरबा, गाउँको डेरी कस्तो अचम्मको ? बोल्दो नि रैनछ । उसले दूधको पैसा कहिले लिन्छ हजुरबा ? एकैचोटि तिर्ने हो?’

नातिनीका कुरा हाँसउठ्दो भएपनि हजुरबा हाँस्नुभएन । एकोहोरो भएर नातिनीलाई हेरिरहनुभयो । नातिनीलाई कसरी कुरा बुझाउने ! गाउँमा गाईंभैँसी पालेर दूध खान्छन् भनेर कसरी सम्झाउने ! हजुरबाले भन्नुभयो, ‘यो डेरी पसलेले सित्तै दूध दिन्छ नातिनी । यसलाई उतै लान्छ्यौ त ? तिम्रा बाबाआमा आएपछि भन न ।’ रोशनी मुसुमुसु हाँसिन् मात्रै।

हजुरबा र हजुरआमाको अनुहार अँध्यारो भएको थियो । हजुरबा सोच्न लाग्नुभयो, ‘अब साना नानीहरूले गाउँका सबै कुरा बिर्सिँदै जानेछन् । हामीलाई पनि बिर्सिने छन् ।’रोशनी बाबाआमाको बाटो हेरेर बसेकी थिइन् । बाबाआमा आइपुग्नुभयो । उनले भनिन्, ‘बाबा, गाउँको डेरी उतै लिएर जाने है !’छोरीका कुरा सुनेर आमाबाबा अलमल्ल पर्नुभयो ।
 


 

प्रकाशित: २ असार २०७५ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App